केन्द्रीय समितिमा महरले भने- प्रतिवेदन लेखनमा छलफल भएन, मेरो फरक प्रस्ताव आउँछ (भिडिओ) – Nepal Press

केन्द्रीय समितिमा महरले भने- प्रतिवेदन लेखनमा छलफल भएन, मेरो फरक प्रस्ताव आउँछ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले प्रस्तावहरू केन्द्रीय सदस्यसँग छलफल नगरी तयार भएको बताए ।

‘पहिलो कुरा, पार्टीकातर्फ बाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भनेपनि आजसम्म संयोजकबाहेक केन्द्रीय सदस्यसँग छलफल भएन,’ उनले भने, ‘ महासमितिमा केन्द्रीय समितिका रूपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन,’

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शमाले सांगठनिक प्रतिवेदन निर्माणका लागि समितिसमेत नबनाएको उनको आरोप थियो ।

महरले उपसभापति खड्काले प्रस्तुत गरेका नीति प्रस्तावमा इतिहासको कुरामात्र आएको भन्दै नयाँ कुरा समेट्नुपर्नेमा जोड दिएका छन् । उनले आफू भ्रातृ संस्थाको अनिवार्य निर्वाचनको पक्षमा रहेको भन्दै निर्वाचनले आन्तरिक लोकन्तत्रलाई बलियो बनाउने बताए ।

नेता महलले महामन्त्री थापाको सांगठनिक प्रस्तावमा सभापतिलाई शक्तिशाली बनाउने गरी आएको प्रस्तावमा विमति राखेका छन् ।

‘महामन्त्रीको सांगठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनीत गर्ने कुरा मेरो विमति छ । समाजवादी र माओवादीसमेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित कमिटी बन्नुपर्छ,’ उनले भने ।

महाधिवेशन प्रतिनिधि निर्वाचन लडेर क्षेत्रबाट आउनुपर्ने महरको प्रस्ताव छ । पालिका पार्टी सभापतिलाई प्रदेश कमिटीको निर्वाचनमा स्वतः प्रतिनिधि हुने व्यवस्था गर्नुपर्ने, पार्टीमा वर्गीय र महिलाको प्रतिनिधित्व ५० प्रतिशत गर्नुपर्ने उनको सुझाव छ ।

हरेक चार वर्षमा कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने प्रवन्ध वैधानिक रुपमा गर्नुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसमा अवसरको न्यायोचित वितरण ठूलो समस्या देखिएको भन्दै तीन पटक उम्मेदवार हुने व्यक्तिले मैदान छाडेर नयाँलाई अवसर दिनुपर्ने उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर