पैदल यात्रामा काठमाडौँ हिँडेका मिटरब्याज पीडितमाथि मनहरीमा आक्रमण, १६ घाइते – Nepal Press

पैदल यात्रामा काठमाडौँ हिँडेका मिटरब्याज पीडितमाथि मनहरीमा आक्रमण, १६ घाइते

हेटौँडा । गत माघ १६ गते झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि यात्रामा निस्केका मिटरब्याज पीडितमाथि मकवानपुरमाको मनहरी गाउँपालिकामा आक्रमण भएको छ ।

आक्रमणमा १६ जना मिटरब्याज पीडित घाइते भएका छन् । घाइतेहरूको चितवन स्थित मेडिकल कलेजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

रड, बियरको बोतल तथा भाँडाहरू प्रयोग गरी केहि व्यक्तिहरूले आक्रमण गरेपछि १६ जना घाइते भएका हुन् । घाइतेहरू कसैको खुट्टा, कसैको हात र कसैको टाउकोमा गहिरो चोट लागेको छ । घाइते हुनेमा ७० वर्षको वृद्धदेखि महिलासम्म रहेका छन् ।

आफूहरू चुपचाप लाइनबद्ध ढङ्गबाट सडकको एक कुनाबाट हिँडेको अवस्थामा एउटा स्कुटरले ठक्कर दिएको र केहि विवाद भएपछि केहि युवाको समूह छेकेर आक्रमण गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए ।

आफूले आक्रमण नगर्न हात जोडेर प्रयास गर्दा पनि मादक पदार्थ सेवन गरेर आएका आक्रमणकारी युवाहरूले आफूहरूको आग्रहलाई वास्ता नगरी रड, खुकुरीले समेत आक्रमण गरेको उनको भनाई छ । आक्रमणको कारण स्वयम् आफ्नो पनि टाउकोमा चोट लागेको उनले बताए ।

आक्रमणबाट देवकुमार चौधरीको औला भाँचिएको, राकेश चौधरीको टाउकोमा गम्भीर चोट लागेको, तैयब अलिको खुट्टामा गहिरो चोट लागेको, यस बाहेक दुखनी महतो, रुन्ची दास लगायतको १६ जना घाइते भएको उनको भनाई रहेको छ ।

आफूहरू यसै पीडित तरेको यसैमाथि शान्तिपूर्ण आन्दोलनलाई पनि अराजक समूहको नजर लागेको उनको भनाई छ । आफूहरूको र्‍यालीलाई सुरक्षाको लागि सुरक्षा संयन्त्रमा अनुरोध गर्दा समेत वास्ता नगरेको उनको भनाई रहेको छ । घटना हुँदै गर्दा आफूले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको तर प्रजिअले कुनै रेस्पोन्स नगरेको उनको भनाई रहेको छ ।

नेपालप्रेसँग कुरा गर्दै संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले पीडामा परेको नागरिकको विषयमा राज्य गम्भीर नबन्दा घटना घटेको बताए । समितिले जिल्ला जिल्लामा सुरक्षाको लागि अनुरोध गरे पनि सुरक्षा निकायले वास्ता नगर्दा घटना हुनुपरेको उनको भनाई रहेको छ ।

आफूहरू घटनामा उपचार भएकाहरूको निःशुल्क उपचार हुनुपर्ने, घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल आवश्यक कारबाही गर्नुपर्ने पक्षमा रहेको उनले बताए ।

अस्पतालले केहि छुट गरे पनि सबै पैसा नतिरेसम्म पीडितहरू बन्धक रहनुपर्ने अवस्था आएको भन्दै नवीनले सरकारले यो विषयमा गम्भीर चासो लिएर पीडितहरूको निःशुल्क उपचार गर्नुपर्ने बताए ।

घटनाबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले आफूहरू यो विषयमा अनुसन्धानको क्रममा रहेको बताए । दुई समूहबिच भनाभन भएको कारण घटना भएको भन्ने स्थानीयबाट बुझिन्छ, खास विषयबारे हामी चनाखो भएर अनुसन्धान गरिरहेका छौ, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर