हरेक कालखण्डका भ्रष्टाचार छानबिनमा अख्तियारलाई सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

हरेक कालखण्डका भ्रष्टाचार छानबिनमा अख्तियारलाई सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले विभिन्न कालखण्डमा भएका सबै साना-ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री दाहालले क्रिप्टोकरेन्सी कारोबारी, हुन्डी कारोबारी, सुन तस्कर र सहकारीलगायतका क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको भन्दै सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी सार्वजनिक सेवा प्रवाहमा जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको उनको दाबी छ ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारलाई निर्मम तवरले अन्त्य नगरी देशको समग्र विकासको परिकल्पना गर्न नसकिने भन्दै सार्वजनिक निकायहरूमा पारदर्शिता र जन उत्तरदायित्वको संस्कार विकास गर्न ढिलाइ भइसकेको बताएका छन् । राज्यका सबै सार्वजनिक निकायहरूलाई बढी जिम्मेवार र जवाफदेही बनाउन नवीन प्रविधिको विकास र उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । सार्वजनिक तथा निजी क्षेत्रमा समेत सदाचारिताको आधारशीला विकास गर्न राष्ट्रिय सदाचार नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

भ्रष्टाचारका विरूद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने पनि दाबी गरे । प्रधानमन्त्रीले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनमा समसामयिक सुधार गरी यसै वर्षभित्र नयाँ ऐन संसदबाट पारित गराउन सरकारको तर्फबाट आवश्यक प्रयास हुने प्रतिवद्धतासमेत जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर