रुपन्देहीमा भारतीय प्रतिबन्धित माछा धमाधम भित्रँदै – Nepal Press

रुपन्देहीमा भारतीय प्रतिबन्धित माछा धमाधम भित्रँदै

रुपन्देही । रुपन्देहीमा धमाधम भारतीय प्रतिबन्धित माछा भित्रिइरहेको छ । माछा उत्पादनका लागि रुपन्देही हब मानिए पनि अवैध बाटोबाट तस्करले मिलेमतोमा माछा भित्र्याउँदा यहाँका किसान मारमा परेका छन् । अर्कातर्फ सस्तोमा मरेका माछा भित्रिँदा किसानले मूल्यसमेत पाउन सकेका छैनन् ।

बुटवल प्रहरीले मङ्गलवार नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनबाट बरामद गरिएको भन्सार छलेर नेपाल भित्राइएको २ हजार केजी माछा बरामद गरी नष्ट गरेको हो ।

विशेष सूचनाका आधारमा हाटबजारको बुटवल सिद्धार्थ क्याम्पस अगाडि शङ्कास्पद अवस्थामा रोकी राखेको लु २ च ३३२९ नंको बोलेरो गाडी चेक जाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेका अवैध बैखि जातको माछा २ हजार किलो फेला परेको प्रहरीले जनाएको छ ।

अवैध मरेको माछा रितपूर्वक बरामद गरी माछा ओसार पोसार गर्ने कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं १ बस्ने वर्ष २३ को शिव कुमार यादव र बुद्धभूमि नगरपालिका वडा नं २ बस्ने वर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।

आइस बक्समा राखेर गाडीमा लोड गरी माछा ल्याइएको थियो । चालक र तस्करले कपिलवस्तुबाट माछा ल्याएको भनेर बिल देखाइरहेको डीएसपी पण्डितले जनाएको र यसबारे अनुसन्धान भइरहेको बताए ।

स्रोतका अनुसार कपिलवस्तुको विभिन्न नाकाबाट मरेका भारतीय माछा भित्र्याएर बुटवल ल्याइएको तर तस्करले नेपालको बिल बनाएर प्रहरीबाट माछा फिर्ता लिने प्रपञ्च गरिरहेका छन् ।

ठूलो मात्रामा अवैध माछासहित प्रहरीले बलेरो पिकअप गाडी र दुईजना मानिसलाई नियन्त्रणमा लिएको हो । पछिल्लो समय रुपन्देहीमा यति ठूलो मात्रामा एकैपटक माछा बरामद भएको थिएन ।

प्रदेश प्रहरी कार्यालय, दाङ र इलाका प्रहरीको संयुक्त टोलीले अवैध माछा बुटवल ल्याइएको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको थियो । डीएसपी पण्डितका अनुसार माछा र गाडीसहित तस्कर सझार पछिया र चालक शिवकुमार यादवलाई पनि नियन्त्रणमा लिइएको छ । तस्कर पछिया ‘विश्व’ उपनामले परिचित चर्चित तस्कर हुन् । उनी भारतीय नागरिक हुन् ।

लामो समयदेखि कपिलवस्तुबाट अवैधरुपमा भारतीय माछा तस्करी हुँदै आएको छ । यसबारे लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतसम्म सूचना पुगेपछि उनकै पहलमा माछा बरामद गरिएको हो ।

अवैध माछा भारतबाट नेपाल ल्याउँदा तस्करहरुले विभिन्न ठाउँमा सेटिङ मिलाएर ल्याउने गर्छन् । तर, मिलेमतो कसैले पक्राउ गर्न सकेका थिएनन् ।

यसअघि इप्रका बुटवलले भारतीय तस्कर विश्वले अवैध रुपमा भित्र्याएका माछा बरामद गर्दा नेपालको बिल देखाएर माछा छुटाएका थिए । यसपटक पनि उनले माछा छुटाउन अनेक चलखेल गरिरहेका छन् ।

विश्वले कपिलवस्तुसहित रुपन्देही र पश्चिम नवपरासीबाट पनि माछा तस्करी गर्दै आएका छन् ।

सेटिङमा अवैध काम गर्दै आएको आरोप खेप्दै आएका उनी कसरी पक्राउ परे भन्ने विषयले अहिले चर्चा पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *