राष्ट्र बैंकलाई प्रश्न- एनआइसी एसियाले चाहँदैमा आफ्ना शाखा बन्द गर्न पाउँछ ? – Nepal Press

राष्ट्र बैंकलाई प्रश्न- एनआइसी एसियाले चाहँदैमा आफ्ना शाखा बन्द गर्न पाउँछ ?

काठमाडौं । अहिले बैंकिङ जगतमा एनआइसी एसिया बैंकको शाखा बन्द गर्ने चर्चा चलिरहेको छ । व्यवसाय विस्तारमा आक्रामक बनेको एनआइसी एसिया आफ्ना केही शाखा निरन्तर घाटामा गएकाले बन्द गर्न चाहिरहेको बुझिएको छ । उसले एकै पटक ५० शाखा बन्द गर्न राष्ट्र बैंकलाई निवेदन दिएको छ ।

एकै पटक ५० शाखा बन्द भए त्यहाँका कर्मचारीको के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेललाई बैंकले चाहँदैमा शाखा बन्द गर्न पाउँछ भनेर नेपाल प्रेसले प्रश्न गरेको थियो ।

त्यसको जवाफमा उनले भने, ‘कुनै पनि बैंकले चाहँदैमा शाखा बन्द हुँदैन । हामीले त्यसको अनुसन्धान गरेर मात्र निर्णय दिन सक्छौ । तर एकै पटक यति धेरै शाखा बन्द गर्न एनआइसीले पाउँदैन । त्यहाँ रहेका कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने पनि हुन्छ ।’

वित्तीय पहुँचको पनि विषय भएकाले शाखा बन्द गर्न अनुमति दिन नसकिने पौडेलले बताए । बैंकको शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ । बैंकले अनुमति नदिए शाखा बन्द गर्न सम्बन्धित बैंकले पाउँदैन ।

एनआइसी एसिया बैंकसँग हाल ३६० शाखा, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाई छन् । सबैभन्दा बढी शाखा भएको बैंक पनि हो एनिआइसी एसिया । शाखा र कर्मचारी धेरै भएकै कारण बैंकको सञ्चालन खर्च बढी छ ।


प्रतिक्रिया

One thought on “राष्ट्र बैंकलाई प्रश्न- एनआइसी एसियाले चाहँदैमा आफ्ना शाखा बन्द गर्न पाउँछ ?

  1. सर्वसाधारणलाई वढिभन्दावढि खाता खोल्न आकर्षित गराउन शाखा विस्तार गर्ने अहिले आएर खातावालालाई दुख दिने नियतले शाखा बन्द गराउनु भनेको गलत नियत हो।राष्ट्र बैंक जिम्मेवार हुने कि नहुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर