एमाले जिल्ला अधिवेशनको ८ बुँदे ब्रिफिङ–अन्य जिल्लालाई उपयोगी हुनसक्छ दोलखा मोडल – Nepal Press

एमाले जिल्ला अधिवेशनको ८ बुँदे ब्रिफिङ–अन्य जिल्लालाई उपयोगी हुनसक्छ दोलखा मोडल

अधिवेशन स्थलबाट नेतृत्व छनोट गरेर दोलखा एमाले बाहिर निस्कँदा चिरा चिरा परेर गाउँ पस्छ भन्नेहरूको अनुमान पूर्णतः गलत सावित भएको छ । विग्रहको आगो तल तल दन्कन्छ र नेताहरू छताछुल्ल भएर खेमा खेमामा विभाजित भएको फाइदा उठाउन सकिन्छ कि भन्नेहरू पनि एकताबद्ध एमाले पंक्ति देखेर अचम्मित छन् । कुरा नमिलेर अधिवेशन विथोलियोस्, नेताहरूको झम्टाझम्टी होस् र गलत सन्देश फैलियोस् भन्नेहरूको मुखमा पनि बुझो नै लागेको छ । प्रतिनिधिहरूले फेसबुकमा असन्तुष्ट लेखून् र त्यसमा झन आक्रोशित हुनेगरी प्रतिक्रिया दिँदै सन्काइदिन सकिन्छ कि भन्नेहरू पनि चुपचाप देखिन्छन् ।

नेकपा एमाले, दोलखाको १०औं अधिवेशन कुनै न कुनै कोणबाट गडबडी होस् र जनतामा निरासा छाओस् भन्ने दक्षिणपन्थी अवसरवादी र सांगठनिक अराजकताका हिमायतीहरूको सपना तुहेको छ । प्रतिनिधिहरूको उच्च कम्युनिष्ट आचरण र पार्टीप्रति अथाह आस्था र विश्वासका कारण अधिवेशन भव्य, सभ्य र जनताको जनवादी अभ्यासबाट सम्पन्न भएको छ । लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै कुनै पनि उम्मेदवार वा प्रतिनिधिहरू खुशी र एकताको सन्देश बोकरे गाउँबस्ती फर्किएका छन् ।

धादिङ जिल्ला अधिवेशनमा भएको गडबडीबाट नेकपा एमालेको ठूलो पंक्ति सशंकित थियो । अधिवेशनको अन्तिम तयारीमा आइपुग्दा दोलखामा पनि नेता, कार्यकर्ताहरू खेमाहरूमा विभाजित नभएका हैनन् । प्रतिनिधि छनोट प्रक्रिया पनि यदाकदा खेमा खेमामा उभिएको छनक नदेखिएको हैन । त्यसका बाबजुद पनि प्रतिनिधि छनोट प्रक्रिया अति नै उच्च राजनीतिक संस्कारबाट सम्पन्न हुनु नै अधिवेशन भव्य र सभ्य हुनमा मद्दत पुगेको ठम्याइ छ । अति नै सुन्दर व्यवस्थापनमा उत्साहजनक ढंगले अधिवेशन सम्पन्न भएपछि अधिवेशन गर्ने ‘दोलखाको मोडल’ जान्न उत्सुक भएको खबरहरू आउन थालेको छ । किनकि एमालेले देशभरका जिल्ला अधिवेशनहरू गर्दैछ ।

कुनै पनि बेला केही न केही अप्ठेरो परिस्थिति आउन सक्ने अनुमान गरिएको दोलखाको अधिवेशन उत्कृष्ट व्यवस्थापनमा सम्पन्न हुनुमा केही पूर्वतयारी र प्रयास भएका थिए ।

प्रतिनिधि व्यवस्थापन मोडल

अधिवेशनहरूको महत्त्वपूर्ण व्यक्ति प्रतिनिधि हुन् । सो छनोटमा खराब नियत र गडबडी गरिन खोज्दाको असर अधिवेशनका विभिन्न प्रक्रियामा पर्छ । सक्रिय राजनीतिभन्दा बाहिर (तेस्रो पक्ष) निर्वाचन अधिकृत तोकी नीति, नियम र अभ्यासलाई पूर्णत पालना गर्दै प्रतिनिधि छनोट भै आउनु नै अधिवेशन सफलताको पहिलो कडी हो । छनोट भै आएको विवरणलाई कागजी र डिजिटल ढाँचामा अभिलेख राखिने व्यवस्था गरिएकाले पनि पारदर्शितामा कुनै शंका रहेन । ढड्डाहरूमा फोटोसहितको विवरण सूची बनाउँदै छनोट भएका प्रतिनिधिले डिजिटल प्लाटफर्ममा दर्ता गरिने व्यवस्था नै यस वर्षको उत्कृष्ट प्रतिनिधि व्यवस्थापन भएको ठहर छ ।

नेकपा एमाले, दोलखाको १०औं अधिवेशन कुनै न कुनै कोणबाट गडबडी होस् र जनतामा निरासा छाओस् भन्ने दक्षिणपन्थी अवसरवादी र सांगठनिक अराजकताका हिमायतीहरूको सपना तुहेको छ । प्रतिनिधिहरूको उच्च कम्युनिष्ट आचरण र पार्टीप्रति अथाह आस्था र विश्वासका कारण अधिवेशन भव्य, सभ्य र जनताको जनवादी अभ्यासबाट सम्पन्न भएको छ ।

प्रतिनिधि दर्ता प्रक्रियामै यो वा त्यो नहेरी नियमपूर्वक कार्य गर्दा केही दबाब आएका थिए । तर, प्रतिनिधि व्यवस्थापन समितिले निस्वार्थ निर्णय लिने अठोट र अडान लिँदा प्रश्न उठाउने पक्ष पनि सहमत भै निष्पक्ष निर्णयको पक्षमा उभिनु अधिवेशन सफल हुनुको कारणमा पर्छ । डिजिटल डेटा छानबिन हुँदा एक व्यक्तिले १७ वटासम्म फेक (झूटो) विवरण भरेर अधिवेशनमा भाडभैलो मच्चाउन गरेको प्रयासलाई पहिचान गरी सही डेटाहरू स्क्रिनिङ गरिनु टीमको सफलता मानिएको छ ।

डिजिटल प्रविधिको प्रयोग

दोलखाको निर्वाचनमा पहिलो पटक सूचना प्रविधिको प्रयोग सफल भयो । मतदान गर्न उभिएको व्यक्तिका परिचयपत्रमा रहेको क्युआर स्क्यान गरेर स्क्रिनमा फोटो र विवरण दुरुस्त भएपछि मात्र मतदान गर्न पाउने व्यवस्थाले फर्जी मत खस्ने सम्भावना रहेन । धाँधली हुनसक्ने कुनै पनि कारण नदेखेपछि उम्मेदवारले सहजै नतिजा स्वीकारेका छन् । दोलखा एमालेको ९औं जिल्ला अधिवेशनपछि नतिजाको विषयमा फेसबुक र अन्य फोरममा जति असन्तुष्टि प्रकट भएका थिए, यस वर्ष विल्कुलै भएन । त्यस अर्थमा पनि यो अधिवेशन पूर्ण रूपमा सफल र उत्साहजनक रह्यो ।

प्रतिनिधि मनोनीतमा समेट्ने प्रयास

प्रतिनिधि मनोनीत हुँदा एकलौटी गरिएला भन्ने अनुमान गलत सावित भयो । अधिवेशनमा सहभागी ५९४ प्रतिनिधिमा विधानअनुसार ३० जना मनोनीतको व्यवस्था थियो । सदस्य संख्याको अनुपातमा २१ जना प्रतिनिधि पालिका कमिटीहरूलाई नै सिफारिस गर्ने व्यवस्था गर्नु नै सबैभन्दा बुद्धिमानी भयो । बाँकी ९ जना प्रतिनिधि अध्यक्ष पदका उम्मेदवारहरूको सिफारिसमा गरिनु अर्को समझदारीको अभ्यास सावित भयो । यी सबै प्रयासमा जिल्ला र पालिका इन्चार्जहरूसहितको जिल्ला संयन्त्रको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

वैचारिक र अनुशासित कार्यकर्ता पंक्ति

एमालेको बलियो पक्ष वैचारिक र अनुशासित कार्यकर्ता पंक्ति नै हो । यो पंक्ति न कुनै स्वार्थमा डुब्छ न त कुनै गुटबन्दीबाट प्रभावित हुन्छ । न पार्टी सरकारमा पुग्दा फुर्कन्छ न त सरकारबाट बाहिरिँदा आत्तिन्छ । सिद्धान्त र विचारको भट्टीमा खारिएको ताकतदार पंक्तिहरूको अविचलित योगदानको उपज यो अधिवेशनमा पनि झल्कियो । नेकपाको स्थापनादेखि अग्रज नेताहरूले सिकाएको संस्कार दोलखाका कम्युनिष्टहरूमा कायमै रहेको सन्देश अधिवेशनले दिएको छ ।

व्यक्तिगत इगोले सिर्जित गुटहरू कम्युनिष्ट पार्टीभित्र सुहाउने विषय हैन । यो अधिवेशनले व्यक्तिगत टक्करले स्थापित गर्न खोजिएको गुटलाई परास्त गरेकोको छ । पार्टीगत हितमा आमकार्यकर्ता स्पष्ट उत्रिए । नेता जोगाउनभन्दा पनि पार्टी जोगाउन प्रतिनिधिहरू स्पष्ट उत्रिएकै कारण अधिवेशन भव्यसाथ सम्पन्न भयो ।

एकताको अधिवेशनको सन्देश प्रवाह

गुटबन्दीले पार्टीमा धक्का दिइरहेको अनुभूति गरिरहेका प्रतिनिधिहरूले ‘एकताको अधिवेशन’को रटान गरिरहे । ‘नेताहरूले बिगारे पनि हामीले पार्टी जोगाउनु पर्छ’ भन्ने अठोट गरिरहे । अधिवेशन उद्घाटन मन्तव्यमा पार्टी महासचिव शंकर पोखरेलले ‘एकताको नारा दिएर शुरू भएको यो अधिवेशन एकताको सन्देश दिएर सम्पन्न होस्’ भनेको कुरालाई प्रतिनिधिले गहिरोसँग मनन गरे । एकताको नाराभित्र समेटिएका गुटको अन्त्य, भद्र र सालिन प्रस्तुति, त्यागको भावना, अग्रज नेताको सम्मान र वामपन्थी एकताको भाव झल्कनुपर्छ भन्ने आग्रह प्रतिनिधिहरूले आत्मसात गरेकाले अधिवेशन भव्यतापूर्वक सफल भयो ।

सबैलाई जिम्मेवारी दिने उदारता

अधिवेशनका क्रममा सबैलाई कार्य बाँडफाँट भयो । कोही जिम्मेवारीबाट विमुख भएनन् । सबैले काम देखाउने र योगदान गर्ने वातावरण बन्यो । आयोजकहरू सबै क्रियाशील भएको देखेर ‘एकताबद्ध एमाले’को सन्देश फैलियो, जुन अधिवेशन हलमा पनि देखियो ।

गुटबन्दीलाई दबाउने प्रयास

गुटबन्दीलाई सतहमा ल्याउने प्रयास प्रतिनिधिको बलले दबियो । कम्युनिष्ट पार्टीमा विचारको बहसमा गुटबन्दी हुनु स्वाभाविक मानिन्छ । आफ्नो विचारलाई स्थापित गर्न कम्युनिष्ट पार्टीभित्र चर्को गुटगत बहस हुने गर्छ । त्यस्ता गुटगत बहसहरूले कतिपय अवस्थामा फाइदा पुगेको छ, कतिपय अवस्थामा दुर्घटना भएको तीतो इतिहास छ । तर, व्यक्तिगत इगोले सिर्जित गुटहरू कम्युनिष्ट पार्टीभित्र सुहाउने विषय हैन । यो अधिवेशनले व्यक्तिगत टक्करले स्थापित गर्न खोजिएको गुटलाई परास्त गरेकोको छ । पार्टीगत हितमा आमकार्यकर्ता स्पष्ट उत्रिए । नेता जोगाउनभन्दा पनि पार्टी जोगाउन प्रतिनिधिहरू स्पष्ट उत्रिएकै कारण अधिवेशन भव्यसाथ सम्पन्न भयो ।

नतिजा स्वीकार्ने लोकतान्त्रिक अभ्यास

पार्टीको अघिल्लो जिल्ला अधिवेशनमा भन्दा १०औं अधिवेशनको फरक नै यही हो । नतिजालाई सहर्ष स्वीकार गरेको दृष्टान्त सामाजिक सञ्जालमा प्रस्तुत अभिव्यक्तिहरूले दिन्छ । जीतमा अति नै उत्तेजित हुने र हारमा अति नै निरास भएर अरूलाई गाली गर्ने पुरानो प्रवृत्ति यस पटक दोहोरिएन । सामाजिक सञ्जालमा अति नै सभ्य र सिद्धान्तनिष्ठ पोस्टहरू भए । प्रतिस्पर्धीहरू एकापसमा हात मिलाएर जीत साटासाट गरेको देखिए । पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास र त्यसलाई स्वीकार गर्ने परिपाटी नै यो अधिवेशनले दिएको सबैभन्दा राम्रो सन्देश हो ।

यो अधिवेशनको थप विशेषता छोटो र चुस्त उद्घाटन कार्यक्रममा सीमित वक्ताले सकारात्मक मन्तव्य दिनु पनि हो । धादिङ एमाले अधिवेशनबाट झस्किएका नेताहरूले दोलखामा अपनाएको सचेतता अर्को पक्ष हो । पार्टी महासचिवले दोलखाका नेताहरूलाई दिएको निर्देशन र त्यसको पालना पनि हो । दोलखाका अगुवा नेताहरूको सौहार्दपूर्ण संवाद र समझदारी अनुकरणीय बन्यो । यस्ता धेरै अनुकरणीय उदाहरण बन्दै सबैको साझा प्रयासले एमाले दोलखाको १०औं अधिवेशन ऐतिहासिक रूपमा भव्यसाथ सम्पन्न भएको छ । दोलखा अधिवेशनको सिकाइबाट देशभर हुने एमाले जिल्ला अधिवेशनहरू सफल हुन सक्नेछ ।

(मानन्धर नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *