गृहमन्त्रीसँग रुष्ट कांग्रेसले भन्यो: सरकार स्टन्टबाजी गर्ने ठाउँ होइन – Nepal Press

गृहमन्त्रीसँग रुष्ट कांग्रेसले भन्यो: सरकार स्टन्टबाजी गर्ने ठाउँ होइन

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

सोमबार शुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रियसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको बताए ।

सरकारमा बसेका मन्त्रीहरुले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको बताउँदै उनले सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भए पनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाए ।

सांसद रायमाझीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गर्ने काम गरेको आरोप लगाए ।

उनले सरकार नौटंकी गर्ने ठाउँ नभएको बताए ।

उनले भने, ‘यो स्टन्ट गर्ने बेला होइन । हामी स्टन्ट गरिरहेका छौं । नयाँ आएका राजनीतिक पार्टीको नक्कल गरिरहेका छौं । केही नयाँ राजनीतिक पार्टीहरु आएका छन्, जन्मेका छन् । तिनले गर्ने हो कुरा । सरकारमा बस्ने मानिसहरुले त काम गर्ने हो । नाटक गर्ने होइन । नौटंकी गर्ने होइन । नौटंकी बढी भयो जस्तो लाग्छ । स्वास्थ्य मन्त्रालयको कुरा त्यस्तै आउँछ । आजकाल गृहमन्त्रीज्यूको पनि कुरा अलिअलि त्यस्तै आउन थालिसक्यो । गृहमन्त्रीज्यूको यही रोष्टमबाट प्रशंसा गरेको थिएँ । तर, कामभन्दा आजकल चर्चा, परिर्चा बटुल्न लागेको हो कि जस्तो लागेको छ । यो चर्चा परिचर्चा त हिजो नानीमाया दाहालको पनि थियो पञ्चायतमा । यसले केही हुँदैन । हामीले इतिहास लेख्ने हो । इतिहास बनाउने हो । इतिहास हामीले नबनाए कसले बनाउँछ ?’

सांसद रायमाझीले सरकारले ४ बजे बैठक बोलाएकोप्रति असन्तुष्टि जनाए । उनले १२ बजे नै बैठक बोलाएर छलफल गरेको भए हुने भन्दै सरकारले कर्मकाण्डी रुपमा संसद चलाउन नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर