मेरो वक्तव्यले देश ठप्प हुने स्थिति बनाउन सहयोग गर्नेहरू तर्क र तथ्यसहित आए नेतृत्व छाड्छु: प्रचण्ड (भिडिओ) – Nepal Press

मेरो वक्तव्यले देश ठप्प हुने स्थिति बनाउन सहयोग गर्नेहरू तर्क र तथ्यसहित आए नेतृत्व छाड्छु: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहयात्रीहरु तथ्य र तर्कसहित आए आफू पार्टीको नेतृत्व छाड्न तयार भएको बताएका छन् । उनले पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमाओवादी घटक अब एक हुन ढिलो गर्न नहुने बताए ।

उनको भनाइ जस्ताको तस्तैः

माओवादी मोर्चाका सबै समूहलाई एउटै केन्द्र र मोर्चामा एकताबद्ध हुन अपिल गर्छु । अब ढिलो नगरौं, जति ढिला भयो, त्यति क्षति हुन्छ । यो राजनीतिक रुपमा घाटा हुनसक्छ । आउनुस् बसौं, समीक्षा गरौं, खुला कम्युनिष्ट मनले आत्मालोचना र आलोचना गरौं । एक भएर प्रतिवाद गर्‍यौं भने जनयुद्धको उपलब्धिको रक्षामात्र होइन, हामीले आँट गर्दा समाजवादी क्रान्तिको लहर सिर्जना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । 

मलाई तपाईं अहिले जहाँ भए पनि हिजो माओवादी युद्धका सहयात्रीहरु मलाई स्थापित गर्न सहयोग गर्नुभयो । र, हिजो कुनै बेला प्रचण्डको एउटा सानो वक्तव्यले देश नै ठप्प हुने स्थिति बनाउन योगदान छ । मैले जीवनको उत्तरार्द्धमा पनि देशलाई नयाँ क्रान्तितिर लैजाने संकल्प गरेको छु । कोही कमरेडहरू तर्क र तथ्यसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन । यो कुरा म प्रस्ट भन्छु । 

आउनुस्, अहिले प्रतिक्रिया र प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोज्दैछन्, त्यसको प्रतिवाद गरौं । हामी सबै एक हौऔं । अहिले सबै राम्रो छ । हामीले एकातिर समाजवादी मोर्चा बनाएका छौं अर्कोतिर समान विचार भएको पार्टी एक हुने कोसिस पनि गरिरहेका छौं । त्यसकारणले यो अवसर हो, सबै क्रान्तिकारीहरु एक ठाउँमा हुने । अहिले पार्टी र सरकारको मोर्चाबाट समाजवादको नयाँ अभियान सुरु गर्ने जमर्को गरेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर