गुल्मी इस्माको गाउँसभा एमालेका जनप्रतिनिधिले गरे बहिष्कार, तत्काल सार्वजनिक सुनुवाइको माग – Nepal Press

गुल्मी इस्माको गाउँसभा एमालेका जनप्रतिनिधिले गरे बहिष्कार, तत्काल सार्वजनिक सुनुवाइको माग

रुपन्देही । पहिले सार्वजनिक सुनुवाइको माग गर्दै गुल्मीको इस्मा गाउँपालिकाको गाउँ सभा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । सभामा सञ्चालन भएपछि सभा सदस्यहरूले विभिन्न माग राखेर सभामा नाराबाजी गर्दै बहिष्कार गरेका हुन् ।

गाउँपालिकाले दुई वर्षसम्म सार्वजनिक सुनुवाई नगरेको, बेरुजु बढाएको, जीवराज आश्रित बहुप्राविधिक शिक्षालयलाई गाउँपालिकाले जग्गा उपलब्ध नगराएको, गाउँपालिकाको केन्द्रको विषयमा अदालतलाई दोष लगाएर उम्कने गरेकोले सभामा विरोध र नाराबाजी गरिएको सभा सदस्य तथा इस्मा गाउँपालिका–३ का वडाध्यक्ष ज्योतिराज कुँवरले बताए ।

त्यस्तै घुम्ती स्वास्थ्य शिविर गर्दा १० लाखको औषधी खरिद गरेर अनियमितता गरेको गुनासो आउँदा पनि पालिकाले समिति गठन गरेर छानबिन नगरेको, अध्यक्ष र उपाध्यक्षले एकमुष्ट बजेट राखेर वडालाई कमजोर बनाइएको भन्दै आफूहरूले सभामा नाराबाजी गरेर बहिष्कार गरेको कुँवरले जानकारी दिए । उनीहरूले पार्टीले बुझाएका ज्ञापन पत्रका विषय सम्बोधनको माग पनि गरेका थिए ।

‘आफूहरू र पार्टीले ज्ञापनपत्रमा पेश गरेका पालिकाका महत्त्वपूर्ण विषयमा सभा कहिल्यै गम्भीर बनेनन्,जायज माग सम्बोधन नभएसम्म सभामा विरोध गर्छौ ।’ उनले भने । इस्मा गाउँपालिकाको गाउँ सभामा एमालेका ११ जना सभा सदस्य रहेका छन् ।

बिहीबार इस्मा गाउँपालिकाको गाउँ सभामा विषयगत समिति र न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, एमालेबाट निर्वाचित सभा सदस्यहरूले सभा बहिष्कार गरे ।

नेकपा एमाले इस्मा गाउँ कमिटीले गत १५ माघमा इस्मा गाउँपालिकामा विभिन्न १२ बुँदे मागसहित ज्ञापन पत्र गाउँपालिका प्रमुख भगतसिंह खड्कालाई पेश गरेको थियो ।

अहिले सभामा विरोध र बहिष्कारको नीति अगाडि बढाएको छ । नेकपा एमाले इस्मा गाउँ कमिटी अध्यक्ष राजेन्द्र विक्रम कुँवरले आफूहरूले ज्ञापन पत्र र सभामा उठाएका विषयमा सम्बोधन नभए सबै सभाहरूमा विरोध गरिने बताए ।

उनले नीतिमा सुशासनलाई प्राथमिकता दिएको इस्मा गाउँपालिकाले आजसम्म एउटा पनि सार्वजनिक सुनुवाइ नगर्नु निकै लज्जाको विषय भएकाले इस्मा गाउँपालिकाको सुशासनको स्थितिमा सुधार ल्याउन आफूहरूको खबरदारी निरन्तर रहने बताए ।

उनले गाउँपालिकाको सेवा प्रवाहमा ढिलासुस्ती, आर्थिक चलखेल र पूर्वाग्रहपूर्ण निर्णयसहितका विभिन्न १२ बुँदे मागहरू राखेर गाउँपालिकाको ध्यानाकर्षण गराएकाले यथाशीघ्र सम्बोधन गर्न आग्रह गरे ।

गाउँपालिका प्रमुख भगतसिंह खड्काले सभामा उठेका सबै विषयमा वडाध्यक्षहरुसँग बसेर सल्लाह गरे पनि पार्टीको बहिष्कार गर्ने निर्देशन भनेर सभा सदस्यहरू सभाबाट बाहिरिएको बताए ।

गाउँपालिकाको केन्द्रको विषय सर्वोच्चमा भएकाले सभामा बोल्न सान्दर्भिक नहुने र स्थानीय सरकार सञ्चालन ऐनअनुसार जीवराज आश्रित बहु प्राविधिक शिक्षालयलाई जग्गा भोग चलन गर्न दिन नमिल्ने भएकाले संघमा पत्राचार गरेको बताउँदै पालिकामा सर्वपक्षीय छलफल र निर्णय गरिने खड्काले बताए ।

उनले औषधीमा अनियमितताको विषयमा पनि शाखा र वडाध्यक्षसँग छलफल गरिएको र सार्वजनिक सुनुवाइको पनि मिति तय भएको बताए । इस्मा गाउँपालिकाको केन्द्रको विषय एमाले, कांग्रेस र माओवादीकाका नेताहरू बीचको भूगोलको लडाइँमा फसेको छ ।

अघिल्लो नेतृत्वकै सभाले केन्द्र टुङ्गो लगाएर ८० लाखभन्दा बढीका दुई भवन निर्माण गरे पनि प्रयोगमा नआउँदा भत्किन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर