उत्पादनमूलक क्षेत्रको ईपीएस कोरियन भाषाको पहिलो चरणको परीक्षा सुरु – Nepal Press

उत्पादनमूलक क्षेत्रको ईपीएस कोरियन भाषाको पहिलो चरणको परीक्षा सुरु

डेढ लाखभन्दा बढीको परीक्षा सम्पन्न हुन करिब एक वर्ष लाग्ने

काठमाडौं । ईपीएस कोरिया शाखाले सन् २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षा आज सुरु भएको छ । तीन चरणमा हुने परीक्षाको पहिलो चरण आज सुरु भएको हाे ।

पहिलो चरणको परीक्षा चैत २४ गतेसम्म जारी रहने वैदेशिक रोजगार विभागले जनाएको छ । ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको परीक्षा कार्यतालिकाअनुसार सबै परीक्षार्थी सहभागी हुन करिब एक वर्ष लाग्नेछ । यस वर्षको फागुन महिनाबाट सुरु भएको परीक्षा आगामी वर्षको पुससम्म चल्नेछ ।

एक लाख ६३ हजार ६३५ जना परीक्षार्थी रहेकोमा पहिलो चरणको परीक्षामा ४७ हजार ४२९ जना सहभागी भएकाे विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आगामी बैशाख ३१ गते सुरु भएर आगामी साउन १६ गतेसम्म जारी रहने दोस्रो चरणको परीक्षामा ७९ हजार ९३७ जना परीक्षार्थी सहभागी हुनेछन् ।

यस्तै आगामी असोज २६ देखि पुस २ गतेसम्म सञ्चालन हुने तेस्रो तथा अन्तिम चरणको परीक्षामा ३६ हजार १७० जना परीक्षार्थी सहभागी हुने महानिर्देशक घिमिरेले बताए ।

परीक्षार्थीको परीक्षा यूबीटी भवन भैंसेपाटीमा एचआरडी सर्भिस अफ कोरियाको प्रत्यक्ष निगरानीमा दैनिक पाँच सिफ्टमा सञ्चालन हुनेछ । प्रत्येक सिफ्टमा २०० जनाको दरले एक दिनमा एक हजार जनाको परीक्षा टेबल कम्प्युटरमा सञ्चालन हुनेछ । आफ्नो परीक्षा कुन दिन र कुन सिफ्टमा पर्छ, त्यसबारेमा थाहा पाउन ईपीएस कोरिया शाखाको वेबसाइटमा गएर हेर्न सकिनेछ ।

परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि बायोमेट्रिक भेरिफिकेसनका लागि परीक्षा केन्द्रमा अनिवार्य रुपमा पुग्नुपर्नेछ । बायोमेट्रिक भेरिफिकेसनपछि परीक्षा सञ्चालन हुनुभन्दा ३० मिनेट अगाडि परीक्षा सञ्चालनसम्बन्धी जानकारीमूलक कक्षा अर्थात ओरेन्टेसन कक्षा सञ्चालन हुनेछ ।

आफ्नो परीक्षा सञ्चालन हुने दिनको एक दिन अगाडि ईपीएस कोरिया शाखा ग्वार्कोमा बायोमेट्रिक दर्ता तथा फिङ्गर प्रिन्ट दर्ता गर्नुपर्ने छ । बायोमेट्रिक दर्ता र परीक्षामा सहभागी हुन सक्कल पासपोर्ट र प्रवेशपत्र आवश्यक पर्ने भएकाले ती कागजात अनिवार्य रुपमा आफ्नो साथमा लिई तोकिएको समय र मितिमा परीक्षामा सहभागी हुन ईपीएस कोरिया शाखाले सबै परीक्षार्थीलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर