‘बाझाबाझ’ गरेको दुई वर्षपछि राजेन्द्र लिङदेन र कमल थापाको मन माझामाझ, सहकार्यको ढोका खुल्यो – Nepal Press

‘बाझाबाझ’ गरेको दुई वर्षपछि राजेन्द्र लिङदेन र कमल थापाको मन माझामाझ, सहकार्यको ढोका खुल्यो

उपाध्यक्ष पौडेल भन्छन्- दुवै नेतालाई कार्यगत एकता र एकताका लागि घच्घच्याएको छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई वर्ष लामो संवादहीनता तोडेका छन् । केही दिनअघि उनीहरुले ‘वान टु वान’ भेटेर मन माझामाझ गरे ।

काठमाडौंको याक एन्ड यति होटलमा नेताद्वयबीच डेढ घन्टा लामो अन्तरंग कुराकानी भएको थियो । भेटमा व्यक्तिगत र राजनीतिक छलफल भएको दुवै पार्टीका स्रोतहरुले जानकारी दिएका छन् । यो भेटले दुई नेताहरु फेरि एक ठाउँमा आउन सक्ने सम्भावनाको ढोका खोलेको दाबी पनि गरिएको छ ।

राप्रपाको गत महाधिवेशनमा थापालाई स्तब्ध तुल्याउँदै लिङदेनले पार्टी अध्यक्षमा विजयी भएका थिए । थापाले पराजय सहन सकेनन् । उनले आफ्नो हारमा निर्मल निवासलाई दोष देखाउँदै यसबारे छानबिन गर्न माग राखे । तर, लिङदेन छानबिनका लागि तयार भएनन् । त्यसपछि थापाले राप्रपाबाटै बाहिरिएर राप्रपा नेपालको स्थापना गरे ।

राप्रपा नेपालले सुरुमै राजतन्त्र पुनःस्थापनाकाे एजेन्डा नबोक्ने निर्णय लियो । गणतन्त्र स्वीकारेर अघि बढ्दा राप्रपा नेपाल यता न उताको बन्न पुग्यो । चुनावमा निराशा हात लाग्यो । एमालेको सहारामा चुनाव लडेर पनि थापाले जित्न सकेनन् । राप्रपाकै उम्मेदवार दीपक सिंहले थापालाई लज्जास्पद हार चखाएका थिए ।

चुनावी पराजय र कार्यकर्ताको दबाबमा परेका थापाले अन्ततः आत्मसमीक्षा गर्दै फेरि राजतन्त्रकै एजेन्डामा आफूलाई फर्काएका छन् । अहिले लिङदेन र थापाबीच को कडा राजावादी भन्ने प्रतिस्पर्धा छ । यद्यपि, दुवै नेता आपसी सहकार्यका निम्ति पनि उदार देखिएका छन् ।

राप्रपाको चुनावी परिणामपछि असन्तुष्ट र क्रोधित बनेका थापालाई फकाउन लिङदेनले प्रयास गरेका थिए । उनले थापाको बुढानिलकण्ठस्थित निवासमै पुगेर लामो छलफल गरे । तर, बटारिएका कमल थापालाई सोझ्याउन सकेनन् । छलफल सौहार्दपूर्ण भए पनि फलदायी भएन ।

थापाले राप्रपा परित्याग गरेपछि उनीहरु दुई किनारामा पुगे । यदाकदा कार्यक्रमहरुमा जम्काभेट भए पनि पानी दुई नेताको छुट्टै भेट भएको थिएन । तर, अहिले आएर उनीहरु एक-अर्काप्रति नरम देखिएका छन् । थापाले केही समयअघि नेपाल प्रेसलाई अन्तर्वार्ता दिँदै राजतन्त्रको एजेन्डा त्यागेर गणतन्त्रवादी बनेकोमा आत्मालोचना गरेका थिए । उनले राप्रपा सरकारमा नगइ सडकमा आएको खण्डमा आफू लिङदेनलाई नेता मानेर पार्टी एकता गर्न समेत तयार रहेको उनको भनाइ थियो ।

स्रोतका अनुसार राप्रपा नेपाललाई कहीँ पनि पुर्‍याउन नसक्ने नदेखेपछि थापा राप्रपासँग एकताका निम्ति इच्छुक छन् । लिङदेन चाहिँ पर्ख र हेरको मानसिकतामा देखिन्छन् । थापालाई भित्र्याउँदा फेरि पार्टीमा अर्को विग्रह र गुटबन्दी पैदा हुन सक्ने उनको चिन्ता छ ।

दुई नेताबीचको भेटवार्तामा राजतन्त्र पुनःस्थापनाका लागि सडक संघर्षमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । तर, कुनै समझदारी भएको छैन । राप्रपा र राप्रपा नेपालबीच पार्टीगत हिसाबले कुराकानी पनि सुरु भइसकेको छैन ।

लिङदेन निकट स्रोतले कुनै पनि शर्त मानेर पार्टी एकता हुन नसक्ने बतायो । राप्रपा अब सरकारमा नजाने हो भने एकता हुन सक्ने थापाको भनाइमा स्रोतले यस्तो प्रतिक्रिया दिएको हो । ‘यदि निशर्त रुपमा आउन चाहनुहुन्छ भने सकारात्मक छौं । तर, शर्त मानेर एकता गर्दैनौं’, स्रोतले भन्यो ।

राप्रपाले फागुनदेखि सडक संघर्ष गर्ने घोषणा गरिसकेको छ । यद्यपि, आगामी दिनमा सरकारमै नजाने भनेर ढोका बन्द गरिसकेको छैन । लिङदेन स्वयंले भने आफू यो कार्यकालमा फेरि मन्त्री नबन्ने घोषणा गरेका छन् ।

उपाध्यक्ष पौडेल भन्छन्- एकताको पक्षमा छु

राप्रपा उपाध्यक्ष उद्धव पौडेल राप्रपा र राप्रपा नेपाललाई जोड्ने अभियानमा छन् । उनी राप्रपामा विभाजनपछि कमल थापातिर लागेका थिए । तर, थापाले राजतन्त्रको एजेन्डा त्यागेपछि असन्तुष्ट भएर फेरि राप्रपामै फर्किए ।

पौडेल अहिले जसरी पनि थापा र लिङदेन मिल्नुपर्ने वकालत गरिरहेका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले दुवै अध्यक्षलाई भेटेर आफूले एकताका लागि जोड दिएको बताए ।

‘म दुई नेताहरुबीच दूरी मेटियोस् र दुई पार्टीबीच कार्यगत एकता वा पार्टी एकता होस भन्ने मान्यता राख्ने मान्छे परें’, पौडेलले भने, ‘उहाँहरु दुवैलाई भेटेर भनेको पनि छु । ’

‘नेताद्वयबीच पनि भेट भएको छ जस्तो लाग्छ, प्रारम्भिक कुराहरु भएको हुनुपर्छ’, उनले भने, ‘अब विस्तारै कुरा अगाडि बढ्ला ।’

राजसंस्था पुनःस्थापनाको आन्दोलनमा दुई पार्टीबीच सहकार्यको सम्भावनाका विषयमा प्रश्न गर्दा पौडेलले जवाफ दिए, ‘त्यसकै लागि पहल सुरु भएको हो । तर, परिपक्व कुराकानी भइसकेको छैन ।’


प्रतिक्रिया

2 thoughts on “‘बाझाबाझ’ गरेको दुई वर्षपछि राजेन्द्र लिङदेन र कमल थापाको मन माझामाझ, सहकार्यको ढोका खुल्यो

  1. मिल्नु राम्रो हो।मुलभुत अजेण्डाका लागि र आम कार्यकर्ता र शुभचिन्तकका लागि पनि यो आवश्यक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर