रोल्पाका विकट गाउँमा बल्यो बिजुली – Nepal Press

रोल्पाका विकट गाउँमा बल्यो बिजुली

रोल्पा । रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ । सुनछहरी गाउँपालिका वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो ।

३३ केभीए प्रसारण लाइनमार्फत वितरण भएको उक्त बिजुलीले दुवै गाउँका १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुगेको नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले स्वीच दबाएर विद्युतीकरणको औपचारिक उद्घाटन गरे ।

उक्त अवसरमा पूर्वऊर्जामन्त्री पुनले गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने बताए ।

गाउँमा बिजुली आएसँगै दैनिक जनजीवनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ छ ।

‘यसअघि गाउँमा बाटो आयो, शहरको सामान सस्तोमा गाउँ आउन थाल्यो । गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले’, उनले भने, अहिले बिजुली आयो । अब विद्यार्थीले टुकी बालेर पढ्नुपर्दैन । दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ । घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ ।’

पुनले राजनीतिककर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरुले साधनस्रोतको समुचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने बताए ।

विकासका काममा अति राजनीतीकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रिय स्तरसम्म समान धारणा र समझदारी हुनुपर्नेमा जोड दिए ।

‘पार्टी फरक हुनसक्छ । विचार फरक हुनसक्छ । तर, विकासको फल सबैले पाउनुपर्छ । सबै पार्टी मिलेर आफ्नो ठाउँ देशकै विकास गर्नुपर्छ’, उनले भने, ‘गाउँमा विकास भएन भने माओवादी, कांग्रेस, एमाले सबैलाई असुविधा हुने हो । विकासका काममा राजनीति गर्नुहुँदैन । किनकि जति पनि सडक, बिजुली, सञ्चार र खानेपानीका क्षेत्रमा काम भएका छन् ती सबै राज्यको स्रोतबाट भएका हुन ।’

गाउँमा सडक, बिजलुी, खानेपानी, सिंचाइको व्यवस्था गर्ने तथा शैक्षिक संस्थाको गुणस्तर सुधार गर्ने नेताहरुको जिम्मेवारी र कर्तव्य भएको उनको भनाइ थियो ।

पुनले आफू ऊर्जामन्त्री हुनुअघि जिल्लामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरमा विद्युतीकरण पुगेको बताए । बाँकी २० प्रतिशत घरमा पनि आगामी २ वर्षभित्र बिजलुी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए दिए ।

एसियन इन्फ्रास्ट«क्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकबाट ऋण र सहयोग लिएर रोल्पामा विद्युतीकरणको काम अघि बढाएको पुनले बताए ।

नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले रोल्पामा विद्युतीकरणको काम तीव्र गतिमा भएको बताए ।

उनले एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकका दुई आयोजनामार्फत जिल्लाका सुनछहरी, लुंग्री, सुनिल स्मति, थवाङ, गंगादेव र परिवर्तन गाउँपालिका तथा रोल्पा नगरपालिकाका विभिन्न वडाहरुमा विद्युतीकरणको प्रक्रिया अघि बढेको जानकारी दिए ।

केही महिनाको बीचमा लुंग्री गाउँपालिकाको वडा नम्बर १, रुण्टीगढी गाउँपालिकाको वडा नम्बर १ र ८, थवाङ गाउँपालिकाको वडा नम्बर ३, गंगादेव गाउँपालिकाको वडा नम्बर १ र ३, माडी गाउँपालिकाको वडा नम्बर १ र २ तथा त्रिवेणी गाउँपाकिलाको वडा नम्बर ६ मा बिजुली बालिएको साहले बताएए ।

भौगोलिक विकटता तथा छरिएर रहेका घरहरुका कारण शहरी वा तराई क्षेत्रमा जस्तो पहाडी क्षेत्रमा छिटो विद्युतीकरण गर्न असहज हुने अनुभव साहले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *