प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका अधिकांश खेलाडी ‘फ्लप’ – Nepal Press

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका अधिकांश खेलाडी ‘फ्लप’

काठमाडौं । पहिलो पटक राउन्ड रोबिनका आधारमा भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबार सकिएको छ । ४६ खेल भएको प्रतियोगितामा राष्ट्रिय टोलीमा पहिलो रोजाइका खेलाडीको प्रदर्शन खासै राम्रो हुन सकेन ।

सर्वाधिक रन लिने शीर्ष १० भित्र पहिलो रोजाइका खेलाडीमध्ये कप्तान रोहित पौडेलमात्र अटाएका छन् । सर्वाधिक विकेट लिने शीर्ष १० भित्र पहिलो रोजाइका खेलाडीमध्ये २ जनामात्रै परेका छन् । ललित राजवंशी तेस्रो र सोमपाल कामी छैटौं स्थानमा छन् ।

रोहित पौडेल (सशस्त्र प्रहरी बल)

त्रिभुवन आर्मी क्लब छोडेर सशस्त्र प्रहरी बल (एपीएफ) बाट खेलेका कप्तान रोहित पौडेलको प्रदर्शन औसत रह्यो । उनी सर्वाधिक रन बनाउनेको सूचीमा सातौं स्थानमा छन् । पहिलो स्थानमा रहेका मधेश प्रदेशका अनिलकुमार शाहले ३८६ रन बनाउँदा पौडेलले २७३ रन बनाए । पौडेलले प्रतियोगिताभर ४ वटा अर्धशतक प्रहार गरेका थिए ।

लुम्बिनी, आर्मी, मधेश र कोशीविरुद्ध अर्धशतकीय इनिङ खेलका उनले कोशी प्रदेशविरुद्ध सर्वाधिक ८० रन बनाएका थिए । पुलिससँग डक आउट भएका पौडेल बागमतीविरुद्ध २, सुदूरपश्चिम र गण्डकी प्रदेशविरुद्ध समान ४, कर्णालीविरुद्ध १४ रनमा आउट भएका थिए ।

बलिङमा समेत पौडेलले औसत प्रदर्शन गरे । उनले ९ खेलमा १४ विकेट लिन सफल भए । बागमती प्रदेशविरुद्ध पौडेलले सर्वाधिक ४ विकेट लिएका थिए ।

दीपेन्द्रसिंह ऐरी (नेपाल पुलिस क्लब)

नेपाल पुलिस क्लबलाई उपाधि जिताए पनि कप्तान दीपेन्द्रसिंह ऐरी सर्वाधिक रन तथा विकेट लिने शीर्ष १० को सूचीमा अटाएनन् । उनले ९ खेलमा १६५ रन र १५ विकेट लिए ।

उनले ९ वटै खेलमा कुनै अर्धशतक प्रहार गर्न सकेनन् । सुदूरपश्चिम प्रदेशविरुद्ध सर्वाधिक ४४ रन बनाए । एक खेल नखेलेका दीपेन्द्रले ४ खेलमा ब्याटिङ गर्न नपरेपछि रनको अंक बढाउन पाएनन् ।

दीपेन्द्रले बलिङतर्फ १५ विकेट लिए । ९ खेलमा ६६ ओभर बलिङ गरेका उनले १८९ रन खर्चेर १५ विकेट लिए । उनले सुदूरपश्चिम प्रदेशविरुद्ध सर्वाधिक ७ विकेट लिएका थिए । उनले सुदूरपश्चिमको ब्याटिङलाई धराशायी बनाएका थिए ।

कुशल भुर्तेल (नेपाल पुलिस क्लब)

प्रधानमन्त्री कपमा नेपाली राष्ट्रिय क्रिकेट टीमका भरपर्दा ब्याटर कुशल भुर्तेलको प्रदर्शन सन्तोषजनक रहन सकेन । अष्टे«लियामा लिग खेल्न गएका कुशलले पहिलो खेल गुमाएका थिए । त्यसपछिको खेलमा पनि उनी क्रिजमा जन्म सकेनन् । उनले १६३ रन बनाए ।

एक अर्धशतक प्रहार गरेका भुर्तेल दुई खेलमा डक आउट भएका थिए । सुदूरपश्चिमविरुद्ध ६७ रन बनाएका भुर्तेल एपीएफ र आर्मीविरुद्ध डक आउट भएका थिए ।

बलिङमा उनले प्रतियोगिताभर ५ विकेट लिए । उनले लुम्बिनीविरुद्ध ३, कर्णाली र कोशीविरुद्ध समान १-१ विकेट लिएका थिए ।

आसिफ शेख (सशस्त्र प्रहरी बल)

नेपाली राष्ट्रिय टीमका ओपनर आसिफ शेखको पनि प्रधानमन्त्री कपमा ब्याटिङ चल्न सकेन । कर्णाली प्रदेशविरुद्ध शतक र मधेशविरुद्ध अर्धशतक प्रहार गरेका आसिफ अन्य खेलमा भने क्रिजमा जम्न सकेनन् ।

कर्णालीविरुद्ध १०८ र मधेशविरुद्ध ५९ रन बनाएका उनी अन्य खेलमा भने सस्तोमै आउट भए । उनी राष्ट्रिय टोलीका पहिलो रोजाइका विकेट किपर हुन् । उनले सन् २०२१ मा राष्ट्रिय टीममा डेब्यु गरेका थिए । त्यसपछि उनी निरन्तर टीममा छन् ।

करण केसी (नेपाल पुलिस क्लब)

नेपाली राष्ट्रिय टीमका अलराउन्डर करण केसीको प्रदर्शन पनि राम्रो हुन सकेन । ब्याटिङमा खासै अवसर नपाएका करणले बलिङमा खासै चमत्कार गर्न सकेनन् । ब्याटिङमा ५ खेलमा मौका पाएका उनले एक अर्धशतकसहित ८६ रनमात्र बनाउन सके । लुम्बिनीविरुद्ध ५७ रन बनाएका करण बागमतीविरुद्ध १५, आर्मीविरुद्ध १०, सुदूरपश्चिमविरुद्ध ४ र एपीएफविरुद्ध शून्य रनमा आउट भएका थिए ।

बलिङमा १० खेलमै अवसर पाएका करणले कुल १० विकेट लिए । कोशीविरुद्ध सर्वाधिक ३ विकेट लिएका करणले बागमती, गण्डकी र लुम्बिनीविरुद्ध समान २-२ विकेट लिए । ५ खेलमा उनी विकेटविहीन भएका थिए

सोमपाल कामी (त्रिभुवन आर्मी क्लब)

प्रधानमन्त्री कपमा पहिलो रोजाइका बलर सोमपाल कामीको प्रदर्शन औसत रह्यो । उनले १० खेलमा १९ विकेट लिए । पुलिस क्लबविरुद्ध सोमपालले सर्वाधिक ४ विकेट लिएका थिए । बागमतीविरुद्ध ३ विकेट लिएका उनले लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमविरुद्ध समान २-२ विकेट लिए । गण्डकीविरुद्ध भने उनी विकेटविहीन भएका थिए ।

ब्याटिङतर्फ ६ खेलमा सोपमालले १०२ रन बनाए । उनले फाइनलमा प्रहरीविरुद्ध ३९ रन बनाएका थिए । उनले फाइनलमा सङ्कटमा परेको आर्मीलाई विवेक यादवसँगको साझेदारीमा उकासेका थिए ।

आरिफ शेख (नेपाल पुलिस क्लब)

प्रधानमन्त्री कपमा आरिफ शेखको प्रदर्शन पनि सन्तोषजनक रहेन । नेपाल पुलिस क्लबबाट खेल्दै आएका आरिफले १० खेलमा दुई अर्धशतकसहित २५६ रन बनाए ।

उनले लुम्बिनीविरुद्ध ७६ र बागमतीविरुद्ध ५७ रन बनाएका थिए । अरू खेलमा भने उनको प्रदर्शन खासै राम्रो रहेन । २ खेलमा बलिङ गरेका आरिफले १ विकेट लिए । उनले लुम्बिनीविरुद्ध १ विकेट लिएका थिए ।

भीम सार्की (त्रिभुवन आर्मी क्लब)

भीम सार्कीका लागि प्रधानमन्त्री कप सम्झन लायक रहेन । उनले १० खेलमा १५६ रनमात्र बनाउन सके । पुलिसविरुद्ध ५२ रन बनाउनुबाहेक भीमका लागि अन्य इनिङ बिर्सनलायक रह्यो ।

उनी एपीएफ र सुदूरपश्चिमविरुद्ध २ र पुलिसविरुद्ध फाइनलमा ५ रनमा आउट भएका थिए । ३ खेलमा बलिङसमेत गरेका भीम विकेटविहीन रहे । सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका भीम निरन्तर टीममा पर्दै आएका छन् ।

कुशल मल्ल (त्रिभुवन आर्मी क्लब)

कुशल मल्लका लागि प्रधानमन्त्री कप औसत भयो । १० खेलमा कुशलले बलिङ र ब्याटिङमा मध्यम प्रदर्शन गरे । उनले ब्याटिङमा २४६ रन र बलिङ १५ विकेट लिए ।

उनले सुदूरपश्चिम प्रदेशविरुद्ध ७५ रन बनाएका थिए । अन्य खेलमा ५० रन कटाउन सकेनन् । बलिङमा लुम्बिनीविरुद्ध ४ र कर्णालीविरुद्ध ३ विकेट लिए । उनी ब्याटिङतर्फ सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा १२औं स्थानमा र बलिङमा ११औं स्थानमा छन् ।

ललित राजवंशी (नेपाल पुलिस क्लब)

पहिलो रोजाइका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् ललित राजवंशी । उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष ३ मा छन् । उनी १० खेलमा २२७ रन खर्चेर २३ विकेट लिन सफल भए । उनी प्रतियोगिताको १० वटै खेलमा विकेटविहीन हुनु परेन ।

सन् २०१९ मा यूएईविरुद्ध डेब्यु गरेका ललित पछिल्लो समय निरन्तर राष्ट्रिय टोलीमा छन् । ललित नेपाली राष्ट्रिय टीमका भरपर्दा बायाँ हाते स्पिनर हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *