रागश्रीको आयोजनामा बुटवलमा ‘एक चिहान’ नाटक मञ्चन हुने – Nepal Press

रागश्रीको आयोजनामा बुटवलमा ‘एक चिहान’ नाटक मञ्चन हुने

रुपन्देही । संगीत र कलाको प्रवर्द्धन गर्दै आइरहेका कलाकार सुरेश सेन्चुरीको संयोजनमा बुटवलमा नाटक ‘एक चिहान’ मञ्चन हुने भएको छ । लेखक हृदय चन्द्रसिंह प्रधान तथा निर्देशक नकुल पौडेलको नाटक ‘एक चिहान’ फागुन पहिलो साता बुटवलमा मञ्चन हुने भएको हो ।

सोमबार पत्रकार सम्मेलन गरी संगीतालयका अध्यक्ष सुरेश सेन्चुरीले विद्यार्थीहरूलाई लक्षित गरी नाटक मञ्चन गर्न लागेको बताए ।

बुटवल पाथ वे को प्रायोजन तथा रागश्री संगीतालयको आयोजनामा फागुनको ३ देखि ५ गतेसम्म नाटक मञ्चन हुने भएको हो । यसअघि बौलाहाकाजीको सपना समेत नाटक देखाउँदा धेरैको माग अनुसार तयारी गरी कक्षा १२ को नेपाली पाठ्यक्रममा रहेको एक चिहानलाई मञ्चनको तयार गरेको उनले बताए ।

काठमाडौंमा १५१ पटक मञ्चन भएको तथा नारायणगढ लगायत देशका धेरै स्थानमा देखाइएको यो बुटवलमा मञ्चन गर्न लागेको उनले बताए ।

कार्यक्रममा संगीतालयका सदस्य माधव भण्डारीले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ३ दिनसम्म चल्ने बताए । कलाकारहरू १६ जनामध्ये ११ जना काठमाडौँबाट आउने उनले बताए । एक पटकमा ८ सय क्षमता रहेको हलमा डेढ घण्टाको नाटक दैनिक ३ शो देखाइने उनले बताए ।

दैनिक बिहान साढे ८, दिउँसो १ र ४ बजे गरी ३ शो गरिने छ । कक्षा १२ का विद्यार्थीलाई लक्षित गरेर तय गरिएको यो प्रस्तुतिमा यो क्षेत्रमा रहेका सबै शैक्षिक संस्थाबाट सहभागिता हुने अपेक्षा आयोजकको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन गरिने यो कार्यक्रमका लागि करिब ९ लाख खर्च हुने र त्यो सहभागीको टिकटबाट व्यवस्थापन हुने अपेक्षा गरिएको संयोजक सेन्चुरीले बताए । मोफसलमा रहेका कलाको संरक्षण र प्रवर्द्धन जरुरी रहेको कलाकार बाबुराम घिमिरेले बताए ।

४ दशकदेखि मोफसलमा रहेर नाट्य विधा सिकाइरहेका उनले तीनै तहका सरकारले कलाको संरक्षण गर्नुपर्ने बताए ।

‘मोफसलमा नाटक मञ्चनको संयोजन गर्नु आफैमा चुनौती हो, यसलाई सबै मिलेर सफल बनाउनुपर्छ’उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर