गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसाको ठगी प्रकरण- लण्डनका ‘इमिग्रेसन वकिल’ थापाविरुद्ध पक्राउ पुर्जी – Nepal Press

गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसाको ठगी प्रकरण- लण्डनका ‘इमिग्रेसन वकिल’ थापाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानून व्यवसायी राजु थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसा मिलादिने गिरोहका मुख्य योजनाकार केही दिनअघि पाँचथरबाट पक्राउ परेका सूर्य नेम्वाङको बयानका आधारमा इमिग्रेसन लयर मानिने थापाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । नेम्वाङले थापालाई आफूले भिसा मिलाइदिन भनेर पैसा संकलन गरेर बुझाउने गरेको बयान दिएका छन् ।

थापा बेलायतका नेपालीहरुबीच भने प्रतिष्ठित इमिग्रेसन लयर हुन् । भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसा उपलब्ध गराउने बाहानामा ठगी गरेको उजुरी परेको थियो । थापाले बेलायतको लण्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा एभरेष्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आएका थिए ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो । बेलायतमा रहेका थापाविरुद्ध करोडौं ठगी गरेको आरोप छ । भिसा लगाइदिने नाममा ठगी गरेको तथ्य भेटिएपछि थापालाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले पुर्जी जारी गरेको हो ।

जिल्ला अदालत काठमाडौंले  राजु थापासँगै उनका नेपाली साझेदार समी काछी रोजी श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

‘फरार प्रतिवादीहरु राजु थापा र समी काछी रोजी श्रेष्ठका नाममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ कमोजिम पक्राउ पुर्जी जारी गरी भएको हो । अदालतले फागुन २ गते थापा र श्रेष्ठको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

थापाका सहयोगीको रुपमा काम गरिरहेका नेपालमा रहेका भूतपूर्व गोर्खा सैनिक सूर्यकुमार नेम्वाङ पक्राउ गराएपछि धन्दामा संलग्न गिरोहको नाम खुल्न थालेको प्रहरी स्रोतले बतायो ।

लण्डनमा बसेर आफ्नो ल फर्ममार्फत केस दर्ता गर्ने शुल्क लिएर पनि थापाले कुनै पक्रिया अघि नबढाउँदा झण्डै ५ सय जना पीडित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *