आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल दिन पाउने व्यवस्था लागू गर्न सतर्कता केन्द्रको निर्देशन – Nepal Press

आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल दिन पाउने व्यवस्था लागू गर्न सतर्कता केन्द्रको निर्देशन

लुम्बिनी प्रदेश र मधेश प्रदेशबाट कार्यान्वयनको सुरुवात

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै सवारी साधन प्रयोग गरेर ट्रायल दिन पाउने व्यवस्था लागू गर्न सात वटै प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लगायत कुनै पनि कानूनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने कुनै किसिमको बाध्यकारी व्यवस्था नभएको भन्दै केन्द्रले यस्तो निर्देशन दिएको हो ।

सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल दिँदा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गरी परीक्षा दिनबाट वञ्चित गरिएको र प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गरी परीक्षा दिन बाध्य पार्ने तथा त्यस बापत प्रशिक्षण केन्द्रले मनोमानी रूपमा शुल्क असुल्ने गरेको केन्द्रमा उजुरी परेपछि केन्द्रले सात वटै प्रदेश सरकारलाई यस्तो निर्देशन दिएको थियो ।

आम परीक्षार्थीको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र कार्यान्वयन भएको जानकारी केन्द्रलाई पठाउन केन्द्रले सचिव स्तरीय निर्णय गरेर निर्देशन दिएको केन्द्रका सचिव रामआधार साहले नेपाल प्रेससँग बताए ।

सतर्कता केन्द्रको निर्देशन लगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई आम परीक्षार्थीको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिइसकेको मधेश प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेले नेपाल प्रेससँग बताए ।

मुख्यमन्त्री कार्यालयको निर्देशन लगत्तै उक्त निर्णय कार्यान्वयन गर्नका लागि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले पनि प्रदेश मातहतका सबै यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिइसकेको मन्त्रालयका सचिव सुरेन्द्र पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

केन्द्रकै निर्देशन अनुसार लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि उद्योग तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन कार्यान्वयनमा लागि निर्देशन दिइसकेको लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्यालले नेपाल प्रेससँग बताइन् ।

मुख्यमन्त्री कार्यालयको निर्देशन अनुसार नै मन्त्रालयले सबै यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने व्यवस्था कार्यान्वयनमा लागि निर्देशन दिएर कार्यान्वयनमा आइसकेको मन्त्रालयका सचिव उमेश ढुंगानाले नेपाल प्रेससँग बताए ।

गत माघ ५ गते केन्द्रका सचिव रामआधार साहको अध्यक्षतामा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, ट्राफिक प्रहरी, प्रधानमन्त्री कार्यालयका उपसचिवदेखि केन्द्रका सहसचिवसमेतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *