‘अध्यक्ष प्रचण्डको आशय नबुझ्नेहरूले वाईसीएल र अखिल क्रान्तिकारी भंग हुने हल्ला चलाएका हुन्’ – Nepal Press
सन्दर्भःमाओवादी विधान सम्मेलन

‘अध्यक्ष प्रचण्डको आशय नबुझ्नेहरूले वाईसीएल र अखिल क्रान्तिकारी भंग हुने हल्ला चलाएका हुन्’

अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनाली भन्छन्- पार्टीमा युवालाई उल्लेख्य स्थान दिन तयार नहुने दल समाप्त हुनेछन्

काठमाडौं । प्रज्ञा भवनमा नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन चलिरहेको छ । देशैभरबाट भेला भएका नेता/कार्यकर्ताहरूले पार्टीको विधान कस्तो हुनु पर्ने भनेर घनिभूत बहस गरिरहेका छन् । अधिवेशनमा सहभागी धेरै सहभागीहरू तथा टोली नेताहरूले पार्टी प्रत्यक्ष निर्वाचनमा जानु पर्ने मत राखी रहेका छन् । तर, पार्टीको विभिन्न जनबर्गीय संगठन र मोर्चाहरूमा लागेका युवाहरूले भने आफ्नो मत कतै पनि राखेको देखिँदैन । पार्टीको विधान अधिवेशन चलिरहँदा युवाहरू किन मौन भनेर नेपाल प्रेसले अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष जीपी मैनालीसँग सोधेको थियो । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी नेपाल टकमा :

– पार्टीको विधान अधिवेशन चलिरहँदा युवाहरू किन मौन छन ?

तपाईंले ध्यान दिएर हेर्नु भयो भने विधान अधिवेशनको हलभित्र होस् वा बाहिर माओवादी केन्द्रको विधान कस्तो हुनु पर्छ भनेर सबैभन्दा धेरै मुखर युवाहरू नै छन् । विधानमाथि टिप्पणी गर्न बनेका टोलीमध्ये अधिकांशको नेतृत्व युवाहरूले गरिरहेका छन् । हिजोमात्रै युवा नेताहरू लेखनाथ न्यौपाने, युवाराज चौलागाई, रञ्जित तामाङ, सरल सहयात्री, माधव सोपकोटा ‘सुबोध’ हरूले उठाएको आवाजले देशैभर तरंग पैदा गरिरहेको छ । युवा नेताहरूले नै विगतको भन्दा सक्रियता र हस्तक्षेपकारी ढंगले आफ्ना कुराहरू सम्बन्धित निकायमा राखिरहेका छन् । त्यसैले तपाईंको प्रश्न माओवादी पार्टीको हकमा मेल खाँदैन ।

– निश्चित विषयमा पार्टीलाई दबाब दिनका लागि युवाहरूको कुनै समूहले काम गरिरहेको छ कि ?

विभिन्न गुट-उपगुटमा विभाजित भएर वा विभिन्न समूह, उप-समूहको घेराभित्र सीमित भएर पार्टीलाई नयाँ गन्तव्यतर्फ डोर्‍याउन सकिँदैन । माओवादी पार्टीभित्रको टुटफुट, विभाजन र गुटगत अन्तरसंघर्षको परिणाम हामीले आफ्नै आँखाले देखेका छौँ । आफ्नै जीवनमा भोगेका छौं । त्यसैले अहिले युवाहरू विभिन्न खेमामा विभक्त नभई एकढिक्का साथ समग्र पार्टी नेतृत्वलाई आफ्नो उद्देश्यबाट विचलित नहुन, पार्टीलाई जनमुखी बनाउन दबाब दिइराखिएको छ ।

– पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी र वाईसीएलको हालको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कमिटीलाई भंग गरिदिने संकेतसमेत दिनुभएको छ । वास्तविकता के हो ?

नेपाली समाज वास्तविकताभन्दा हल्लाको पछि लाग्ने समाज हो । कागले कान लग्यो भन्दा आफ्नो कान छाम्नु भन्दा पहिले कागको पछि दौडिने प्रवृत्ति छ । तपाईंले गरेको प्रश्नमा पनि त्यसकै गन्ध आइरहेको छ । विद्यार्थी र वाईसीएल माओवादी पार्टीका दुईटा त्यस्ता संगठनहरू हुन, जसको काँधमा माओवादी पार्टी उभिएको छ । त्यसैले यसलाई भंग गर्ने प्रश्न नै आउँदैन । सम्माननीय प्रधानमन्त्रीज्यू, पार्टी अध्यक्षले अर्कै सन्दर्भ र प्रसंङ्गमा राख्नुभएको विषयलाई केही सञ्चारमाध्यमहरूले फरक ढंगले प्रस्तुत गर्दा त्यसबाट भ्रममात्रै सृजना भएको हो ।

हाम्रो संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह र वाईसीएल अध्यक्ष सुबोध सिर्पालीले अहिलेसम्म पार्टीको निर्देशन र रणनीतिमा आ-आफ्नो संगठनलाई अघि बढाई नै रहनुभएको छ । त्यसैले पार्टीको विधान अधिवेशन सम्पन्न भएसँगै अखिल (क्रान्तिकारी) पनि आफ्नो विधान सम्मलेनको तयारी लाग्नेछ ।

– पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै तीन दशकदेखि नेतृत्वमा छन्, आगामी महाधिवेशनबाट माओवादी पार्टीमा नेतृत्व परिवर्तन होला त ?

प्रचण्ड बितेको तीन दशकदेखि माओवादी पार्टीको नेतृत्वमा मात्रै छैनन् । उनी बितेको दुई दशकदेखि नेपाली राजनीतिको केन्द्रमा पनि छन् । अहिले जति पनि राजनीतिक मुद्दाहरू स्थापित भएका छन् त्यसमा प्रचण्डको योगदान छ । संविधानसभामार्फत नयाँ संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी/समानुपातिकलगायतका जति पनि मुद्दाहरू स्थापित हुन सकेका छन् त्यो माओवादी आन्दोलनले गर्दा भएको हो । माओवादी विद्रोह, आधुनिक नेपाली राजनीतिको करिब तीन सय वर्षको इतिहासमा सबै भन्दा ठूलो आन्दोलन र विद्रोह थियो । र, त्यसको नेतृत्व प्रचण्डले गरेकै कारण मुलुक यहाँ आइपुगेको हो भन्नेमा कुनै धक मान्नु पर्दैन ।

प्रचण्ड नेपाली राजनीतिको केन्द्रमा भएको धेरै वर्ष भयो त्यसैले उनलाई हटाउनु पर्छ भन्ने कुरा कुनै राजनीतिक एजेण्डा भएन । उनलाई त्यहाँ संघर्ष, बलिदान र समयले पुर्‍याएको हो । उनी हट्नु पर्ने समय आएमा उनी स्वतः त्यहाँबाट बिदा हुनेछन् । तर, तात्कालीन सन्दर्भमा कुरा गर्ने हो भने प्रचण्डलाई नेकपा (माओवादी केन्द्र) मा मात्रै होइन समग्र नेपाली राजनीतिबाटै विस्थापित गर्न सक्ने वा चुनौती दिने शक्ति कोही पनि सतहमा देखिँदैनन् । माओवादी आन्दोलनको आलोचना गर्नेहरूले प्रचण्डको आलोचनामा आफ्नो समय खर्च गर्नुको कारण पनि संघर्षले निर्माण गरेको उनको व्यक्तित्व र राजनीतिक दूरदर्शिता नै हो ।

– अन्त्यमा, पार्टीलाई व्यवस्थित बनाउन निर्वाचन प्रक्रियामा जानु पर्छ भन्ने मतमा तपाईंले मत के हो ?

नेपालमा राजनीतिक दलहरूको इतिहास धेरै लामो छैन । लोकतान्त्रिक अभ्यासमा प्रवेश गरेको पनि खासै समय भएको छैन । तर, जति पार्टीहरू अहिलेसम्म अस्तित्वमा छन् ती सबैमा माओवादी पार्टी नवीन सोचका हिसाबले उन्नत छ । हामीलाई के विश्वास छ भने पार्टीका नेताहरूमा इतिहासबोध छ । उहाँहरूमा इतिहासले सुम्पिएको दायित्व र जिम्मेवारी पूरा गर्ने क्षमता छ ।

संविधानलाई पूर्ण कार्यान्वयन गर्दै, नेपाली जनताको आकांक्षा र सपनालाई समाजवादसम्म लैजानका लागि भावि दिनहरूमा माओवादी पार्टी कस्तो हुनुपर्छ भन्ने विषयमा हामी भन्दा धेरै उहाँहरू चिन्तित हुनुहुन्छ । विधान अधिवेशनको हलमा बस्दै गर्नुभएका सबै नेतृत्व र प्रतिनिधिहरूले नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई केन्द्रमा राखेर जनताका अधिकार स्थापित गर्नका लागि गरिने संघर्षको उच्चतम उत्कर्षमा पुग्नेसम्मको विधान बनाउनु हुनेछ । भन्नेमा म र मेरो संगठन विस्वस्त छ । तर, एउटा कुरा के हो भने माओवादीमा मात्रै होइन सबै दलहरूले बदलिँदो परिस्थितिलाई आत्मसाथ गरी युवाहरूलाई पार्टीमा उल्लेख्य स्थान नदिने हो भने नेपाली राजनीतिको सतहमा क्रिया-प्रतिक्रिया जनाइरहेका दलहरू समाप्त भएर जाने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर