त्रिवि क्रिकेट मैदानमा खेल जित्न कसरी निर्णायक बनिरहेको छ ‘टस’ ? – Nepal Press

त्रिवि क्रिकेट मैदानमा खेल जित्न कसरी निर्णायक बनिरहेको छ ‘टस’ ?

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपाली जारी पहिलो त्रिदेशीय शृङ्खलाका सुरुका तीनवटा खेलमा उल्लेखनीय संयोग बने।

त्रिवि क्रिकेट मैदानमा भएका यी खेलमा टस जित्ने टोलीले पहिला बलिङ रोजे । पहिला ब्याटिङ गर्ने टोली नराम्रोसँग धरासयी बनेको देखियो । परिमाण स्वरुप, तीनवटै खेल टस जित्ने टोलीले नै आफ्नो पक्षमा पारे।

पहिलो खेलमा घरेलु टोलीविरुद्ध उत्रिएको नामिबियाले टस जितेको थियो । नेपाललाई पहिला ब्याटिङ गर्ने जिम्मा दिएको नामिबियाले केवल एक सय ३३ रनको लक्ष्य पाएको थियो । नेपाल ४१.१ ओभरमा अलआउट भएको थियो। नामिबियाले भने ३३.१ ओभरमा ६ विकेट गुमाएर खेल जितेको थियो ।

दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध टस जितेको नेपालले पहिला बलिङ गर्ने निर्णय गर्‍यो ।

नेदरल्यान्ड्स ३९ ओभरमा एक सय ३७ रनमा अलआउट भयो । नेपालले प्राप्त लक्ष्य १५.२ ओभरमा केवल एक विकेट गुमाएर भेट्टायो ।

सोमबार भएको खेलमा तेस्रो खेलमा नामिबियाविरुद्ध नेदरल्यान्ड्सले टस जित्यो। पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नामिबिया ३५.१ ओभरमा एक सय २३ रनमा अलआउट भयो । नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेट मात्र गुमाएर लक्ष्य भेट्टाएको थियो ।

सुरुका तीन खेलको नतिजा हेर्दा टस जित्नु नै निर्णायक जस्तो देखिएको छ । पूर्व क्रिकेट दीपेन्द्र चौधरी मौसमले सामान्य प्रभाव पर्ने भए पनि ब्याट्सम्यानलाई खेल्नै गाह्रो हुने अवस्था नरहेको बताए ।

‘एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सुरुको १५/२० ओभर ब्याटिङ गर्न गाह्रै हुन्छ। त्यसमा पनि अहिले हाम्रोमा विन्टरबाट स्प्रिङ सिजन आइरहेको छ। बदलिँदो मौसम पनि एउटा कारण हुन् सक्छ’, राष्ट्रिय टीम छनोट समितिका संयोजकसमेत रहेका चौधरी भन्छन्, ‘अहिलेको अवस्था हेर्दा लक्ष्य पछ्याउने टोलीका लागि सुरुको १५/२० ओभर निकै राम्रो भइरहेको छ।’

प्रशिक्षक जगत टमटा पनि बिहानको समयमा विकेटमा ‘मोइस्चर’ बढी हुने भएकाले त्यसले फास्ट बलर र स्पीनर दुवैलाई सहयोग गर्ने खालको हुन्छ।

‘विकेट सुक्दै गएपछि ब्याट्सम्यानलाई खेल्न सजिलो हुन्छ। त्यही भएर सुरुको १०/१५ ओभर दुवै टोलीका लागि महत्त्वपूर्ण हुन्छ’, हालै यू-१९ विश्वकपमा नेपालका प्रशिक्षक रहेका टमटाले भने।

उनले घरेलु टोलीले आफ्नो अनुकूलता अनुसार विकेट बनाउने गरेको बताउँदै नेपालका लागि स्लो विकेट सहयोगी बन्ने गरेको उल्लेख गर्छन्।

‘तर नेदरल्यान्ड्स र नामिबियाजस्ता टोलीहरूलाई घाँसे विकेटमा खेल्ने बानी छ। त्यही भएर पनि उनीहरूलाई यहाँको विकेटका सुरुमा खेल्न गाह्रो हुन्छ। क्रिकेटमा विकेटको स्वभाव बुझ्नु महत्त्वपूर्ण हुन्छ’, टमटाले भने।

क्यानडाविरुद्ध थिएन यो अवस्था

नेपालले विश्वकप लिग-२ को यो शृंखलाअघि क्यानडासँग तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको थियो। नेपालले शृङ्खला क्लिनस्विप गरेको थियो।

घरेलु टोलीले पहिलो र तेस्रो खेलमा टस जितेको थियो। पहिलो खेलमा पहिला ब्याटिङ गरेको नेपालले तेस्रो खेलमा भने पहिला बलिङ रोजेको थियो। क्यानडाले दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको थियो।

त्यसमा पनि पहिलो ब्याटिङ अहिलेजस्तो धरायशी थिएन। पहिलो खेलमा नेपालले २ सय २५ रनको लक्ष्य दिएको थियो भने दोस्रो र तेस्रो खेलमा क्रमशः २ सय ८६ र २ सय ३३ रनको लक्ष्य पाएको थियो। नेपालले शृंखलाअन्तर्गत आफ्नो तेस्रो खेलमा बुधवार नामिबियासँग खेल्दै छ।

त्रिवि क्रिकेट मैदानमा हुने यो खेलमा पनि टस जित्नु महत्त्वपूर्ण हुने आँकलन गरिएको छ। नेपालले यो खेलबाहेक नेदरल्यान्ड्ससँग पनि एक खेल खेल्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर