के नेपालका बैंकहरु डुब्दैछन् ? राष्ट्र बैंक भन्छ- सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन – Nepal Press

के नेपालका बैंकहरु डुब्दैछन् ? राष्ट्र बैंक भन्छ- सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन

काठमाडौं । अहिले नेपालमा बैंकहरु टाट पल्टिन लागेकाे हल्ला व्यापक छ । निश्चित बैंक लक्षित यस्ता हल्ला आएपछि तिनीहरुले यस्ता हल्लाकाे पछि नलाग्न सार्वजनिक आह्वानसमेत गरिसकेका छन् । तैपनि सर्वसाधारणकाे शंका निवारण हुनसकेकाे छैन । बैंकहरु डुब्न लागेकाे हल्ला झन व्यापक भएकाे छ ।

सर्वसाधारण तहमै यस्ता अफवाह फैलाएपछि नेपाल राष्ट्र बैंकले यहाँका बैंकहरु असुरक्षित नभएको बताएकाे छ । राष्ट्र बैंक नियमन विभागका प्रमुख गुरु पौडेलले नेपालका बैंकहरु राम्रो अवस्थामा रहेको दाबी गरे ।

बैंकविरुद्ध यति धेरै अफवाह फैलँदा पनि राष्ट्र बैंक मौन बस्नु भनेकै बैंकहरु राम्रो अवस्थामा भएको बुझ्नुपर्ने पौडेलको भनाइ छ ।

‘अहिलेको अवस्थामा राष्ट्र बैंकले केही बोलेको छैन । यसको मतलब अहिले अफवाह चलाए जस्तो जटिल परिस्थिति राष्ट्र बैंकले देखेको छैन’, उनले भने, ‘अहिलेसम्म कुनै पनि संस्थाको बारेमा बैंकले समस्याग्रस्त हो नभनेसम्म सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन ।’

कतिपय राष्ट्रमा बैंकिङ प्रणाली धराशायी हुँदा अर्थतन्त्र नै खत्तम भएको उदाहरण छन् । यसबारे राष्ट्र बैंक चनाखो भएको पौडेलले बताए ।

बैंकिङविज्ञ भुवन दाहालले पनि ६ महिनाको डाटाले नेपालका बैंकहरु आत्तिनुपर्ने अवस्थामा नरहेको बताए । यद्यपि खराब वित्तीय अवस्था भएका संस्थाहरु मर्ज गरेका एकाध बैंकलाई भने समस्या भएको उनले बताए ।

ती संस्थामा राष्ट्र बैंकको सूक्ष्म निगरानी र सपोर्ट आवश्यक रहेको दाहालले बताए । उनी भन्छन्, ‘एनपीएको लागि प्रोभिजनिङ छ, अनपेक्षित नोक्सानको लागि पूँजी । त्यसकारण आत्तिनुपर्ने अवस्था छैन ।’

अर्थविद् नरबहादुर थापाले राष्ट्र बैंकले बैंकहरुको क्यापिटल एडुकेसी (पूँजी पर्याप्तता) जस्तो मुख्य इण्डिकेटरमा चलखेल गर्ने गरेको आरोप लगाए ।

राष्ट्र बैंकमै लामो समय काम गरेका थापा भन्छन्, ‘राष्ट्र बैंकले ‘कि प्यारामिटर’ मा चलखेल गर्नुहुँदैन । वित्तीय क्षेत्रको क्यापिटल एडुकेशी रेसियोमा पटक पटक चलखेल हुन्छ र क्यापिटल एडुकेशीले मात्र बैंकमा समस्या आएको हुँदैन । अरु कारणले पनि समस्या आएको हुनसक्छ । ती समस्या समाधानको लागि पहल गर्नुपर्छ ।’

अहिले सरकारी तथा ज्वाइन्ट भेन्चर बैंकहरुको अवस्था भने राम्रो भएको उनले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले तरलताको हिसाबले सबैभन्दा उपयुक्त अवस्थामा बैंकहरु रहेको बताए । केसीका अनुसार ४ खर्बभन्दा बढी लगानीयोग्य रकम बैंकसँग छ । यो शताब्दीकै सबैभन्दा ठूलो पेण्डामिकबाट बाहिर आएको धेरै नभएकाले बैंकहरुको अवस्था पनि राम्रो हुँदै गइरहेको उनको भनाइ छ ।

केसी भन्छन्, ‘४० वर्षमा धेरैजसो बैंकहरु केही न केही चुनौतीबाट गुज्रिनुपर्‍यो । आज ६१ खर्बको डिपोजिट छ । ५०/६० हजारभन्दा बढी मानिसलाई रोजगारी दिएको छ । ७५२ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । वित्तीय समावेशितामा यति धेरै योगदान गर्ने बैंककै बारेमा बेलाबेलामा नकारात्मक कुराहरु आउने गरेका छन् ।’

‘बैंक समस्यामा परेको जानकारी राष्ट्र बैंक आफैंले दिन्छ’

पछिल्लो समय बैंक डुब्छ, निक्षेपकर्ताको बिचल्ली हुन्छ जस्ता अफवाह फैलाइएको छ । तर, सरोकारवालाहरुले त्यस्ता हल्लाको पछि लागेर नआत्तिन आग्रह गरेका छन् । कुनै एक व्यक्तिले बैंकमा समस्या छ भन्दैमा सो बैंकमा समस्या परिहाल्दैन । बैंकमा समस्या परेको जानकारी राष्ट्र बैंकका केही कदमबाट पाउन सकिन्छ ।

अहिले फैलाइएको हल्लालाई निगरानी गरिरहेको राष्ट्र बैंकले जनाएको छ । यदि कुनै संस्था कमजोर भयो वा समस्याग्रस्त भएर सर्वसाधारणको निक्षेप पनि फिर्ता गर्न नसक्ने अवस्थामा पुग्दैछ वा समस्यामा पर्नसक्छ भन्ने लाग्नासाथ राष्ट्र बैंकले सो संस्थाको वित्तीय अवस्था निरीक्षण सुरु गर्छ । निरीक्षण गर्दा समस्याग्रस्त भएको वा हुनसक्ने देखिएमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ अनुसार सो संस्थालाई समस्याग्रस्त घोषणा गर्छ । यसरी समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंक आफैंले व्यवस्थापन टेकओभर गरेर त्यसको सूचना सर्वसाधारणलाई दिन्छ ।

कुनै पनि देशको वित्तीय प्रणाली अत्यन्तै महत्वपूर्ण र संवेदनशील मानिन्छ । देशको अर्थतन्त्रको अवस्था उक्त देशको बैंकिङ प्रणालीले देखाउँछ । संसारका ठूला अर्थतन्त्र भएका देशहरुमा पनि समस्या आउँदा सबैभन्दा पहिले बैंकिङ प्रणालीमा समस्या देखिन्छ । त्यसपछि मात्रै अन्य क्षेत्रहरुमा समस्या देखिन थाल्ने अर्थविद्हरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर