६ महिनामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ८९ जना पक्राउ – Nepal Press

६ महिनामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ८९ जना पक्राउ

ब्यूरो स्थापनाको पाँच वर्षमा एक हजार ११८ जना पक्राउ

काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा मात्रै मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती मध्ये ६७ जना पुरूष र २२ जना महिला रहेका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा नै जम्मा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ७९ वटा मुद्दा दर्ता भएका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भिमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार यसै अवधिमा १४९ जनालाई अभियोग लागेको छ भने देशभरबाट २३६ जनालाई उद्दार गरिएको छ । उद्दार गरिएकामध्ये १५० महिला, २६ पुरूष र ६० बालिका रहेका छन् प्रवक्ता डीआईजीपी ढकालले बताए ।

मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय अन्तरगत रहनेगरी मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले विशिष्टिकृत इकाईको रूपमा काम गर्दै प्रहरीको दाबी छ । सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममूखी बनाउन ब्यूरोले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

२०७५ सालमा स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोको अहिलेसम्म जम्मा एक हजार ११८ जना पक्राउ गरिसकेको छ । ती मध्ये ७८३ जना पुरूष र ३३५ जना महिला पक्राउ परेका छन् । यसै अवधिमा १ हजार ९१९ जनालाई अभियोग लागेको छ । यसै अवधिमा जम्मा ८९२ मुद्दा दर्ता भएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले मुख्यत मानव बेचबिखन तथा ओसारपसार अपराधको अनुसन्धान तथा नियन्त्रण र पीडितको उद्दार गर्दै आएको व्यूरोले जनाएको छ ।

समस्या सहजीकरण, समन्वय तथा सहकार्य, जनचेतना एवं सशक्तीकरणका कार्यक्रम संचालन, दक्ष जनशक्ति तथा प्रविधिको विकास लगायतका काम पनि व्यूरोले गरिरहेको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताए ।

उनल भने, ‘प्रचलित नेपालको कानुनको अधिनमा रही ब्यूरोले सक्रिय रूपमा काम गर्दै आइरहेको छ । देशभित्र आन्तरिक रुपमा हुने मानव बेचबिखन तथा ओसारपसार र अन्तरदेशीय रूपमा हुने त्यस्ता घटनाको प्रभावकारी अनुसन्धान गर्दै संलग्न व्यक्ति र समूहलाई कारवाहीको दायरामा ल्याइएको छ ।

तर हाल प्रचलित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा मानव तस्करी र वाध्यकारी श्रम (श्रम शोषण) समेटिन नसकेकोले त्यस्ता घटनालाई प्रभावकारी रुपमा नियन्त्रण गर्न कानुन परिमार्जन वा सो सम्बन्धी छुट्टै कानुन निर्माणको आवश्यकता छ ।’

आधुनिक वैज्ञानिक प्रविधि तथा विशेषज्ञसमेतद्वारा गरिने अनुसन्धान पद्दतिलाई थप प्रभावकारी बनाई विकास गर्दै लैजाने ब्यूरोको उद्देश्य रहेको छ । वैदेशिक रोजगारीका नाममा हुने मानव वेचबिखन र ठगी सम्बोधन गर्ने, संगठित रूपमा हुने मानव बेचबिखन अपराधको अनुसन्धान गरी त्यसको सञ्जाललाई निष्कृय बनाउन ब्यूरो सक्रिय रहेको प्रहरी प्रवक्ता डीआईजीपी ढकालले बताए ।

‘मानव बेचबिखन जस्तो गम्भीर अपराधलाई बहुपक्षीय अध्ययन, अनुसन्धान बिश्लेषण गरी नीति, कार्यक्रम तथा योजना तय गरी विभिन्न देशमा रहेका पीडित तथा प्रभावितको तीव्र उद्धार गर्न थप सक्रियता बढाइएको छ ।

यसलाई सहजीकरण गर्ने उद्देश्यले विभिन्न सरकारी, गैह्रसरकारी तथा विदेशी संयन्त्रसँग समन्वय गर्ने गरिएको छ । नेपाल प्रहरीले गर्ने यस्ता कारवाहीबाट मानव बेचविखन तथा अवैधानिक तरिकाले तेस्रो मुलुक पु¥याउने प्रवृत्तिलाई निरूत्साहित गर्न सकिएको छ ।’

प्रहरी प्रवक्ता डीआईजीपी ढकालले थप्दै भने, ‘मानव बेचबिखन मानवता विरुद्दको एउटा अत्यन्त संवेदनशील अपराध हो । प्रत्येक वर्ष बालबालिका तथा युवायुवतीसमेत संसारका विभिन्न देशमा बेचबिखन भइरहने घटनाबाट नेपाल पनि अछुतो रहन सकेको छैन ।

यही तथ्य र संवेदनशीलतालाई मनन गरेर नेपाल प्रहरीले यस्ता अपराधको अनुसन्धानलाई विशेष जोड दिएको छ । अनुसन्धानलाई अझै प्रभावकारी बनाउन विद्यमान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा समय सापेक्ष परिमार्जनको आवश्यकता महसुस गर्दै परिमार्जनको लागि पहल भैरहेको पनि छ ।’

ब्युरोको मुख्य कार्य मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान तथा कानूनी कारवाही प्रभावकारी ढंगबाट अगाडि बढाउनु रहेको जनाइएको छ । मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत रहेर अनुसन्धान हुने गर्दछ । यसबाट यस्ता अपराधको नियन्त्रण, अनुसन्धान तथा अपराधीलाई कानुनी दायरामा ल्याउन र पीडितको उद्दार गर्न मदत पुगेको प्रहरीले जनाएको छ ।

नेपाल आन्तरिक र सीमा वारिपारीसमेतमा हुने मानव बेचबिखनबाट अति प्रभावित रहेको मुलुक हो । त्यसमा पनि वैदेशिक रोजगारको लागि नेपालबाट ठूलो संख्यामा भारत, मलेसिया, कतार, साउदी अरेबिया, लिबिया, बहराईन, कुवेत, संयुक्त अरव ईमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशहरू लगायतका अन्य विभिन्न मुलुकमासमेत नेपाली काम गर्ने वा अवैधानिक बसोवासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेका छन् । यस्ता अपराधलाई सम्बोधन गर्न ब्यूरोको स्थापना भएसँगै यसले आफ्नो कार्य गतिशिलतामा मूर्त रूप लिएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर