महानायक राजेश हमालले गरे बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन – Nepal Press

महानायक राजेश हमालले गरे बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन

रुपन्देही । नेपाली चलचित्रका महानायक राजेश हमालले बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन गरेका छन् । बुटवल उपमहानगरपालिकामा आयोजना गरिएको एक कार्यक्रममा सहभागिता जनाउन पुगेका हमालले जितगढी किल्लाको अवलोकन गरेका हुन् ।

युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग विस १८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले दुई पटक विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको ऐतिहासिकस्थल जितगढी किल्लामा महानायक हमाल अवलोकनको लागि पुगेका हुन् ।

तत्कालीन अवस्थाको झल्को दिने गरी बनाइएका स्टाचु, ग्रेटर नेपालको नक्सा र वृत्तचित्रको हमालले अवलोकन गरेका थिए । हमालले ऐतिहासिक स्थलको संरक्षण र प्रबद्धन गर्दै भावी पुस्तालाई जानकारी गराउन आवश्यकता रहेको बताए । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जितगढी किल्लाको बारेमा चलचित्र बनाउन सकिने प्रतिक्रिया दिए । तत्कालीन अवस्थाको झल्को दिने गरी जितगढीको चलचित्र बनाउन सकिने भए पनि ठूलो लगानीको आवश्यकता रहेको उनले बताए ।

जितगढीको ऐतिहासिक महत्व रहेको बताउँदै उनले ऐतिहासिक कुराहरको तथ्यमा आधारित भएर चलचित्र निर्माण गरिनुपर्ने बताए । महानायक हमाललाई बुटवल उपमहानगरपालिका वडा नं एकका अध्यक्ष नरेन्द्र बस्नेत, वडा नं पाँचका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जितगढी किल्लाको ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए ।

बुटवल उपमहानगपालिका वडा नं एकमा रहेको किल्लामा चलचित्र छायाँकन गरी प्रचारप्रसारमा सहयोग पुराउन हमालसँग अनुरोध गरिएको वडाध्यक्ष बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर