क्रिकेट व्यवस्थापनमा घोटिएका पारस भन्छन्- जग बनाउनुपर्ने अवस्था छ, धैर्य चाहिन्छ (भिडिओ) – Nepal Press
नेपाल टक

क्रिकेट व्यवस्थापनमा घोटिएका पारस भन्छन्- जग बनाउनुपर्ने अवस्था छ, धैर्य चाहिन्छ (भिडिओ)

सन्दीपको मुद्दाबारे टिप्पणी: क्रिकेटभन्दा बाहिरको पार्टमा हाम्रो कन्ट्रोल हुँदैन

काठमाडौं । निरन्तर  एक दशकसम्म नेपाली क्रिकेट टीमको सफल नेतृत्व गरेका पारस अहिले क्रिकेटको व्यवस्थापकीय जिम्मेवारीमा छन् । पाँच महिना अगाडि उनी केन्द्रीय सचिवमा निर्वाचित भएयता नेपाली क्रिकेटमा नयाँ आशाको सञ्चार भइरहेको छ ।

गत असोजमा भएको क्यानको चुनावमा प्रतिस्पर्धा गर्दै पारस सचिवमा निर्वाचित भएका थिए । बिहानीले दिनको संकेत गर्छ भने झैं उनले यो छोटो अवधिमा नै आफ्नो गन्तव्य स्पष्ट गरिसकेका छन् । उनको सक्रियतामा हालै मात्र क्यानले पहिलो पटक नेपालको क्रिकेट क्यालेन्डर सार्वजनिक गर्‍यो । स्पोन्सरहरु जुटाएर क्यानलाई आर्थिक रुपमा मजबुत बनाउनेदेखि घरेलु क्रिकेटको संरचना सुधारमा पारस भिडिरहेका छन् ।

नेपाली क्रिकेटमात्र नभएर समग्र नेपाली खेलकुदकै एक आइकन हुन् पारस । जसरी उनले एउटा खेलाडी र कप्तानका रुपमा नेपाली क्रिकेटमा अविस्मरणीय योगदान दिए, व्यवस्थापकीय जिम्मेवारी पनि पनि त्यसैगरी खरो उत्रिने विश्वास क्रिकेटप्रेमीले लिएका छन् । यो विश्वासलाई भत्किन नदिने चुनौती पारससँग छ । त्यसैले त दिनरात क्रिकेटकै निम्ति समर्पित भएर लागिरहेका छन् ।

०००

आफ्नो व्यस्त दैनिकीबाट केही समय निकालेर पारस अन्तर्वार्ताका लागि तयार भए । अन्तर्वार्ता सुरु गर्नुअगावै शर्त राखे- २० मिनेटमा सकौं । उनको तर्क थियो- लामो अन्तर्वार्ता दर्शकले हेर्दैनन् । निकै जोडबलपछि ३० मिनेटसम्म तन्काउन मञ्जुर गरे । यद्यपि कुरा गर्दै जाँदा अन्तर्वार्ता ४४ मिनेटको भयो ।

प्रस्तुत छ, पारस खड्कासँग उनको व्यवस्थापकीय जिम्मेवारीको सेरोफेरोमा गरिएको यो संवाद:

– निकै व्यस्त हुनुहुन्छ होला, दिनचर्या कसरी बित्छ ?

एकदमै बिजी भइएको छ । (क्यानको) चुनाव आउनुअघि, चुनावी माहोलदेखि नै व्यस्तता बढेको हो । अहिले त झन् सबैतिर हेर्नुपर्छ । मलाई कुनै पनि कुरा गरिसकेपछि एकदमै फोकस्ड भएर गर्नुपर्छ भन्ने लाग्छ ।

– २४ घन्टामा क्रिकेटलाई कति र परिवारलाई कति समय दिनुहुन्छ ?

मलाई लाग्छ, सुत्नेबाहेक सबै समय क्रिकेटकै लागि दिएको छु । परिवारलाई समय नै छैन भन्ने होइन । तर, घर आएर सुत्नेमात्र हो, नत्र २४ सै घण्टा क्रिकेटमै सोचेर, बुझेर क्रिकेटलाई अझ व्यवस्थित कसरी गर्ने भनेर बितिरहेको छ ।

पहिलाको तुलनामा फोनको घन्टी झन् धेरै बज्न थालेको छ । पहिला कुनै खेल जितेर आएपछि फोन बज्थ्यो भने अहिले चाहिँ यता यो भयो, उता यो भयो, यो पुगेन, त्यो पुगेन भन्ने खालका म्यासेजहरु आउँछन् । सबैलाई एकैचोटि सम्बोधन गर्न पनि सकिँदैन । कहिलेकाहीँ साथीभाइहरु पनि रिसाउनुहुन्छ फोन उठेन भनेर । कहिले फ्यामिली फङ्सनहरु हुन्छन् । व्यस्तताको कारणले समय दिन सकेको छैन ।

तर, यसो भन्दैगर्दा म आज यो पोजिसनमा पुग्न मेरो वरिपरिको साथीभाइ, परिवारले विगतदेखि आजसम्म एकदमै धेरै सहयोग गर्दै आउनुभएको छ र बुझिदिनु पनि भएको छ । बुझिदिएकै भएर पनि मलाई एकदमै सजिलो भएको छ, जिउज्यान लगाएर केही गरौं भनेर अगाडि बढ्नलाई ।

– खेलाडीका रुपमा प्राप्त गरेका सफलताले गर्दा क्यानमा पनि तपाईंबाट ठूलो अपेक्षा छ । यसले तपाई दबाब महसुस गर्नुहुन्छ ?

१८-२० वर्ष क्रिकेट खेलियो । खेलेपछि म्यानेजमेन्टमा आउने बाटो मेरा लागि सजिलो थिएन । सबै संघर्षहरुलाई पार गर्दै विस्तारै स्टेप बाइ स्टेप क्रिकेट संघमा निर्वाचित भएर आइयो ।

आएसँगै धेरैको एक्सपेक्टेसन छ । म आफूले आफैंमाथि पनि धेरै एक्सपेक्टेसन राखेको छु । जब दुई वर्षअघि क्रिकेट छोडेको थिएँ, त्यतिबेला मैले भनेको थिएँ कि मलाई क्रिकेट संघमा आएर केही गर्न मन छ । सबै कुरा संयोगबस हुँदैहुँदै मिल्दैमिल्दै आएर अहिले जिम्मेवार पोजिसनमा छु ।

दुई दशक मैले खेल जीवन बिताउने मौका पाएँ, त्यसले धेरै अनुभव दिएको छ । क्रिकेटमा के के गर्न सकिन्छ, के के गर्नुपर्छ भन्ने थाहा छ । अवश्य पनि मप्रति एक्सपेक्टेसन धेरै छ । देशका लागि खेल्दा प्रेसरलाई म इन्जोय गर्थें । अब अलिकति धैर्य चाहिन्छ, जग बनाउनुपर्ने अवस्था छ ।

– तैपनि खेलाडीका रुपमा जस्तै व्यवस्थापनमा पनि आफूलाई प्रुफ गर्नुपर्ने चुनौती छ नि ?

खेल्दाखेरि पनि र अहिले पनि आफूलाई प्रुफ गर्नुपर्छ भनेर चाहिँ म कहिल्यै पनि लागिनँ । मेरो मन्त्र भनेकै आफूलाई बेस्ट तरिकाले प्रिपयर गर्ने, प्राक्टिस गर्ने, मेहनत गर्ने हो । मेहनत गरेपछि ग्राउन्डमा गएर आफ्नो शतप्रतिशत दिने र त्यसपछि फर्कने भन्ने हुन्थ्यो । त्यति गरेपछि मलाई व्यक्तिगत रुपमा के फिल हुन्थ्यो भने मैले जे–जे गर्न सक्थें, त्यो गरें । जीत–हारले मलाई कहिल्यै पनि असर गरेन । हार्दाखेरि कसरी जित्नुपर्छ भन्ने जहिल्यै पनि सोचिराख्थें । जित्दा पनि अब झन् जितेर कसरी अगाडि बढ्नुपर्छ भन्ने हुन्थ्यो ।

क्यान स्थापना भएदेखि वा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेयता एउटा संस्कार छ, त्यो आजको भोलि परिवर्तन हुने अवस्था छैन । सबैले बुझ्नुपर्ने कुरा के हो भने हामी क्रिकेट संघमा लागेर चाहे त्यो जिल्ला क्रिकेट होस् या प्रदेश क्रिकेट होस् वा केन्द्र, पदमात्र लिनेभन्दा पनि कसरी काम गर्ने भनेर सोच्नुपर्छ । काम गर्ने मान्छेले गल्ती गर्छ । तर, गल्ती र काम गर्ने कुरालाई ब्यालेन्स गर्दै, सिक्दै, बुझ्दै अघि बढ्नुपर्छ ।

अहिले व्यक्तिगत रुपमा मेरो पहिलो प्राथमिकता भनेको घरेलु क्रिकेटको संरचना जतिसक्दो बलियो कसरी बनाउने र क्रिकेट व्यवस्थापनलाई सुधार गर्न के–के आधारहरु खडा गर्न सक्छौं भन्ने हो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको आर्थिक हिसाबले क्रिकेट संघ बलियो भयो भने मात्र हामी प्रतियोगिताहरु गर्न सक्छौं । खेलाडीहरुलाई दिने सुविधाहरु बढाउन सक्छौं ।

– अहिले तपाईंको वा क्यानको प्राथमिकतामा कस्ता कामहरु छन् ?

अहिले भइरहेका इभेन्ट्सहरुलाई कसरी सञ्चालन गर्ने, राम्रा-राम्रा टीमहरुलाई नेपालमा बोलाएर कसरी खेलाउने, कर्पोरेट संस्थाहरु, नेपाली क्रिकेटमा लगानी गर्न खोज्ने व्यक्ति, संघसंस्थासँग बसेर छलफल गरेर संरचनात्मक रुपमै एउटा खाका बनाउनुपर्ने छ । जतिबेला हामी खेलिरहेका थियौं, हाम्रो जेनेरेशनले पहिलो पटक क्रिकेट संघलाई प्रश्न सोधेको थियो- यो किन भयो, किन भएन भनेर । आज त्यही प्रश्नको जवाफ दिने ठाउँमा छु । त्यो भएको भएर पनि काम गर्नुपर्ने धेरै छन् ।

हाम्रो बेस अझै पनि बनिसकेको छैन । खेलाडीहरु आए गए, प्रशिक्षकहरु आए गए । अन द फिल्ड हामी राम्रो क्रिकेट खेल्छौं भन्ने कुरामा कुनै शंका नै छैन । अफ द फिल्ड चाहिँ कस्तो क्रिकेट संघ हुनुपर्ने अथवा क्रिकेट संघको व्यवस्थापन कस्तो हुनुपर्ने भन्ने कुराहरुमा धेरै एक्सपेरियन्स छ । नयाँ कार्यसमिति आएको छ । सबैले सबैलाई सहयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

नेपालको इन्टरनेशनल सिरिजहरु स्टार्ट भाको छ यो वर्षलाई । विश्वकपभन्दा अगाडिसम्म धेरै, लगभग २०-२५ वटा म्याच हामी नेपालमै आयोजना पनि गर्दैछौं । नेपाल खेल्दै पनि छ ।

क्रिकेटको संरचनाको कुरा गर्ने हो भने भर्खरैमात्र महिला र पुरुषको प्रधानमन्त्री कप पनि सकियो । पहिलो पटक राउन्ड रोबिन फर्म्याटमा भएको थियो । टी-२० विश्वकपमा छनोट भइसकेपछि अपेक्षा पनि धेरै छ कि क्रिकेट संघले के गर्दैछ विश्वकपको तयारीलाई लिएर भन्ने । भर्खरै मात्र नेपाल क्रिकेट संघलाई अझ राम्रोसँग बुझ्ने मौका पाएको छु । ४-५ महिनामात्र भयो, त्यहाँभित्रको सिस्टम कस्तो हुन्छ, क्यान कसरी चलिरहेको छ, आगामी दिनमा के कस्तो योजना ल्याएर क्रिकेटलाई अगाडि बढाउन सक्छौं भन्ने विश्लेषण गर्दै, सिक्दै, बुझ्दै अगाडि बढ्दैछु ।

मैले व्यक्तिगत रुपमा पनि सबैलाई भनिसकेको छु कि अब पुरानो इतिहास जो थियो वा छन्, त्यसलाई बिर्सिएर नेपाल क्रिकेटलाई अगाडि बढाउनुपर्छ ।

– खेलाडीको रुपमा वा कप्तानको रुपमा अनुभव गर्ने प्रेसर र अहिले व्यवस्थापनमा आएपछिको प्रेसरलाई कसरी तुलना गर्नुहुन्छ ?

कम्प्यारिजन त गर्न मिल्दैन । किनभने खेल्ने छुट्टै कुरा भयो, व्यवस्थापन गर्ने छुट्टै कुरा । अनफिल्ड म्याच खेलिरहँदा कसरी रन हान्ने, कसरी विकेट लिने, कसरी टीमलाई जिताउने भन्ने हुन्छ । तर, क्रिकेट व्यवस्थापनको कुरा गर्ने हो भने जस्तो प्रतियोगिता आयोजना हुँदा खाना टाइममा भयो कि भएन, सेक्युरिटी कहाँ छ, भोलेन्टियर्सहरु के गर्दैछन्, टीमको प्राक्टिस कुन बेला हुँदैछ जस्ता कुराहरुमा ध्यान हुन्छ ।

अझ अन्तर्राष्ट्रिय खेलहरु आयोजना गर्न धेरै ठूलो टीम नै खट्नुपर्ने हुन्छ । त्यसमा हामी आफूलाई भाग्यमानी ठान्छौं कि क्रिकेटमै काम गरेका मान्छेहरु वरिपरि हुनुहुन्छ । सबैलाई जोडेर आजको दिनसम्म आउँदा नेपालले एउटा राम्रो छवि बनाएको छ । हामी राम्रा-राम्रा इभेन्ट्सहरु होस्ट गर्न सक्छौं भनेर अन्तर्राष्ट्रियस्तरमा देखाएका छौं । पछिल्लो समय हेर्ने हो भने हामीले एसीसी प्रिमियर कप आयोजना गर्‍यौं, वर्षको अन्त्यतिर विश्वकप छनोट पनि आयोजना गर्ने मौका पायौं ।

– नेपालको क्रिकेट विकासमा तपाईंले देख्नुभएका मुख्य चुनौती के के हुन् ?

च्यालेन्जहरु छन् । सबैभन्दा ठूलो च्यालेन्ज भनेको पूर्वाधारको हो । कीर्तिपुर, २०-२१ वर्षअघि जस्तो थियो, अहिले पनि त्यस्तै छ । २-४ वटा भवन बन्नुबाहेक केही थपिएको छैन । त्यहाँ मान्छेहरु धेरै आउँछन्, धेरैलाई ग्राउन्डमा छिर्नु छ, फ्यानहरु छिर्न खोज्नुहुन्छ । ससाना कुराहरु जोडिँदा धेरै ठूलो हुन्छ । त्यो मैलेमात्र नगरिकन हामीसँग क्यानअन्तर्गतको एउटा टीम नै छ ।

गुनासाहरु आउँछन् । कतिपय कुराहरु मसँग ठोक्किन्छन् । अब जिम्मेवारी मैले लिएको छु, यसमा मलाई कुनै गुनासो, दुःख छैन । म आफैंले छानेको बाटो हो यो । यो बाटोलाई सरल र सजिलो बनाउन सबैको सहयोगको आशा छ । पारस खड्काले मात्र गर्दा नेपाल क्रिकेट यहाँ आएको हैन र पारस खड्काले मात्र गर्दा नेपाली क्रिकेट अगाडि बढ्दैन । यो टीम एफर्टले नै हामी अगाडि बढ्न सक्छौं ।

– हिजो आफैं मैदानमा गएर खेल्नुहुन्छ । अहिले मैदान बाहिरबाट नेपाली टीमको खेल नियाल्नुहुन्छ । आफैंले खेल्दा बढी नर्भस फिल हुन्थ्यो कि अहिले बाहिरबाट हेर्दा ?

खेल्दाखेरि पनि हेर्न एकदमै गाह्रो हुन्थ्यो । खेल्दाखेरि आफ्नो कन्ट्रोलमा हुन्छ । ब्याट, बल आफूसँग भएपछि आफैं केही गरौं भन्न सकिने अवस्था हुन्छ । तर, बाहिर बस्दा चाहिँ एकदम गाह्रो हुन्छ । खेल्नभन्दा हेर्न चाहिँ निकै गाह्रो छ ।

विश्लेषण र एनालिसिस गर्न सजिलो हुन्छ । किनभने यो खेलमा मैले जीवन बिताइसकें नि ! पछाडि बसेर यो गर्दा यस्तो हुन्छ, यो खेलाडीले यति रन हानेको भए, यसरी बलिङ ब्याटिङ गरेको भए भन्न सजिलो होला । तर, म गेमलाई त्यसरी रिड गर्दिनँ । मैले गर्ने एनालिसिस भनेको खेलाडीको ब्याकग्राउन्ड, उनीहरुले गरेको पफर्मेन्सका आधारहरु के के थिए र कत्तिको मेहनत गरेको छ भन्ने कुरालाई नजिकबाट हेर्छु, अर्थात मूल्यांकन गर्छु । कमिटमेन्ट छ भने हारजीत जे भए पनि म खुशी नै हुन्छु ।

– जतिबेला तपाईंले क्रिकेटबाट सन्न्यास घोषणा गर्नुभयो । तपाईंसँग खेल्ने उमेर बाँकी नै थियो । फर्मको दबाब पनि थिएन । अलिकति हतार गरेको जस्तो सबैलाई अनुभव भएको थियो । अहिले आफैंले फर्केर हेर्दा राइट टाइममा राइट डिसिजन लिएँ भन्ने लाग्छ ?

खेल्ने चाहिँ मेरो रहर मरिसकेको थियो । जिम्मेवारीहरु लिने मौका पाएँ मैले । त्यो जिम्मेवारी लिँदालिँदा यस्तो प्वाइन्टमा पुगिसकेको थिएँ कि अब म अनफिल्ड पर्फमेन्स गरेर नेपाली क्रिकेटलाई यहाँभन्दा माथि लैजान सक्छु वा सक्दिनँ भनेर मूल्यांकन गर्नुपर्ने अवस्था आइसकेको थियो । म रन हान्न सक्थें होला, विकेट लिन सक्थें होला, म्यान अफ दी म्याच बन्न सक्थें होला । तर, यसले अब मलाई खुशी दिनेवाला छैन भन्ने अन्तरआत्मादेखिको अनुभव थियो ।

नेपाल जित्यो त अनफिल्ड जित्यो । तर, यो खेललाई देशभर व्यवस्थित गर्ने वातावरण सृजना गर्न सक्यो भने यो खेलमै लागेर केही गर्न सकिन्छ भन्ने लागेको थियो । हामीसँग जिल्लाबाट राष्ट्रिय टीमसम्म आउने अझै पनि बाटो छैन । वर्षमा एक–दुई वटा प्रतियोगिता हुन्छ । त्यही प्रतियोगिताका आधारमा खेलाडीहरु छनोट गरिन्छ र कतिपय खेलाडीहरु राम्रो हुँदाहुँदै पनि सेलेक्ट नभएर उनीहरुको करियर सकिएको छ । जसरी अहिले नेपाली टीमको वाहवाही हुन्छ विश्वभर, अब त्यही वाहवाही चाहिँ नेपाल क्रिकेट संघको पनि होस् भन्ने मेरो चाहना हो । तर, मेरो सोच र मेरो चाहनाले मात्र हुँदैन, टीम वर्क चाहिन्छ ।

– विगतमा तपाईंले नेतृत्व गरेको टीम र अहिलेको टीमको स्तरमा कस्तो फरक पाउनुहुन्छ ? नेपालको ब्याटिङ सुध्रेकै हो कि त्रिविको पीचमा अभ्यस्त भएर त्यस्तो भ्रम भएको हो ?

पहिला हामीसँग लिमिटेड प्लेयर्स थिए, जसले खेल जिताउन सक्थे । १० वर्ष कप्तान हुँदा पनि १५-२० खेलाडी छान्दा निश्चित खेलाडीहरु छनोट हुन्थे । अहिले त्यो २० जना ४०-५० पुगेको होला । हामीभन्दा अगाडिको जेनेरेशनले गरेको संघर्षले हामीले धेरै पाठ सिक्यौं । हामीले गरेको रिजल्ट ओरियन्टेड जति पनि कामहरु थिए, त्योबाट अहिलेको टीममा आउँदा कम्तीमा के खुशी लाग्छ भने गेमलाई अप्रोच गर्ने शैली, विचारहरु चेन्ज भएको छ । सायद यो जेनेरेशन थट प्रोसेस पनि होला ।

पहिला हामी अलिकति डिफेन्सिभ माइन्डसेटमा थियौं । किनभने टीमका रुपमा पनि लिमिटेड रिसोर्सेस थियो । २-४ विकेट जानासाथ हामी प्रेसरमा आउँथ्यौं । तर, अहिले यो टीमको शैली हेर्दा सबै जनाले कुनै न कुनै रोलमा योगदान गरिरहनु भएको छ । अहिले धेरै जना म्याच विनर टीममा आएका छन् । पहिला पनि म्याच विनरहरु थिएनन् भन्या चाहिँ होइन । तर, मुख्य कुरा प्लेटफर्मको हो । मैले राम्रो खेल्न नसक्दा पनि थुप्रै पटक अरु खेलाडीले राम्रो खेल्नुभएको छ । मैले खेल्न छाड्ने निर्णय गर्दा पनि अब नेपाली क्रिकेट सकियो भन्ने खालका कुराहरु हुन्थे । तर, त्यस्तो त केही भएन । एउटा भनाइ छ नि- लाइफ एन्ड गेम अलवेज गोज अन ।

सन् २०११-१२ मा आएर हामीले बल्ल थाहा पायौं कि दैनिक ६-७ घण्टा प्राक्टिस गर्नुपर्ने रहेछ । त्योभन्दा अगाडि पनि हामी प्राक्टिस त गर्थ्यौं । तर, थोरै टाइम । थोरै टाइम प्राक्टिस गर्दा थोरै नै रिजल्ट आउने रहेछ । पुबुदु दासानायके सर आएपछि प्राक्टिस गर्ने प्याटर्न चेन्ज भयो र यसले धेरै कुरा चेन्ज ग¥यो । अब अहिलेका खेलाडीहरु डाइट कन्सियस छन्, आफूले आफूलाई फिट राख्छन् । ट्रेनरहरु हुनुहुन्छ । कोच र कन्सल्टेन्टहरु हुनुहुन्छ । कम्तीमा नेपाल टीमलाई चाहिने रिसोर्स जे जति उपलब्ध गराउन सक्छौं, त्यो चाहिँ छ । तर, त्यो लिमिटेड रिसोर्सेसबाट अहिले नेशनल टीमको सेट-अप निकै राम्रो भएको छ ।

– क्यानडाविरुद्ध पहिलो खेलमा कप्तान रोहितले चार विकेट लिएर सनसनी मच्चाए, त्यो तपाईंका लागि कत्तिको सरप्राइजिङ थियो ?

जुन किसिमको क्रिकेट हामीले त्रिवि क्रिकेट मैदानमा खेलेका छौं, पछिल्लो एक वर्षदेखि, इम्पोसिबल सिचुयशनबाट म्याच जित्ने आधारहरु हामीले क्रियट गरेका छौं । फरक फरक खेलमा फरक फरक म्याच विनरहरु देखिएका छन् ।

अब क्यानडाविरुद्ध रोहितले बलिङबाट म्याच जिताउनुहुन्छ भनेर धेरैले सोच्नुभएको थिएन होला । तर, गेम सिचुयशन, अन्डरस्ट्यान्डिङ र कप्तानका रुपमा रोहितले आफूलाई प्रमाणित गरेका छन् । मलाई आशा छ कि यसले निरन्तरता पाउनेछ । हामी खुशी छौं । जबसम्म यो टीम जितिराख्छ, हामी सबैलाई खुशी हुने एउटा आधार भएको छ ।

नेपाली क्रिकेट भनेको सबै नेपालीलाई एउटा पहिचान भएको छ । म धेरै खुशी छु । कप्तानले आफैं बलिङको जिम्मा लिनु भनेको जिम्मेवारी सम्हाल्नु वा जोखिम लिनु पनि हो । हामी क्रिकेट समर्थकको रगतमै छ कि सधैं नेपालले जितोस् । तर, सधैं नतिजा आफ्नो फेभरमा आउँदैन ।

– अहिले नेपालको क्रिकेटलाई सबैभन्दा खट्केको कुरा ग्राउन्ड वा रंगशाला नै हो ?

अवश्य पनि नेपाल क्रिकेटलाई चाहिएको सात वटै प्रदेशमा राम्रो टर्फ विकेट र ग्राउन्ड हो । हरेक प्रदेशमा एउटा रंगशाला चाहिँ अबको १÷२ वर्षभित्र तयार हुनैपर्छ । अहिले क्यानसँग धेरै प्रायोजक जोडिन खोज्नुभएको छ । क्यानले आफ्नो आर्थिक कोष बलियो बनाएपछि प्रदेश र जिल्लाका लागि पनि छुट्याउन सकिन्छ । अब सरकारले पनि लगानी गर्नुपर्छ । जिल्ला र प्रदेशको संरचनाका लागि सरकारले रातो किताबमै समावेश गरेर छुट्याउनुपर्छ ।

अब कीर्तिपुर रंगशालालाई स्तरोन्नति गर्नैपर्छ । आज घाँसमा बसेर हेरिरहनु भएको दर्शकलाई सुविधा दिएर हामीले राम्रो आम्दानी पनि गर्न सक्छौं । कीर्तिपुर मैदानबाटै हामीले आम्दानी गर्न सक्छौं, जसका आधारमा राम्रा राम्रा टीम र लगानीकर्ताहरुलाई नेपाल भित्र्याउन सक्छौं ।

– एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशालाको आवश्यकता देखेर चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको पहल भएको थियो । तर, स्रोत अभावले लामो समयदेखि अलपत्र छ । यो रंगशालालाई पूर्णता दिनलाई क्यानले कुनै पहल गर्नसक्छ ?

जहाँसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कुरा छ, त्यहाँ पहलहरु भएका छन् । भरतपुर महानगरपालिका नै अघि सरेको छ । क्रिकेट संघसँग पूर्वाधारमा लगानी गर्ने कुनै स्रोतहरु छैनन् । हाम्रो स्रोत भनेकै आईसीसी र एसीसीबाट आउने फन्ड हो । त्यसबाहेक प्रतियोगिता आयोजना गर्दा प्रायोजनबापत प्राप्त हुने रकम हो । यसैबाट हाम्रो क्रिकेट चलिरहेको छ । गौतम बुद्धको हकमा ७० करोड लगानी गर्ने कुरा भइसकेकाले मलाई लाग्छ, जुन सुरुमा बन्ने खाका थियो, त्योअनुसार नहोला । तर, २५-३० हजार दर्शक क्षमताको रंगशाला त्यहाँ बन्छ ।

– नेपाली खेलाडीले पर्याप्त सुविधा नपाएको भनेर चर्चा भइराख्छ । खेलाडीहरुसित गतिलो ब्याट पनि नभएको भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गएको छ । भारतीय दूतावासले नेपाली क्रिकेट टीमलाई बोलाएर ब्याट वितरण गरेको थियो । के खेलाडीको अवस्था नाजुक नै हो कि यसलाई अतिरञ्जित गरिएको हो ?

भारतीय दूतावासले ब्याट दिने भनेर पहिल्यै तय भएको विषय थियो । अहिले हाम्रो कोच रहनुभएका मोन्टी देसाईको कोअर्डिनेसनमा संस्थागत रुपमा ब्याट प्रदान भएको हो । म त्यो कार्यक्रममा सहभागी भएकोमात्र हो । त्यसमा मेरो भूमिका छैन ।

भारतीय विदेशमन्त्री नेपाल आउँदा पहिलो पटक नेपाल क्रिकेट संघ र खेलाडीहरुलाई भेट्नुभयो । बीसीसीआई र भारत सरकारले के कस्तो सहयोग गर्नसक्छ भनेर छलफल भएको थियो । हामीलाई प्रपोजल पठाउन भनिएको थियो । हामीले पठायौं । बीसीसीआईले रेस्पोन्स पनि गरिसकेको छ ।

इन्डोनेसियाको बालीमा भएको एसीसीको एजीएममा मैले प्रेजेन्टेसन गर्ने अवसर पाएँ, त्यहाँ एसियाको सबै टेस्ट राष्ट्रका पदाधिकारीहरु हुनुहुन्थ्यो । एसिया कप खेल्दा बंगलादेश र पाकिस्तानका क्रिकेट बोर्डसँग पनि कुरा भएको थियो । एसिया कप हामीले खेलिसकेपछि र विश्वकप पुगिसकेपछि नेपालले पनि क्रिकेट खेल्नसक्छ भन्ने म्यासेज वर्ल्ड क्रिकेटमा पुगिसकेको छ ।

पहिला अफगानिस्तानले भारतमा बेस जस्तो बनाएको थियो । हाम्रो अपेक्षा पनि बीसीसीआईसँग त्यही हो । भारतको पूर्वाधारमा हामीले पनि खेल्न पायौं भन्ने त्यसले नेपालको क्रिकेट विकासमा निकै ठूलो सहयोग पुग्छ भन्ने बुझाइ हो । त्यसबाहेक भारतसँग निकै धेरै रिसोर्सेसहरु छन् । त्यहाँ रहेका बलिङ, ब्याटिङ, फिल्डिङ कन्सल्ट्यान्टहरुलाई नेपालमा ल्याएर हाम्रा खेलाडीहरुलाई आदानप्रदान गर्ने कि भन्ने पनि प्रस्ताव छ । उहाँहरुले धेरै कुरामा सकारात्मक रहेको र अफिसियल अनाउन्समेन्ट गर्छौं भन्नुभएको छ ।

– नेपालले आफ्नो क्रिकेटको स्तर विकास गर्दैगर्दा अझै पनि नियमित प्रतिस्पर्धा भने यूएई र हङकङ जस्तो टीमहरुसँग नै गरिरहेको छ । दर्शकले बलिया टीमहरुसँग नेपाल भिडेको हेर्न चाहन्छन् । त्यसका लागि के पहलहरु गर्नुभएको छ ?

विभिन्न देशका ‘ए’ टीमहरुलाई नेपाल ल्याउने कुरा फाइनल स्टेजमै छ । तर, टेस्ट टीमलाई नै ल्याउन चाहिँ डेढ वर्षअघि नै प्रोसेस गर्नुपर्छ । त्यसैले हामीले सन् २०२५ का लागि अहिलेदेखि नै पत्राचार गर्न सुरु गरिसकेका छौं । टेस्ट राष्ट्रसँग खेल्नुपर्छ वा खेलोस् भन्ने अपेक्षा गर्न सकिन्छ । तर, एउटा वास्तविकता के हो भने अन्तर्राष्ट्रिय क्रिकेटमा अझै पनि हामी वामे सर्दैछौं । दोस्रो पटक विश्वकप खेल्दैछौं । बल्ल पहिलो पटक एसिया कप खेलेका छौं । आशा गरौं, हामीले गरेका पत्राचारमा उनीहरुले राम्रो प्रतिक्रिया दिनेछन् । अब विश्वकपमा राम्रो गर्न सक्यौं भने हामी फेरि विश्व क्रिकेटको ध्यानाकर्षण गर्न सक्छौं ।

– नेपाल क्रिकेट संघ (क्यान) सबै खेलाडीको अभिभावक पनि हो । अहिले सन्दीप लामिछाने अदालतबाट दोषी ठहर भएर कानूनी लडाइँमा छन् । उनी नेपालका महत्वपूर्ण खेलाडी थिए । उनको मुद्दालाई क्यानले कसरी हेर्छ ?

नियम-कानून त सबैले मान्नुपर्छ र सबैले सम्मान पनि गर्नुपर्छ । यो केस निकै लम्बिइसकेको छ । सन्दीपजीको केसमा जे जति भए, त्यसमा उहाँले धेरै भोगिसक्नुभएको छ । त्यो भोगेअनुसार मलाई लाग्छ, उहाँ पनि मेन्टली डिस्टर्ब हुनुहुन्छ अहिले । उहाँले व्यक्तिगत रुपमा अझै अगाडि केस लड्छु भनेर भन्नुभएको छ । यसमा नेपाल क्रिकेट संघले गर्ने खासै केही हुँदैन । किनभने क्रिकेटभन्दा बाहिरको पार्टमा कसैको पनि कन्ट्रोल हुँदैन ।

जब म क्रिकेट संघमा थिइनँ, अध्यक्षज्यूले सन्दीपलाई अदालतबाट ल्याएर खेल्न दिनुपर्छ भन्ने भइसकेपछि सन्दीपजीले आएर खेल्नुभएको हो । त्यो उहाँको क्रिकेटको पार्ट हो । क्रिकेटभन्दा बाहिरको पार्ट हाम्रो कन्ट्रोलमा हुँदैन । किनभने त्यो पर्सनल सिचुयशन थियो । अहिलेका लागि उहाँका वकिलहरुसँग कुरा गर्दा केस अझ माथिल्लो तहमा लड्नुहुन्छ भन्ने सुनेको छु ।

– व्यक्तिगत रुपमा सन्दीपसँग कुराकानी भएको छ ?

कहिलेकाहीँ उहाँले म्यासेज गर्नुहुन्छ । म्यासेजमा नै कुरा हुन्छ ।

– सन्दीपको अभाव नेपालको टीममा कत्तिको खट्किएला ?

खेलाडीका रुपमा उहाँले नेपाली क्रिकेटका लागि गरेको योगदान नेपाली क्रिकेटले मात्र होइन विश्व क्रिकेटले नै रिकक्नाइज गरेको छ । कस्तो हुन्छ भन्ने निश्चित खेलाडीहरुलाई टीमले मिस गर्छ । तर, मैले पहिला पनि भनेको थिएँ कि लाइफ गोज अन, गेम गोज अन । टीमले पनि एडप्ट गर्नुपर्छ । टीमलाई पनि नयाँ परिस्थितिसँग घुलमिल गराउनुपर्छ । यो त नेपाली टीमका अहिलेका खेलाडीहरुका लागि म्याच विनर बनेर आफूलाई प्रमाणित गर्ने अवसर पनि हो ।

भविष्यमा सन्दीपको केसको कस्तो नतिजा आउँछ, एक तरिकाले माथिल्लो तहबाट के हुन्छ भन्ने कसैलाई थाहा छैन । अहिलेका लागि राम्रो प्रशिक्षक हुनुहुन्छ । राम्रो बेस बनाउनुभएको छ । आशा गरौं, टीमले नयाँ नयाँ म्याच विनर पाउनेछ । राम्रो प्लेयर नहुँदा टीमलाई असर त परिहाल्छ । तर, अहिले धेरै म्याच विनर छन् । होपफुल्ली उहाँ नहुँदा पनि नेपाली टीमलाई जिताउने प्रयास गर्नेछन् ।

– अहिले क्यान भनेकै अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कामात्र हो भन्ने चर्चा सुरु भएको छ । संस्थागत निर्णय नगरी अध्यक्ष र सचिवको कार्यशैलीलाई लिएर क्यानभित्र मनमुटावका कुराहरु पनि बाहिर आएका छन् । यसलाई कसरी प्रष्ट्याउनुहुन्छ ?

नेपाल क्रिकेट संघ कुनै व्यक्तिको निजी संघ-संगठन होइन । अब लिडरसिप पोजिसनमा भएपछि सर्टेन डिसिजनहरु लिनुपर्ने हुन्छ । तर अध्यक्ष, कोषाध्यक्ष, सचिवलगायत सबै बसेर छलफल गरिन्छ । त्यसैअनुसार के गर्ने भनेर निर्णय लिन्छौं ।

यदि हामी कुनै निर्णय वा काम गर्छौं भने त्यसको जवाफदेहिता हामीले बोक्नैपर्छ । अब यो मनमुटाव भयो भन्ने कुराहरु चाहिँ कति कुराहरु भ्रमित हुन्छ अनि कति परिचालित । यस्तो कुराहरु फैलाएर क्यानलाई कसैले बदनाम गर्न चाहनुहुन्छ भने त्यसमा व्यक्तिगत रुपमा मलाई भन्नु केही छैन । म जुन संघर्षबाट यहाँसम्म आइपुगेको छु, त्यो भनेको काम गर्नुपर्छ भन्ने हो । काम गर्दा कति कुराहरु ठीक होलान्, कति बेठीक होलान् तर नियत सोच विचार चाहिँ नेपाल क्रिकेट जसरी होस्, अगाडि बढ्नुपर्छ भन्ने हुनुपर्छ ।

– सन्दीपलाई निलम्बन गर्ने विषयमा पनि क्यानभित्रै असन्तुष्टि देखियो । आफैंले राजीनामा पठाइसकेको अवस्थामा निलम्बनको निर्णय गर्नुपर्ने बाध्यता क्यानलाई किन पर्यो ?

पब्लिक सेन्टिमेन्ट स्वाभाविक हो । सन्दीपजीले जुन नाम कमाउनुभएको छ, रिजल्ट दिनुभएको छ, अन द फिल्ड उहाँले आफूलाई प्रमाणित गर्नुभएको छ । तर, यो क्रिकेटभन्दा बाहिरको कुरा भएको हुनाले इन्स्टिच्युसनली हामीले पनि एउटा स्ट्यान्ड लिनुपर्ने हुन्थ्यो । क्रिकेट संघ भनेको व्यक्तिमात्र नभएर गभर्निङ बडी हो । कुनै पनि खेलाडी आरोपित भएपछि निलम्बन गर्नुपर्ने नियम-कानून हुन्छ । म आउनुभन्दा अगाडि पनि उहाँलाई खेलाउनुपर्छ भन्ने स्ट्यान्ड लिएर खेलेर देशलाई जिताउनुभयो । संस्थागत रुपमा हाम्रो स्ट्यान्ड थियो कि राइट र रङ के हो भनेर । नेपालको कानून र कुनै कुरा अदालतबाट ठहर भइसकेपछि त्यसलाई हामीले सही होइन भन्न मिल्दैन । नियम-कानून सबैका लागि एउटै हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर