अदालतको आदेश पालना गर्न एमाले रुपन्देहीको ज्ञापनपत्र – Nepal Press

अदालतको आदेश पालना गर्न एमाले रुपन्देहीको ज्ञापनपत्र

रुपन्देही । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतको आदेशअनुसार अध्यक्षको पुनर्बहाली नगरिएको भन्दै नेकपा एमाले रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । एमालेले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापालाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।

तत्कालीन मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेशभरका ६ अस्पतालका अध्यक्ष रिटसहित सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नू/गराउनू भने पनि अध्यक्षमा अजयमान श्रेष्ठलाई पुनर्बहाली नगरिएको भन्दै एमालेले ज्ञापनपत्र बुझाएको हो ।

यसबीचमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन ओझालाई नियुक्त गरेको थियो ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले अदालतको आदेशपछि स्वतः पुरानै अध्यक्षहरु पदमा रहने भए पनि अदालतको आदेशको अवहेलना गरिएको बताए ।

उनले अन्य पाँच अस्पतालमा पुरानै अध्यक्षले काम गरे पनि लुम्बिनी प्रादेशिक अस्पतालमा भने अध्यक्ष कार्यालयमा आउन नसकेको बताए । उनले मेसु डा. थापालाई अध्यक्षको नेमप्लेट र कुर्सी कार्यकक्षमा राख्न माग गरे ।

ज्ञापनपत्र बुझ्दै मेसु डा. थापाले सर्वोच्चको रिट कार्यान्वयन गर्ने/गराउने मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय रहेको भन्दै आफ्ना कारणले अध्यक्षको पुनर्बहाली नरोकिएको बताए ।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का्े कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताउँदै मुख्यमन्त्री कार्यालयले नै यो विषय टुंगोमा पुर्‍याउने बताए । मेसु डा. थापाले आफू कानूनी सल्लाहकारको रायसहित अघि बढ्ने आश्वासन दिए ।

ज्ञापनपत्र बुझाउन एमाले लुम्बिनी प्रदेश सदस्यहरु बाबुराम भट्टराई, गोपाल राना, रुपन्देही क्षेत्र नम्बर २ का इञ्चार्ज ऋषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य बाबुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, पूर्वमुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेललगायत अस्पताल पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर