माओवादीको असक्षमताको भारी कांग्रेसलाई पर्दैछ, अप्राकृतिक गठबन्धन छाडेर नयाँ सरकार बनाऔँ (भिडिओ) – Nepal Press
सुनिल शर्माको प्रस्ताव

माओवादीको असक्षमताको भारी कांग्रेसलाई पर्दैछ, अप्राकृतिक गठबन्धन छाडेर नयाँ सरकार बनाऔँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले फागुन ७ गतबाट हुने महासमिति बैठकका लागि पार्टी र मुलुकको रूपान्तरणका लागि आफ्नो छुट्टै प्रस्ताव ल्याएका छन्।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कांग्रेसको रूपान्तरण र कांग्रेसको नेतृत्वमा जनमुखी र जनताप्रति उत्तरदायी सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माणका लागि आफ्ना प्रष्ट एजेन्डा ल्याउनुपर्ने उनको भनाइ छ।

उनले रूपान्तरित कांग्रेस निर्माणको मार्ग चित्र, सुशासनमुखी पार्टी र सरकार, निर्वाचन प्रणाली र शासकीय स्वरूप परिवर्तन, समयसापेक्ष पार्टीको सांगठनिक ढाँचा, पार्टी र सरकारको सम्बन्धलगायतको विषयलाई समेटेर १४ बुँदे प्रस्ताव अघि सारेका छन्।

उनले भने- भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्यसंयन्त्र र समिति व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकका वर्तमानका यावत् समस्याका सम्बन्धमा नेपाली कांग्रेस कानमा तेल हालेर बस्न मिल्दैन । कांग्रेस आफ्नो नीतिमा प्रस्ट हुन जरुरी छ । कांग्रेसले आफू नीतिमा प्रष्ट हुनुपर्छ र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखी बनाउन सक्नुपर्छ । नसके कांग्रेसका लागि आउने दिनहरू कठिन छन्।

लोकप्रियतावादी र अतिवादीहरु अहिले नेपाली कांग्रेसका मुख्य चुनौती रहेको उल्लेख गरे।

उनले भने- कांग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्व जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गरिरहनु हुँदैन । अप्राकृतिक गठबन्धनका कारण नेपाली कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइराखेको भनेर जनताले प्रश्न उठाइरहेका छन्।

उनले माओवादी नेतृत्वको सरकारमा कांग्रेस बसिरहँदा माओवादीको असक्षमताको भारी कांग्रेसले बोक्नुपर्ने भएकाले तत्काल अप्राकृतिक गठबन्धनबाट अलग भई कांग्रेसले लोकतान्त्रिक शक्तिहरूलाई एकत्रित गरी आफ्नो नेतृत्वमा सुशासनमुखी, जनमुखी सरकार गठनका लागि पहल गर्नुपर्ने बताए।

पूर्णपाठ यहाँ क्लिक गरेर हेर्नुहोस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर