प्रधानमन्त्री कार्यालयमा एमाले र मुख्यसचिवसहित प्रशासनिक नेतृत्वबीच बैठक, मध्यपहाडी विकास आयोजना बारे छलफल – Nepal Press

प्रधानमन्त्री कार्यालयमा एमाले र मुख्यसचिवसहित प्रशासनिक नेतृत्वबीच बैठक, मध्यपहाडी विकास आयोजना बारे छलफल

काठमाडौं । नेकपा एमालेको प्रतिनिधिमण्डल र सरकारका मुख्यसचिवसहित प्रशासनिक निकायका पदाधिकारीहरुबीच सिंहदरबारमा छलफल भएको छ ।

छलफलपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्य पहाडी क्षेत्रमा नै भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिने गरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।

उनले संकल्प यात्राका क्रममा मध्य पहाडी लोकमार्ग क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको भन्दै त्यस्ता खालका असन्तुलन रोक्नको लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन सचिवहरूलाई आग्रह गरे ।

सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले सरकारले मध्यपहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङसम्मकै डिपिआर परिमार्जन गर्न आवश्यक रहेको बताए ।

डिपीआर परिमार्जन गर्दा अनावश्यक रूपमा घुमेका मार्गलाई करेक्सन गर्न पनि आवश्यक देखिएको भन्दै करेक्सन गर्दा केही दूरी कम हुने उनको भनाई छ ।

मध्य पहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्ने बताए ।

पौडेलले मध्य पहाडी लोक राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्यपूर्वका जिल्लावासीहरू काठमाडौं आउँदा मध्य पहाडी लोकमार्ग प्रयोग गर्नसक्ने अवस्था रहेको बताए । उनले मध्य पहाडी क्षेत्रको विकासमा सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गर्न माग गरे ।

मध्यपहाडी क्षेत्रमा सिंचाई, खानेपानी,कृषि,फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक देखिएको उल्लेख गर्दै पौडेलले मध्य पहाडको विकासको मुद्दालाई सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

छलफलमा सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले एमालेले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्य पहाडी क्षेत्र र आसपासका ठाउँहरूको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्न सचिवहरूलाई निर्देशन दिए । उनले मध्य पहाडी लोकमार्गको विषयमा आएका सुझावलाई अध्ययन गरेर मन्त्रालयगत गर्नुपर्ने आवश्यक निर्देशन मन्त्रीबाट लिएर अगाडि बढ्न सचिवहरूलाई आग्रह गरे ।

नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्यही विषयमा मन्त्रालयगत रूपमा कार्यान्वयनको लागि आवश्यक छलफल गरेको छ । ध्यानाकर्षण पत्रमा सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर