माओवादीको प्रस्तावित मस्यौदा विधानमाथि बुधबारसम्म समूहगत छलफल हुने – Nepal Press

माओवादीको प्रस्तावित मस्यौदा विधानमाथि बुधबारसम्म समूहगत छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको मस्यौदा विधानमाथि बुधबार दिउँसो १ बजेसम्म समूहगत छलफल हुने भएको छ । अधिवेशनको उद्घाटनपछि प्रचण्डले मस्यौदामाथि छलफल गर्न २० वटा समूह विभाजन गरेका छन् र समूहगत छलफल सकिएपछि मात्रै बैठक बस्ने उनले जानकारी गराएका छन् ।

समूहगत छलफल सकिएपछि भोलि दिउँसो १ बजेपछिबाट बैठक सुरु हुनेछ । अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन् । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारी सहभागी छन् ।

पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक विधान बनाउन अधिवेशन गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवहरु सुरेन्द्र कार्की र गणेश साह सदस्य थिए ।

समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो । प्रस्तावित विधानमा गत माघ २६ र २७ गते पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो ।

गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो ।

छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई संक्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डले स्वयंले पार्टीको सबै कमिटीमा प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर