पूर्णबहादुरको प्रतिवेदन- २०५२ पछिको हिंसात्मक द्वन्द्वले अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँड्न दिएको छैन – Nepal Press

पूर्णबहादुरको प्रतिवेदन- २०५२ पछिको हिंसात्मक द्वन्द्वले अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँड्न दिएको छैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले २०४६ सालको परिवर्तनपछि २०४८ सालको सुधारले फड्को मार्न लागेको नेपाली अर्थतन्त्रलाई माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्वले असर गरेको निष्कर्ष निकालेका छन् ।

महासमितिको बैठकमा पेस गरेको नीति प्रस्तावमा उनले देशभित्र चलाइएको दशकभन्दा लामो हिंसात्मक सशस्त्र द्वन्द्व तथा प्रतिपक्षी दलले सदनदेखि सडकसम्म गरेका विभिन्न राजनीतिक अवरोधले आशातीत रूपमा अघि बढन नदिएको उल्लेख गरेका हुन् ।

प्रस्तावमा भनिएको छ, ‘२०५२ पछि चालिएको हिंसात्मक द्वन्द्वले थुप्रै भौतिक संरचना ध्वस्त बनायो र निजी क्षेत्रको गतिविधिलाई सङ्कुचित गरायो । युवाहरूले स्वदेशी श्रम बजारमा रोजगारी पाउने अवस्थालाई झनै कठिन बनायो, जसको परिणाम रोजगारीका लागि विदेश जाने लहर बढायो । २०६२ सालमा द्वन्द्व समाप्त भए पनि त्यसपछिको दशकौं लामो सङ्क्रमणले देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा द्रुत गतिमा हिँड्न दिएको छैन ।’

दृश्य/अदृश्य शक्तिको आडमा २०४७ सालको संविधान र संवैधानिक व्यवस्थाविरुद्ध प्रहारहरू भएर सशस्त्र द्वन्द्वका कारण देश फेरि अर्को दलदलको भासमा फस्न पुगेको उनको निष्कर्ष छ । २०५२ सालपछि चालिएको हिंसात्मक द्वन्द्वले थुप्रै भौतिक संरचना ध्वस्त बनायो र निजी क्षेत्रको गतिविधिलाई संकुचित गराएको माओवादीको कथित र अनावश्यक यात्रा भएको उपसभापति खड्काले विश्लेषण गरेका छन् ।

उनले विकास संरचना भत्किए र थप विकास अवरुद्ध भएको विध्वंसको आवश्यकता नभएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

खड्काले जनयुद्धबारे असन्तुष्टि पोख्दै गर्दा अहिले उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर