४ वर्षअघि राष्ट्रियसभामा पेश भएको अध्यागमन विधेयक सरकारद्वारा फिर्ता – Nepal Press

४ वर्षअघि राष्ट्रियसभामा पेश भएको अध्यागमन विधेयक सरकारद्वारा फिर्ता

काठमाडौं । सरकारले अध्यागमन विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ । चार वर्षअघि आजकै दिन गृह मन्त्रालयले राष्ट्रियसभामा दर्ता गराएको ‘अध्यागमन विधेयक २०७६’ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको हो ।

उक्त विधेयक २०७६ साल फागुन १५ गते राष्ट्रियसभामा प्रस्तुत भएपछि २९ गते सामान्य छलफल भएको थियो । सामान्य छलफलपछि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफाबार छलफलका लागि २०७६ साल चैत ३ गते पठाइएको थियो ।

समितिमा करिब दुई वर्ष समय लगाएर दफावार छलफलपछि २०७९ साल असार ५ गते विधायन व्यवस्थापन समितिले विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको थियो । उक्त विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभामा पेश गरेका थिए ।

गत माघ १९ गते बसेको राष्ट्रियसभाको कार्य व्यवस्था परामर्श समितिले ४ वर्षदेखि विचाराधीन अध्यागमन विधेयकबारे सरकारको ध्यानाकर्षण गराएको थियो । समितिको बैठकले अध्यागमन विधेयक फिर्ता लिने कि अगाडि बढाउने भन्ने विषय टुंगो लगाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

नेपालमा विदेशीको आगमन, उपस्थिति र प्रस्थानलाई नियमित एवं व्यवस्थित गर्ने तथा नेपाली नागरिकको विदेश प्रस्थान र विदेशबाट नेपालमा आगमनलाई व्यवस्थित गर्नेसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न जरुरी रहेको भन्दै तत्कालीन सरकारले उक्त विधेयक ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर