युक्रेन र जर्मनीबीच द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर – Nepal Press

युक्रेन र जर्मनीबीच द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर

बर्लिन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीसँग एउटा द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले आजै फ्रान्ससँग अर्को एक सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ ।

रुसद्वारा पूर्णस्तरको युद्ध सुरु गरेको करिब दुई वर्षपछि किएभले पश्चिमी समर्थन बढाउन काम गरिरहेका बेला यसबाट दीर्घकालीन समर्थनको एउटा बलियो सङ्केत पाएको छ ।

युक्रेनी नेतालाई बर्लिनमा जर्मन चान्सलर ओलाफ स्कोल्जले स्वागत गरेका थिए । यसपछि जेलेन्स्की फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई भेट्न पेरिस जानेछन् ।

संयुक्त पत्रकार सम्मेलनअघि स्कोल्जले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘जेलेन्स्की र मैले हाम्रो दीर्घकालीन सुरक्षा प्रतिज्ञाहरूमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थियौं ।’

उनले उक्त सम्झौतालाई ‘ऐतिहासिक कदम’ भनेका थिए । सरकारले सम्झौताको विवरण तत्काल दिएको छैन ।

गत महिना बेलायती प्रधानमन्त्री ऋषि सुनकले किएभको भ्रमण गर्दा युक्रेन र बेलायतबीच भएको सुरक्षा सम्झौतापछि जर्मनीसँग द्विपक्षीय सुरक्षा तथा दीर्घकालीन समर्थन सम्झौता भएको हो । यो सम्झौताले आगामी १० वर्षलाई समेट्नेछ ।

जेलेन्स्कीले शनिबार उच्चस्तरीय सुरक्षा तथा विदेश नीति अधिकारीहरूको वार्षिक सभाका रूपमा रहेको म्युनिख सुरक्षा सम्मेलनमा भाग लिनेछन् । उक्त सम्मेलनमा उनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत अन्य नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

गोला–बारुदको आपूर्ति र कर्मचारीको कमीका कारण युक्रेन युद्धमा रक्षात्मक भएकाले दीर्घकालीन ऐक्यबद्धताको सन्देश दिने सुरक्षा सम्झौताको प्रमुख उद्देश्य रहेको प्रतीत हुन्छ ।

सम्झौताको विवरण सार्वजनिक गर्ने अनुमति नभएको एक फ्रान्सेली अधिकारीले कुरा गर्दै जेलेन्स्कीको भ्रमणअघि पेरिससँगको सम्झौताको उद्देश्य युक्रेनलाई ‘दीर्घकालीन समर्थन प्रदान गर्नु’ र ‘दृढ सङ्कल्पको सन्देश’ पठाउनु रहेको बताए ।

उनले सम्झौतामा सैन्य र सुरक्षा प्रतिबद्धताका साथै वित्तीय र आर्थिक सहयोग पनि समावेश हुनेछ । बेलायत–युक्रेन सम्झौतामा युक्रेनको रक्षा निर्माणमा सहयोग गर्ने र रुसबाट पुनः आक्रमण भएमा ‘द्रुत र दिगो सुरक्षा सहयोग’ प्रदान गर्ने प्रतिबद्धता गरिएको थियो । यद्यपि यो व्यापक विस्तारमा गएको छैन ।

युरोपेली सहयोगीहरूले हालैका दिनहरूमा अमेरिकी कांग्रेससँग युक्रेनलाई ६० अर्ब डलरको प्याकेजलाई स्वीकृति दिन आग्रह गरेका छन् । उक्त प्याकेजले ठूलो मात्रामा अमेरिकी रक्षा संस्थाहरूलाई मिसाइल, युद्ध सामग्री र अन्य सैन्य हार्डवेयर बनाउन युक्रेनको युद्ध क्षेत्रमा पठाउनेछ । उक्त प्याकेजले हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूको विरोधको सामना गर्नु परिरहेको छ ।

जर्मन चान्सलर स्कोल्जले अमेरिकी कोष जारी गर्ने अत्यावश्यकतालाई जोड दिन एक साताअघि वासिङ्टनको भ्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेपछि उनले भनेका थिए, ‘हामीले यताउता घुम्न जरुरी छैन, युक्रेन आफ्नो रक्षा गर्न सक्षम हुनेछ भन्ने प्रश्नका लागि अमेरिकाको समर्थन अपरिहार्य छ ।’

अमेरिकापछि जर्मनी अहिले युक्रेनलाई सैन्य सहायता आपूर्ति गर्ने दोस्रो सबैभन्दा ठूलो मुलुक हो । साथै स्कोल्जले हालै अन्य युरोपेली मुलुकहरूसँग थप हतियार वितरण गर्न आह्वान गरेका छन् ।

सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणपछि गत वर्ष जेलेन्स्कीले बर्लिनको पछिल्लो भ्रमण गरेका थिए । सन् २०२३ को फेब्रुअरी र मेमा भ्रमणहरूपछि शुक्रबारको भ्रमण आक्रमणपछि उनको पेरिसको तेस्रो भ्रमण हो । -रासस/एपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *