भरतपुरमा ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ सम्पन्न – Nepal Press

भरतपुरमा ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ सम्पन्न

काठमाडौं । भरतपुर महानगरपालिकासँगको सहकार्यमा चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ मंगलबार सकिएको छ । भरतपुर १५ रामपुरस्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा आइतबार सुरु भएको ट्रेनिङ आज सकिएको हो ।

नेपालका अन्तर्राष्ट्रियस्तरका अम्पायरद्वय विनयकुमार झा र मोहम्मद सफिकद्वारा दिइएको प्रशिक्षणमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले बनाएका ४२ वटा नियम र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०१७ मा संशोधन गरेका नियमहरुको बारेमा प्रकाश पारिएको थियो ।

समापनमा भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जिल्लामा पहिलो पटक क्रिकेटका प्राविधिकहरु उत्पादन गर्ने योजनाअनुरुप महानगरले जिल्ला क्रिकेट संघसँगको सहकार्यमा तालिम गरिएको बताए ।

खेल प्राविधिकहरुको उत्पादनले जुनसुकै खेलको पनि समुचित विकासमा टेवा पुग्ने उनले बताए ।

माघ २६ गतेबाट नमुना मैदानमा भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुँदैछ । यस प्रशिक्षणबाट उत्पादित खेल प्राविधिकहरुलाई उक्त प्रतियोगितामा प्रयोग गरिने चितवन जिल्ला क्रिकेट संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *