गठबन्धनबारे कांग्रेसमा तीन प्रस्ताव- पूर्णबहादुर मौन, विश्वप्रकाश मध्यमार्गी हुँदा आक्रामक गगन – Nepal Press

गठबन्धनबारे कांग्रेसमा तीन प्रस्ताव- पूर्णबहादुर मौन, विश्वप्रकाश मध्यमार्गी हुँदा आक्रामक गगन

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा चुनावी गठबन्धन नगर्ने विषयमा एजेन्डाको रूपमा जबरजस्त उठेको छ। महामन्त्री गगन थापाले बैठकमा औपचारिक रूपमै चुनावी गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने भन्दै औपचारिक प्रस्ताव राखेका हुन्।

बैठकको दोस्रो दिन महामन्त्री थापासहित उपसभापति पूर्णबहादुर खड्काले नीति र अर्का महामन्त्री राजनीतिक प्रतिवेदन पेश गरे। तर, उपसभापति खड्काको प्रस्ताव गठबन्धनबारे मौन छ।

उनले यसअघि यसअघि केन्द्रीय समिति बैठकमा दलहरूलाई गठबन्धन बनाउनै पर्ने बाध्यता रहेको औँल्याएका थिए। तर, महामन्त्री थापाको अडानपछि उनले प्रतिवेदन सच्याएर ल्याएका छन्।

खड्काको प्रस्तावमा भनिएको छ, ‘नेपालले मिश्रित निर्वाचन प्रणाली अंगीकार गरेका कारण संसदमा कुनै पनि दलको एकल बहुमत पुग्ने सम्भावना निकै कम छ। सरकार गठनकै लागि पनि गठबन्धन बनाउनै पर्ने बाध्यता रहेको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गरिनुपर्छ।’

उपसभापति खड्काको प्रतिवेदन गठबन्धनबारे नरम देखिएपछि महामन्त्री थापाले आगामी निर्वाचनमा एक्लै लड्ने संकल्प बैठकबाट गर्नुपर्ने प्रस्ताव राखेका छन्। चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवाले असहमति जनाएका थिए।

बैठकलाई उद्घाटन गर्दै भनेका थिए, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ ।’

तर, गगनले आफ्नो अडानबाट पछि नहटेपछि देउवाले बाध्यात्मक रूपमा सहमत भएका थिए। हिजो मध्यरातमा गगनको प्रस्तावमा सहमति जुटेपछि आज बैठकमा प्रस्तुत गरे।

गगनको प्रस्तावमा भनिएको छ, ‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वभाविक हुनसक्छ । तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ– हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुख मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ।’

तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदनमा मध्यमार्गी बाटो रोजेका छन्। गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘हामीले के हेक्का राख्नै पर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौँ, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौँ । केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ ।’

उनले अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने उल्लेख गरेका छन्।

‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न । पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हुन्छ । नेपाली कांग्रेस समग्र परिस्थितिको संयम समीक्षा गरेर आवेगमुक्त ढंगले चल्ने विषयमा संस्थागत रूपले स्पष्ट छु’, प्रतिवेदनमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर