आसिफ र कुशलको जबरजस्त ओपनिङ जोडी फेला पारेको नेदरल्यान्ड्सविरूद्धको त्यो शृङ्खला – Nepal Press

आसिफ र कुशलको जबरजस्त ओपनिङ जोडी फेला पारेको नेदरल्यान्ड्सविरूद्धको त्यो शृङ्खला

काठमाडौं। सन् २०२१ को अप्रिल १७ तारिख। नेपाली क्रिकेटर आसिफ शेख र कुशल भुर्तेलले सायदै भुल्न सक्छन् । त्यो दिन आसिफ र कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। खेल थियो बलियो प्रतिद्वन्द्वी नेदरल्यान्डसविरूद्ध ।

लामो समयदेखि भरपर्दो ओपनिङ जोडी नपाएर सकस भइरहेको बेला तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोरले पहिलो पटक कुशल र आसिफको जोडी बनाएर नेपालको इनिङ सुरुवात गर्न पठाएका थिए । अन्ततः यही म्याच नै उनीहरूको करिअरमा टर्निङ प्वाइन्ट बन्यो । उनीहरू नै अहिलेसम्म नेपालको पहिलो रोजाइका ओपनरको रूपमा रहेका छन् ।

आज लिग २ को दोस्रो खेलमा नेदरल्यान्डसविरूद्ध यो जोडीले विस्फोटक सुरुवात दिँदै सहज जितको आधार खडा गरे ।

तीन वर्ष अगाडि नेदरल्यान्डससँगको त्यही खेलपछि आसिफ र कुशलले आफ्नो करियरमा पछाडि फर्केर हेर्नु परेन।

कोरोना महामारी चलिरहेकै समयमा नेपालले नेदरल्यान्ड्स र मलेसियालाई त्रिकोणात्मक टी-२० शृङ्खला खेल्न बोलाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लियो । डच टोलीले नेपालको धारिलो बलिङसामु केवल एक सय ३७ रनको लक्ष्य दिन सके। बास डे लिडेले ४१, कप्तान पिटर सिलारले २३, विकेटकिपर स्कट एडवार्ड्सले ३० रन बनाएका थिए भने बेन कुपरले खाता खोल्न सकेनन्।

हजारौँ घरेलु दर्शकसामु कुशल र आसिफले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरे। यी दुईबीच पहिलो विकेटका लागि १२.४ ओभरमा एक सय १६ रनको साझेदारी भयो। आसिफ र कुशलले डेब्यु खेलमै अर्ध शतक प्रहार गर्दै क्रमशः ५४ र ६२ रन जोडेका थिए। अन्ततः यो खेल नेपालले ९ विकेटले जितेको थियो।

बलियो टोलीलाई हराएर शृङ्खला थालेको नेपालले एकपछि अर्को राष्ट्रिय कीर्तिमान तोड्दै गयो। दोस्रो खेलमा पहिला ब्याटिङ गरेको मलेसियालाई एक सय ९ रनमा अलआउट गरेको नेपालले फेरी ९ विकेटको जित निकालेको थियो। यस पटक प्रारम्भिक जोडीले १ सय २ रनको साझेदारी गर्‍यो। कुशलले ६१ र आसिफले ४२ रन जोडे। शृंखलाअन्तर्गत लिग चरणका बाँकी दुई खेल र फाइनलमा नेपालले लगातार दुई सयभन्दा बढी रन जोड्यो।

तेस्रो खेलमा नेदरल्यान्ड्सलाई २ सय ७ रनको लक्ष्य दिएर पनि नेपाल निराश बनेको थियो। त्यो खेलमा नेपालका कुशल भुर्तेलले ६२ र दीपेन्द्रसिंह ऐरीले ६० रन जोडेका थिए। दुर्भाग्य, आसिफले खाता खोल्न सकेनन् यस पटक।

नेदरल्यान्ड्सका अलराउन्डर बास डे लिडेले ४२ बलमा अविजित ८१ रनको इनिङ गर्दै घरेलु टोली र दर्शकलाई स्तब्ध बनाएका थिए। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले यति धेरै रन यसअघि बनाउन सकेका थिएनन्।

कुशलले डेब्यु खेलदेखि लगातार तीन खेलमा अर्ध शतक बनाउने दुर्लभ सफलता पनि प्राप्त गरेका थिए।

लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध २ सय १८ रनको लक्ष्य दिएको थियो। यस पटक आसिफले ४२, कुशल भुर्तेलले १६, ज्ञानेन्द्र मल्लले ४१ र करण केसीले ४५ रन बनाएका थिए। नेपालले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको थियो। यो खेल नेपालले ६९ रनले जितेको थियो।

फाइनल नेपालका लागि अझ ऐतिहासिक रह्यो। त्रिवि मैदानमा नेपालले उपाधिका लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नुपर्ने थियो। नेदरल्यान्ड्सले टस जितेर बलिङ रोज्यो। फेरी कुशल र आसिफ नेपालको ब्याटिङ सुरुवात गर्न आए। कुशल र आसिफबीच पहिलो विकेटका लागि ३० रनको साझेदारी भयो।

कुशलले दोस्रो विकेटका लागि ज्ञानेन्द्रसँग ५७, तेस्रो विकेटका लागि कुशल मल्लसँग ७६ रनको साझेदारी गरे। तेस्रो विकेटका लागि आउट भएका भुर्तेलले ५३ बलमा ७७ रन जोडेका थिए। यो खेलमा कुशल मल्लले २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरीले पनि १८ बलमा ४८ रन जोडेपछि नेपालले २ सय ३९ रनको विशाल लक्ष्य दिएको थियो।

नेपाली टोलीले लगातार तेस्रो खेलमा २ सयभन्दा बढी रन जोडेको थियो, त्यो पनि टी-२० अन्तर्राष्ट्रिय खेलमा।

नेदरल्यान्ड्सले केवल ९६ रन जोडेर अलआउट भएपछि नेपालले एक सय ४२ रनको जितसहित शृङ्खला हात पारेको थियो। यही शृंखलामार्फत नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठुला इनिङ्सहरु खेल्न थालेको हो। यो तीन वर्षमा आसिफ र कुशल निरन्तर नेपालका जबर्जस्त प्रारम्भिक जोडी बनेका छन्।

यसबीचमा कुशल र आसिफ एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन जोड्ने शीर्ष ३ ब्याट्सम्यानभित्र पर्छन्। आसिफ ४६ खेलमा १० अर्धसतक र एक शतकसहित एक हजार २ सय ७२ रन जोडेर दोस्रो र कुशल ४९ खेलमा ७ अर्धशतक र एक शतकसहित १ हजार १ सय ७ रन जोडेर तेस्रो स्थानमा छन्। शीर्षस्थानमा रहेका रोहित पौडेलले ५८ खेलमा ९ अर्धशतक र एक शतकसहित एक हजार ५ सय ७० रन जोडेका छन्।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेल २९ खेलमा ७ अर्धशतक र एक शतकसहित ९ सय १५ रन जोडेर दोस्रो स्थानमा छन्। आसिफले ३३ खेलमा ४ अर्धशतकसहित ७ सय ८८ रन बनाएका छन्।

नेपालले विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा भइरहेको पहिलो शृंखलामा शनिवार नेदरल्यान्ड्ससँग खेल्दै छ। अहिलेको डच टोलीमा तीन वर्षअघि अघि टी-२० शृंखलामा प्रतिस्पर्धा गरेका बास डे लिडे, म्याक्स ओदोद, स्कट एडवार्ड्स पनि छन्। वेस्ली बारेस्सी, भान डर मार्वेजस्ता अनुभवी खेलाडी पनि नेदरल्यान्डस टोलीमा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर