एआई प्रविधिमा मनोजको ‘तिमी जे बन उदाहरण बन’ – Nepal Press

एआई प्रविधिमा मनोजको ‘तिमी जे बन उदाहरण बन’

काठमाडौं। बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ ।

नजिकिँदै गरेको सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गायक प्रमोद खरेल र गायिका डा।त्रिशाला गुरुङको स्वर रहेको छ। मनोज खड्काको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत भरेका छन् ।

‘गीतको भिडिओको सम्पूर्ण काम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट गरिएको छ । भिडियो नेपाल र अमेरिकाबाट एकै साथ रिलिज गरिएको हो।

नेपाली सांगीतिक क्षेत्रमा सम्भवतः पहिलो पटक निर्देशक नव ढुंगेलको कल्पनामा एआई एनिमेसनको प्रयोग गरेर यो गीतको भिडियो निर्माण गरिएको हो ।

गीतले विद्यार्थीलाई राम्रा बानी–व्यवहार अपनाउन प्रोत्साहित गरेको छ । आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाइलट जस्ता निश्चित पेशामा लागेको देख्न रुचाउने परम्परागत सोच भन्दामाथि उठेर जे जस्तो काम, पेशा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न गीतले प्रेरित गरेको छ ।

गीतकार खड्काले गायनमा गीतको समग्र भाव अनुसारकै गायक गायिका रोजिएको बताए । ‘गीतमा प्रमोद र डा। त्रिशालाको संयुक्त स्वरले बाबुआमा मिलेर आफ्नो सन्तानलाई सुमार्गमा लाग्न प्रेरणा दिएको अनुभूति गराउन खोजिएको छ’, उनले भने ।

अमेरिकन गायक तथा संगीतकार जोन माएर र भारतीय कम्पोजर एआर रेहमानको संगीतबाट प्रभावित संगीतकार सिंहले गीतमा फरक किसिमको संगीत दिएका छन् । प्रेम गीत २, भिसा गर्ल, मुखौटा, हसिया, आदि उनले संगीत चलचित्रहरू हुन् । गीतमा दीक्षित पौडेलको एरेन्ज र दिनेश श्रेष्ठ (डी स्टुडियो) को रेकर्ड छ ।

गीतको भिडियोलाई राजु बस्नेतले सम्पादन गरेका छन् । उनलाई इमेज जेनेरेटमा सदिच्छा कट्टेलले साथ दिएकी छन् । गीतको कभरपेज डिजाइन ग्राफिक डिजाइनर तथा भिडियो निर्देशक अनिल स्थापितले तयार पारेका छन्।

गीतको भिडिओ गीतकार खड्काको आफ्नै युट्युब च्यानल ‘सङ्ग राइटर मनोज’बाट सार्वजनिक भएको छ। खड्का हाल अमेरिकाको राजधानी वासिङटन डीसीमा बस्दै आएका छन् । खड्का अमेरिकाको भर्जिर्नियामा नेपाली मूलका बालबालिकाहरूका लागि स्वयंसेवी तरिकाले सञ्चालन गरिएको नवदुर्गा नेपाली स्कुलका सञ्चालकसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर