क्यान्सर मुक्त भइन् सांसद रावल – Nepal Press

क्यान्सर मुक्त भइन् सांसद रावल

भन्छिन्,— ६ वर्षअघि स्वस्थ पठाउनुभएको थियो, क्यान्सर जितेर पुनः स्वस्थ फर्किदैँछु

चितवन । अघिल्लो वर्ष देशभर प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै थियो । चितवनको पनि तीन निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी भइरहेको थियो । राष्ट्रिय राजनीतिको गठजोडले नेकपा एमालेलाई एकातिर बनाएको अवस्था थियो ।

निर्वाचनमा कुन क्षेत्रमा कस्तो नेतृत्व अघि सार्ने, निर्वाचनको स्थानीय रणनीति के कसो हुने चर्चाबीच यहाँका एमाले प्रेमी जनता र नेताहरुले पनि निर्वाचनको कमाण्डरको रुपमा खोजिरहेको एक व्यक्ति थियो — दिलकुमारी रावल ‘पार्वती’ ।

एमाले नेकपाबाट फुट भएको कठिन परिस्थितिमा जिल्लाको पार्टी कमाण्ड सम्हालेर भव्य रुपमा केन्द्रीय महाधिवेशन समेत चितवनमा गराउन नेतृत्व लिएकी उनै रावल चुनावी सरगर्मीमा कतै देखिइनन् । उनी नहुँदा अझ महिलाको जिल्ला नेतृत्व मलिन जस्तै थियो ।

उनी भने त्यतिबेला आफ्नो स्तनमा पोल्ने, दुख्ने र विस्तारै बढ्दै गएको गिर्खागुर्खी पहिचान गराउन चितवन र काठमाडौँको अस्पताल चहार्दै थिइन् । क्यान्सर रोगको शंकामा नेपालका क्यान्सर रोग पहिचान र निवारण गराउने अस्पताल धाएर हुनेसम्मको परीक्षण गराउँदा पनि उनले रोग यहि हो भनेर पहिचान पाउन सकेकी थिइनन् । ‘डाक्टरले हो पनि भनिदिएन, होइन पनि भनिदिएन, उनी भन्छिन्, — तत्काल रोग पहिचान नभएर एक डेढ महिना यतै चहारिरहेँ ।

६ वर्षअघि चितवनबाट प्रतिनिधित्व गरेर राष्ट्रिय सभाको सांसद बनेकी थिइन् रावल । उनी संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति पनि बन्ने मौका पाइन् । गोलामा पूर्ण समय काम गर्न पाएको रावलमा अझ केही गर्ने जोश बढिरहँदा शरीरको एक अंगमा क्यान्सरको ऐजेरु पलाउन थालेको उनलाई शारीरिक अवस्थाले भनिरहेको थियो ।

नेपालका डाक्टरबाट क्यान्सर हो होइन जवाफ नपाएपछि चिनेजानेका व्यक्तिको सहयोगमा उनी भारतको एपोलो अस्पतालमा पुगिन् । त्यहाँ थाहा भयो बायाँ स्तनमा क्यान्सरको प्रारम्भिक चरणको लक्षण सुरु भएको रहेछ ।

सामान्यतया क्यान्सर पहिचान हुँदा बिरामीलाई आफन्त वा अभिभावक बोलाएर डाक्टरले उनको अवस्थाबारे कुरा गर्छन् । तर, रावलले आफूलाई क्यान्सर भएको पहिचान स्वयंको पहलमा गराएकी थिइन् । ‘थाहा पाएपछि सबैभन्दा पहिला आफूमा आत्मबल जगाएँ, उनी भन्छिन्, ‘त्यसपछि परिवारलाई मलाई केही हुँदैन चाँडो उपचार पाएँ भनेँ ।’

क्यान्सर पहिचान लगत्तै उनैले निर्णय गरिन्, ‘तत्कालै शल्यक्रिया गरेर क्यान्सरले आक्रमण गर्न लागेको भागलाई फालिदिने । शरीरमा क्यान्सर पहिलो चरणमा प्रवेश गर्न नभ्याउँदै शल्यक्रिया गर्ने निर्णय गरेकी उनले करिब ११ पटकको दिल्ली आवत जावत, किमो थेरापी, शल्यक्रिया लगायतका काममा लगाउनुपर्यो ।

२०७९ साल असोजको १० गते क्यान्सर पहिचानपछि शिघ्र उपचार गरिसकेकी उनले सोमबार चितवन आएर आफू पूर्ण रुपमा निको भएको घोषणा गरिन् । गत वर्ष असोज १० गते क्यान्सरले आफ्नो शरीरमा प्रवेश गरेको थाहा पाएको उनले करिब १५ महिना अर्थात् गत पुस २० गते शरीरका सबै भागको परीक्षणबाट आफ्नो शरीरमा क्यान्सरको कुनै पनि कोशिका बाँकी नरहेको थाहा पाइन् ।

‘तपाईंहरुले मलाई ६ वर्षअघि स्वस्थ सांसद बनाएर पठाउनुभएको थियो, सोमबार चितवनका पत्रकारहरुसँग कुरा गर्दै रावलले भनिन्,’ यो बीचमा क्यान्सरले आक्रमण गरेर पनि म क्यान्सर मुक्त भएर पुनः तपाईंहरुले पठाएजस्तै स्वस्थ भएर फर्किएको छु ।

रावल त आफ्नै सुझबुझ र तत्काल उपचारले क्यान्सर मुक्त भइन् । तर, उनले आफूसँगै रोग पहिचान भएका व्यक्तिले तत्काल शल्यक्रियाको निर्णय गर्न नसक्दा मृत्युवरण गर्नुपरेको आँखैले देखिन् । त्यतिमात्रै होइन नेपालका क्यान्सरको सेवामा विशिष्टिकृत सेवा दिने स्वास्थ्य संस्था रोग पहिचानमा प्रभावकारी नभएको अनुभव पनि गरिन् ।

‘हामीकहाँ उपचार गराउने स्वास्थ्य संस्था भएपनि रोग पहिचानमा अझै पनि कमजोर रहेको अनुभव रह्यो, पत्रकारहरुसँग अनुभव बाँड्दै उनले भनिन्, — राज्यले ६ वर्ष लगानी गरेको सांसदको हैसियतले पनि मैले क्यान्सर सचेतनामा प्रभावकारी काम गर्ने निर्णय गरिसकेको छु ।

२०७४ साल फागुन २१ गते औपचारिक रुपमा सपथ ग्रहण गरेर राष्ट्रिय सभा सांसदको रुपमा पदभार सम्हालेकी रावल यहि फागुन २० गतेपछि कार्यकाल सम्पन्न गरि गृहजिल्ला चितवन फर्किदैँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *