चितवनको राप्ती नगरमा ८ महिनादेखि बैठक नबोलाएपछि आन्दोलित भए जनप्रतिनिधि – Nepal Press

चितवनको राप्ती नगरमा ८ महिनादेखि बैठक नबोलाएपछि आन्दोलित भए जनप्रतिनिधि

चितवन । राप्ती नगरपालिकाको कार्यपालिका बैठक नगरप्रमुखले ८ महिनासम्म पनि नबोलाएपछि यहाँका जनप्रतिनिधि नै आन्दोलित भएका छन् ।

चितवनको राप्ती नगरपालिकामा नगरप्रमुखले बैठक नै नबोलाएपछि यहाँका ६२ जना जनप्रतिनिधिले बैठक बोलाउन लिखित माग गरेका हुन् ।

गत पुस १८ गते कार्यपालिकाको बहुमत सदस्यले कार्यपालिका बैठक बोलाउन माग गरी निवेदन दिए पनि बैठक नबोलाएको भन्दै आज १३ वटै वडाका वडाध्यक्षसहितका जनप्रतिनिधिले बैठकको माग गरेका राप्ती नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष केदार आचार्यले जानकारी दिए ।

नगर कार्यपालिकाको बैठक नराखी विषयगत निर्णय आफूखुसी गराएको जनप्रतिनिधिहरूको आरोप छ ।

राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा नेकपा समाजवादीका हुन् ।

नगरको अधिकांश वडा नेकपा एमालेले जितेको छ । निर्वाचित जनप्रतिनिधि पनि ३ जना मात्रै नेकपा समाजवादीका छन् । नगरको कार्यपालिका बैठकमा आफू अल्पमतमा पर्ने भएकोले नगरप्रमुखले बैठक नबोलाएको उनीहरूको आरोप छ ।

आज जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिई एक हप्ता भित्र नगर बैठक बोलाउन उनीहरूले माग गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नगर कार्यविधि अनुसार महिनाको एक पटक कार्यपालिका बैठक बसेर नगरको महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गराउनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर