लुम्बिनीका मुख्यमन्त्रीलाई कांग्रेसले बुझायो प्रदेशवासीको माग र सुझाव – Nepal Press

लुम्बिनीका मुख्यमन्त्रीलाई कांग्रेसले बुझायो प्रदेशवासीको माग र सुझाव

द्वन्द्वकालमा माओवादीले लुटेको सम्पत्ति फिर्तादेखि विनाव्याज ऋण दिनुपर्ने माग

रुपन्देही । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान’बाट आएका सुझाव लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्रमार्फत् जानकारी गराएको छ । अभियानमा खटिएको कांग्रेसको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा बाटोघाटो, सिंचाइ, खानेपानी, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको व्यवस्था, रुकुम पूर्वमा द्वन्द्वकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको, बैंकबाट लुटिएका सुनवापत क्षतिपूर्ति प्राप्त नभएकोले तत्काल ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको छ ।

साथै पूर्वी रुकुममा भरपर्दो इन्टरनेटको व्यवस्था‍ गर्नुपर्ने, रोजगारीको अभावमा ठूलो संख्यामा युवाहरू विदेशिएको र त्यसलाई रोक्न उद्यमशीलता विकास गर्न रोजगारमूलक तालिम एवम् विनाव्याज ऋण प्रदान गर्नुका साथै उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

अर्घाखाँचीमा चिस्यान केन्द्रमा राखिएको झण्डै १ करोड रुपैयाँ बराबरको सुन्तला कुहिएकाले मर्कामा परेका किसानहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न, प्यूठान, अर्घाखाँचीलगायत जिल्लामा सुरु गरिएको एक घर एक धारा अभियानअन्तर्गत सरकारी, स्थानीय समुदायले पूरा गरेको कामको भुक्तानी गर्न माग राखिएको छ । किसानका लागि समयमै मलखाद, बीउबिजनको व्यवस्था गर्न पनि माग गरिएको छ ।

सिंचाइको समस्या रहेका जिल्लाहरुमा सिंचाइको व्यवस्‍था गर्नुपर्ने, लुम्बिनी प्रदेशअन्तर्गत पहाडी जिल्लाहरूमा सञ्चालित अधिकांश क्याम्पस भवन जीर्ण रहेकाले तिनको मर्मतसम्भार र पुनर्निर्माणका साथै प्राध्यापकहरूको तलब निश्चित गर्न माग गरिएको छ ।

पाल्पाको भगवती मन्दिर, रानीमहललगायतका पर्यटकीय महत्त्वका केन्द्रहरूको संरक्षण गरी प्रचार–प्रसार गर्नुपर्नेलगायतका माग नेपाली कांंग्रेसले मुख्यमन्त्री चौधरीसँग गरेको छ ।

मुख्यमन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशममा ‘समुदायमा कांग्रेस अभियान’की संयोजक डाक्टर डिला संगौलाले महिला हिंसा, बालविवाह तथा दाइजोप्रथालाई नियन्त्रण गर्न ध्यानाकर्षण गरिन् ।

ज्ञापनपत्रमा जंगली जनावरहरू नीलगाई, बँदेल नियन्त्रण, जीर्ण सडकहरूको मर्मतसम्भार, लुम्बिनी प्रदेशमा सञ्चालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको निरन्तरता, साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन, विनाझन्झट व्यापार व्यवसाय गर्ने वातावरण निर्माण, गुल्मीको मुसिकोट नगरपालिकामा निर्माणाधिन पुल पटक पटक भत्किएर खोलाले बगाएकाले पुनर्निर्माण सुनिश्चित गर्नुपर्नेलगायत माग उल्लेख छन् । प्रदेश निजामती नियमावली र स्थानीय सरकारअन्तर्गत स्थानीय सेवा ऐन तत्काल ल्याउन पनि अनुरोध गरिएको छ ।

मुख्यमन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउन कांग्रेस केन्द्रीय सदस्य डा. संगौलाको नेतृत्वमा कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ, महामन्त्री विक्रम खनाल, सहमहामन्त्री विष्णु खनाल र निमा गिरी गएका थिए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री चौधरीले पार्टीले सञ्चालन गरेको अभियानबाट नागरिकको भावना र आवश्यकताको प्राथमिकतालाई समेटर बुझाएको ज्ञापनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश तहबाट गरिने सम्बोधनलाई प्राथमिकतामा राख्ने र संघीय सरकारबाट गर्नुपर्ने सवाललाई सिफारिस गर्ने पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर