सांसद विनोद चौधरीको पहलमा सिंहदरबारमा सर्वपक्षीय बैठक, बर्दघाट-सुनवल सडक फागुनभित्रै कालोपत्रे गरिने – Nepal Press

सांसद विनोद चौधरीको पहलमा सिंहदरबारमा सर्वपक्षीय बैठक, बर्दघाट-सुनवल सडक फागुनभित्रै कालोपत्रे गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सीएससीईसी)लाई निर्देशन दिएका छन् । म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने उनले चेतावनी दिए ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा सोमबार मन्त्री, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधिसमेतको सर्वपक्षीय बैठकमा पूर्वाधारमन्त्री ज्वालाले उक्त निर्देशन दिएका हुन् ।

‘अब समयमा काम सक्नैपर्छ । अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ । अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाइ भएको सहन सक्ने अवस्था छैन’, मन्त्री ज्वालाले चिनियाँ ठेकेदारलाई निर्देशन दिए ।

बैठकको संयोजन गरेका सांसद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुने गरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरे ।

‘ठेकेदार कम्पनीले पटक पटक प्रतिबद्धता जनाउने तर पूरा नगर्ने विषय अब सह्य नहुने भन्दै उनले लक्ष्यअनुसार काम नगर्ने ठेकेदारबाट ‘ड्यामेज क्लेम’ गरी उसकै पैसामा अन्य ठेकेदारहरूलाई परिचालन गर्न ढिलाइ गर्न नहुने बताए ।

‘नारायणगढ-बुटवल सडक तत्काल मर्मतसम्भार गरी सहज रुपमा गाडी आवतजावत हुने वातावरण बनाउनुपर्छ । यो काम अधिकतम एक महिनाभित्र भइसक्नुपर्छ’, सांसद चौधरीले ठेकेदारलाई भने, ‘सन् २०२४ को सेप्टेम्बरसम्म सम्पूर्ण काम सक्नुपर्छ । स्थानीय वासिन्दाले धेरै दुःख पाइसके । अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौं ।’

संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ठेकेदारलाई चीनमा पनि यस्तै गतिमा काम गरेको भए के हुन्थ्यो भन्ने प्रश्न गर्दै ठेकेदार कम्पनीले चिनियाँ कन्ट्रयाक्टरहरुको बदनाम गरेको बताए ।

निर्देशनअनुसार काम भए नभएको अनुगमन गर्न एक महिनापछि आज बैठकमा सहभागी सबै पक्ष सडक निर्माण स्थलमा जाने सहमति भएको बुझिएको छ ।

बर्दघाट-सुनवल बजारमा फागुनभित्रै कालोपत्रे गरिने

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले ठेकेदारलाई बर्दघाट-सुनवल बजारमा कहिलेसम्म कालोपत्रे गर्ने हो स्पष्ट रुपमा समयसीमा चाहियो भनेर प्रश्न गरेका थिए ।

उत्तरमा ठेकेदार कम्पनीका प्रतिनिधिले फागुन मसान्तभित्र बर्दघाट-सुनवल बजारमा कालोपत्रे गरिसक्ने जानकारी दिए ।

सांसद चौधरीले यो कुरा कार्यान्वयन गर्न दुम्किबास-बुटवल सडक खण्डका प्रोजेक्ट हेड शशांक मिश्रलाई निर्देशन दिए ।

बैठकमा चिनियाँ ठेकेदार र सडक विभागका तर्फबाट खटिएका प्रोजेक्ट हेड दुवै जनाले फागुनभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

‘फागुन अन्तिममा दुवै जनासँग बर्दघाटमा भेट्नेछु । काम पूरा भएन भने तपाईंहरूमाथि कारबाही गरिनेछ’, सांसद चौधरीले भने, ‘नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन् । अब पनि ढाँटछल गर्ने काम भयो भने सह्य हुनेछैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर