माओवादीमा सुझाव- चुनाव चिह्न फेरौं, स्थायी कमिटी विधानबाट हटाऔं – Nepal Press

माओवादीमा सुझाव- चुनाव चिह्न फेरौं, स्थायी कमिटी विधानबाट हटाऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीलाई संघीयताको मर्मअनुसार सञ्चालन गर्दै छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव दिएका छन् । समूहगत छलफलपछि आज भएको बैठकमा हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

उनले भने, ‘पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्छ । प्रदेशलाई थप अधिकार दिनुपर्छ ।

पार्टीलाई जनतासमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरिएको नेता दिलीपकुमार प्रजापतिले बताए । उनले जातीय छुवाछूतलाई गम्भीर अपराधको रुपमा राख्नुपर्ने सुझाव दिए ।

केन्द्रीय सदस्यको संख्या सकेसम्म कम गर्नुपर्ने सुझाव रहेको उल्लेख गर्दै उनले पूर्णकालीन पार्टी सदस्यको व्यवस्था स्पष्ट रुपमा व्यवस्था गर्न सुझाव दिए ।

यस्तै पार्टीलाई विधिगत रुपमा सञ्चालनका लागि विधानलाई पारित गरेर कार्यान्वयनमा लैजान नेता कुमार पौडेलले सुझाव दिए । सत्ता सञ्चालन गर्नुपर्ने व्यवस्था गर्न विधान गर्नुपर्ने सुझाव दिँदै उनले घाइते तथा पूर्वजनमुक्ति सेनालाई विशेष व्यवस्था गर्नुपर्ने बताए ।

पार्टी एकता, आन्तरिक मूल्यांकन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने नेता परशुराम रम्तेलले सुझाव दिए । चुनाव चिह्न फेर्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उनले विश्वभरका नेपालीलाई समेट्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

विधानलाई छरितो बनाउनुपर्ने उल्लेख गर्दै नेता वामदेव क्षेत्रीले प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी विधान हुनुपर्ने बताए । पार्टीका सदस्यभन्दा पनि पार्टी शुभचिन्तकको अध्यक्षमा अनुशासन समिति बनाएर शक्तिशाली बनाउनुपर्ने सुझाव पेश गरे ।

हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्यता प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव पेश गरे । आयोगलाई शक्तिशाली बनाउनुपर्ने र सबै पार्टी समितिलाई सानो र छरितो बनाउनुपर्ने सुझाव दिए ।

अधिवेशनबाट पार्टी विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव प्रस्तुत गर्दै आयोगलाई क्रियाशील बनाउनुपर्ने नेता रञ्जित तामाङले सुझाव दिए । सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्नेमा उनको जोड छ ।

वैज्ञानिक समाजवादमा जानेगरी प्रस्तावना लेखिनुपर्ने नेता झक्कुप्रसाद सुवेदीले बताए । नागरिकता पाएपछि पार्टी सदस्यता दिनुपर्ने व्यवस्था गर्न र स्थायी समिति हटाउन सुझाव प्राप्त भएको उल्लेख गरे ।

निर्मल आचार्यले पार्टी सदस्य अनलाइनमार्फत नवीकरण गर्नुपर्ने व्यवस्था गर्ने र पार्टीलाई प्रविधियुक्त बनाउनुपर्ने सुझाव पेश गरे । स्थायी समिति विधानमा राख्न नपर्ने सुझाव रहेको उल्लेख गर्दै उनले पार्टी संरक्षक समिति बनाउनुपर्ने बताए ।

ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बताए । केन्द्रीयसहित सबै समितिलाई छरितो बनाउन एवं जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने उनको भनाइ छ ।

हालसम्म १० समूहले विधानमाथि सुझाव पेश गरिसकेका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर