अधिक तरलताको सकस: सस्तो ब्याजमा निक्षेप दिन बैंकहरुबीच तँछाडमछाड – Nepal Press

अधिक तरलताको सकस: सस्तो ब्याजमा निक्षेप दिन बैंकहरुबीच तँछाडमछाड

काठमाडौं । बैंकहरुमा अधिक तरलता (लगानीयोग्य रकम निकै बढी हुनु) भएपछि यतिबेला कम ब्याजमै नेपाल राष्ट्र बैंकलाई निक्षेप दिन बैंकहरुको होडबाजी चलेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साढे २ महिनामा बैंकहरुलाई ५ खर्ब ५० अर्ब निक्षेप प्रस्ताव गरिएको थियो । प्रस्ताव गरेभन्दा झण्डै एक खर्ब कम निक्षेप राष्ट्र बैंकले उठाएको छ ।

बैंकहरुले ०.७ देखि ३.१८ प्रतिशतसम्मको ब्याजदर अफर गरेर निक्षेप लिइदिन राष्ट्र बैंकसँग बोलकबोल गरेका थिए । मंसिर २० गते राष्ट्र बैंकले १० अर्बको निक्षेप संकलन बोलकबोलको सूचना जारी गर्दा बैंकहरुले सबैभन्दा कम ब्याजदरमा बोलकबोल गरेका थिए ।

राष्ट्र बैंकले १० अर्ब माग गरेकोमा ३६ अर्ब ९५ करोड रुपैयाँ बराबरको बोलकबोल आवेदन परेको थियो । त्यतिबेला अधिकतम ०.८४ र न्यूनतम ०.५ प्रतिशत ब्याज राखेर बैंकहरुको निक्षेप लिइदिन राष्ट्र बैंकलाई बिडिङ गरेका थिए ।

राष्ट्र बैंकले मंसिर १३ गतेबाट बैंकहरुबाट निक्षेप तान्न थालेको हो । त्यसयता पछिल्लो पटक माघ १८ गते पनि २० अर्ब तान्न राष्ट्र बैंकले सूचना निकालेको थियो । तर, त्यतिबेला १६ अर्ब ३० करोड रुपैयाँ निक्षेप तानेको थियो । सो बिडिङमा बैंकहरुले औसत ३.१८ प्रतिशतसम्म ब्याज पाएका थिए ।

निक्षेप बोलकबोलमार्फत साढे ५ खर्बको प्रस्ताव गरिएको थियो । तर, राष्ट्र बैंकले प्रस्तावभन्दा कम ४ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप उठायो ।

सर्वसाधारणबाट ७.५ प्रशितसम्म ब्याजदर दिएर उठाएको निक्षेप बैंकहरु राष्ट्र बैंकलाई १ प्रतिशतभन्दा कम ब्याजमा दिन बाध्य छन् ।

अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम हुँदा राष्ट्र बैंकले निक्षेप तान्ने गर्छ । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । यसअघि २.९० प्रतिशत थियो । बैंकिङ प्रणालीमा हालसम्म ६१ खर्ब ४२ अर्ब निक्षेप पुगिसकेको । कर्जा लगानी भने ५० खर्ब ८१ अर्ब पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर