बुटवलमा दोस्रो पटक जुत्ता मेलाको तयारी, नेपाली उत्पादनले ६५ प्रतिशत मात्रै थेगेको उद्योगीको भनाइ – Nepal Press

बुटवलमा दोस्रो पटक जुत्ता मेलाको तयारी, नेपाली उत्पादनले ६५ प्रतिशत मात्रै थेगेको उद्योगीको भनाइ

रुपन्देही । बुटवलमा दोस्रो पटक जुत्ता मेला गरिने भएको छ । नेपाली जुत्ता घरले देशभरका १० ठूला जुत्ता उद्योगहरूलाई एकै छानामुनि राखेर एक महिने मेला गर्न लागेको हो ।

मिलनचोकस्थित डेल्टा कम्पेलेक्समा उपभोक्तालाई सहज बनाउन ‘जुत्ता मेलासँगै मोःमोः उत्सव पनि गरिने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सह आयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लागेको हो ।

नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले ५ हजारभन्दा बढी प्रकारका गुणस्तरीय नेपाली जुत्ताहरूको उत्पादनलाई फ्याक्ट्रीबाट न्यूनतम मूल्यमा सिधै ग्राहक समक्ष पुराउनका लागि मेलाको आयोजना गरिएको बताए ।

मेलाको अवसरमा नेपाली जुत्ता घरमा आबद्ध ब्रान्डहरूले आफ्ना उत्पादनहरू नियमित भन्दा सस्तोमा ग्राहकलाई उपलब्ध गराउने मेलाका संयोजक चोलाकान्त पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र सुज ईण्डष्ट्रिज प्रालिको सुल्यान्ड, रन सु इण्डष्ट्रिज प्रालिको रन सुज, बेस फुटवेयर इण्डष्ट्रिज प्रालिको बी एण्ड डियर हिल, लालीगुरास फूटवेयरको क्रस रोड, शुभकामनाको फस्ट वाल्क, बल्याक हर्स सुजको बल्याक हर्स, स्मार्ट सुजको स्मार्ट, रोयल सुजको रोयल तथा एकता सुजको टुरिष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।

मेलामा जुत्ता चपलको प्रदर्शनीसँगै मोःमोः उत्सवको पनि आयोजना गरिएकाले ग्राहकहरुले सपिङ्गसँगै एक दर्जनभन्दा बढी मोःमोः का परिकारहरुको स्वाद लिनसक्ने संयोजक पाठकले बताए । मेलाको सुभारम्भ तथा समापनका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने संयोजक पाठकले बताए ।

पाठकका अनुसार अहिलेपनि नेपालमा ६५ प्रतिशत नेपाली उत्पादनले थेगेको र अरु आयात भइरहेको छ । स्वदेशी उत्पादनको प्रवद्र्धनलाई मेलाको मुख्य उद्देश्य लिइएकाले गतवर्ष बुटवलबाट सुरु भएको जुत्ता मेलालाई देशव्यापी बनाउन सकिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर