काठमाडौं महानगरपालिकाले गर्‍याे एआई प्रविधियुक्त १३ सीसीटीभी जडान, के छन् विशेषता ? – Nepal Press

काठमाडौं महानगरपालिकाले गर्‍याे एआई प्रविधियुक्त १३ सीसीटीभी जडान, के छन् विशेषता ?

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र एआई (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपीआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटीभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान भएका छन् ।

महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्यमा क्यामरा जडान गरेको हो । यी क्यामराहरुले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरु कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउँछ । यस्ता विशेषता भएका क्यामरामध्ये ३ ठाउँमा एनएफपीआर (सवारी साधन र चालकसम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएका हुन् ।

यससँगै सहकार्यबाट शहरमा राखिएका सीसीटीभीको संख्या ३३५ पुगेको छ । २०७५ फागुन १५ गते सम्झौता गरेर आ. व. २०७६/०७७ मा २५ वटा पीटीजेड (प्यान, टिल्ट, जुम) र १४० वटा फिक्स्ड गरेर १६५ वटा र २०८० बैशाख ७ गते सम्झौता गरेर चालू आर्थिक वर्षमा ५ वटा पीटीजेड, १४५ वटा फिक्स्ड, १० वटा एएनपीआर र १० वटा एफआरएस गरी १७० वटा क्यामरा जडान गरिएका हुन् । अघिल्लो सम्झौताबमोजिम महानगरपालिकाले नेपाल प्रहरीलाई ३ करोड रुपैयाँ प्रदान गरेको थियो । चालू आर्थिक वर्षमा ६ करोड रुपैयाँ प्रदान गरिनेछ । जसमध्ये पहिलो किस्तामा ३ करोड रुपैयाँ दिइसकिएको छ ।

रात्रिकालीन दृश्यसमेत स्पष्ट हेर्न सकिने क्षमताका क्यामरा जडान गर्ने, रात्रिकालीन उज्यालोका लागि सडक बत्ती व्यवस्था गर्ने, निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गर्ने आपसी कामका सूची हुन् । सहकार्यमा भएको कामको नतिजा निरीक्षण गर्न महानगरपालिकाकी उपमेयर सुनिता डंगोल आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी गएकी छन् ।

सूचना प्रविधि विभाग र योजना अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित निरीक्षणमा गएकी उपमेयर डंगाेलले सीसीटीभी कन्ट्रोल रुम, सर्भर कक्ष, भिडियो वाल, प्रहरी सहयोगका लागि गरिने आकस्मिक फोन १०० (कल सेन्टर) सञ्चालन व्यवस्थापन अनलोकन गरेकी छन् ।

‘नेपाल प्रहरीसँग भएको विशेषज्ञताबाट सीसीटीभी क्यामरा जडानसम्बन्धी काम संस्थागत हुन थालेको छ । शान्ति सुरक्षा र शहरी व्यवस्थापनमा तथ्य तथा तथ्याङ्क प्राप्त हुन थालेका छन् । विगत वर्षहरुमा गरिएका अभ्यासहरुबाट नयाँ कामका लागि केही सिकाइ पनि भएको छ’, निरीक्षणपछि डंगोलले भनिन्, ‘वडाको बजेटबाट पनि सीसीटीभी जडान भएको छ । ती क्यामरालाई प्रहरीको निगरानी कक्षसँग जोड्ने विषयमा सम्भावना अध्ययन गर्नुपर्छ । सम्भव भए जोड्नुपर्छ ।’

प्रहरी कन्ट्रोल रुमबाट निगरानी गरिने सीसीटीभीहरु क्रमशः एआईमा आधारित बनाउँदै लगिएको छ । यसअघि भिडियो म्यानेजमेन्ट सिस्टम (भीएमएस) मा आधारित थियाे । अहिले १ हजार ३५२ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको सञ्चार तथा सूचना ऐनको दफा ६१ मा सीसीटीभी जडान र डाटा सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । आवास, व्यवसाय, सार्वजनिक निकाय, स्थान र क्षेत्रमा सीसीटीभी जडान गर्दा प्रचलित कानूनबमोजिम अनुमति लिनुपर्ने, कानून जारी हुनुअघि जडान गरिएको भए तोकिएको ढाँचामा जानकारी गराउनुपर्ने ऐनले व्यवस्था गरेको छ ।

यसैगरी यसबाट प्राप्त हुने डाटा सुरक्षाका लागि कार्यविधि बनाउने ऐनमा उल्लेख छ । डाटा भण्डारण गर्दा, प्रशोधन गर्दा, नष्ट गर्दा वा अर्कालाई उपलब्ध गराउँदा गोपनीयताको हकसम्बन्धी संघीय कानूनबमोजिम हुने ऐनले व्यवस्था गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *