सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ गरेपछि प्रहरीले पीडित पक्षसँग माग्याे निवेदन – Nepal Press

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ गरेपछि प्रहरीले पीडित पक्षसँग माग्याे निवेदन

रुपन्देही । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यहरुलाई रकम जम्मा गरेको प्रमाणसहित निवेदन दिन प्रहरीले आग्रह गरेको छ ।

सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेपछि इलाका प्रहरी कार्यालय बुटवलले आइतबार सूचना जारी गर्दै सहकारीका सदस्य र बचतकर्तालाई बचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरेको हो ।

कहिलेसम्म उजुरी दिन सकिने भन्ने प्रहरीको सूचनामा खुलाइएको छैन । उजुरी दिनेबारे जानकारी लिन ९८५७०९०१२१ मा सम्पर्क गर्न प्रहरीले भनेको छ ।

दुई दिनअघि प्रहरीले उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

उक्त सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबहादुर (जीबी) राईले बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोप छ । केन्द्रीय कार्यालय बुटवल र भैरहवा सेवा केन्द्रबाट सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका पाँच वटा कम्पनीलाई ऋण दिएको थियो ।

राई २०७८ सम्म अध्यक्ष थिए । रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

संस्थापक अध्यक्ष एवं संरक्षक राई सम्पर्कविहीन छन् । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर