लुम्बिनी प्रदेशको सातौं स्थापना दिवस- एकैथलोमा विविध संस्कृति : १६ पत्रकार सम्मानित, सांसदलाई लोगो वितरण – Nepal Press

लुम्बिनी प्रदेशको सातौं स्थापना दिवस- एकैथलोमा विविध संस्कृति : १६ पत्रकार सम्मानित, सांसदलाई लोगो वितरण

रुपन्देही । लुम्बिनी प्रदेश स्थापना दिवस देउखुरीमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभा स्थापनालाई एकै दिन मनाउने गरी भव्य कार्यक्रम गरिएको हो । संघीयता कार्यान्वयन गर्दै जनताको घरदैलोमा सरकार पुगेको अनुभूति गराउनेगरी काम गर्न प्रदेश सरकारले दृढता व्यक्त गरेको छ ।

प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई लुम्बिनी प्रदेश स्थापनाको मान्यता दिदै सातौं स्थापना दिवस मनाइएको छ ।

राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोह आयोजना गरेर दिवसलाई भब्य रुपमा मनाइएको छ । संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरु सिक्नसक्ने अवस्थामा पुगेको, अझैं पनि संविधानमा लेखिएका अधिकारहरु प्रदेश तहमा आइनपुगेकाले प्रदेशलाई अधिकार सम्पन्न बनाउनेगरी भूमिका खेल्न आवश्यक रहेको प्रदेश प्रमुख अमिक शेरचनले बताए ।

लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । यस बर्ष दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको थियो ।

संघीयताले सबै जातजाति, धर्मसंस्कृतिलाई जोड्न सफल भएको बताउँदै अब संघीयताबाटै मुलुकको विकास सम्भव रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् । उनले संघीयता भनेकै विविध संस्कृति वीचको एकता रहेको धारणा राखे ।

संघीयतालाई बलियो बनाउनेगरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुनहरु भने पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् ।

त्यसका लागि प्रदेश सभाले स्थानीय तहसंग प्रदेश सभा कार्यक्रम नै सञ्चालन गरेर संघीयतालाई बलियो बनाउनेगरी भूमिका खेलेको सभामुख तुलाराम घर्ती मगरले बताए ।

पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयतामा नै सबैको अस्तित्व समावेश हुने भएकाले यो नै उत्तम व्यवस्था रहेको बताए । संस्थापक प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभाले लोगो समेत वितरण गरेको छ ।

लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको उपलब्धी संघीयता भएकाले यसको कार्यान्वयनको लागि सबै तह र क्षेत्रबाट प्रभावकारी भूमिका आवश्यक रहेको गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।

थारु, मगर, नेवार लगागत समुदाय विशेषको झाँकीहरु प्रदर्शन गरिएको थियो । हिउँदे झरीका कारण दिनभर कार्यक्रमस्थल प्रभावित बनेको थियो ।

प्रमुख अतिथि, अतिथि तथा सहभागीहरु छाता ओढेर कार्यक्रमस्थलमा बसेका थिए । मूल समारोहमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्सहित दश वटा मन्त्रायलय तथा प्रदेश सभाले स्टल राखेर भए गरेका प्रगति र उपलब्धीहरु पनि सार्वजनिक गरेका थिए ।

१६ पत्रकार नगदसहित सम्मानित

लुम्बिनी प्रदेश सरकारले १६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । लुम्बिनी प्रदेशभित्र कार्यरत १२ जनालाई श्रृजनशील पत्रकारिता, एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कार र ३ जनालाई सामाजिक क्षेत्रमा सेवा पुराएको भन्दै पुरस्कृत गरिएको छ ।

रेडियो हाइवेका प्रबन्ध निर्देशक केपि घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संयुक्त रुपमा श्रृृजनशील पत्रकारिता पुरस्कार अन्तरगत ५० हजार, सामाजिक सेवा सम्मान र अग्रज पत्रकारिता पुरस्कारमा एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

श्रृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरु तेजेन्द्र केसी, दशरथ घिमिरे, चुमा आचार्य, रामप्रसाद चौहान, रबिन्द्रप्रताप गुप्ता, भुुपाल थापा, अर्जुनकुमार वली, जयमान बुढामगर, माधवप्रसाद अर्याल, बीरेन्द्र केसी, सिराजुद्धीन खान, मधुसुदन भण्डारी पुरस्कृत भएका छन् ।

यस्तै पत्रकारिता, कला संस्कृतिको संरक्षण, अधिकारको क्षेत्रमा वकालत गर्दै आएका पत्रकार सन्तोष दहित, विमला चौधरी र भगवती पाण्डेलाई पुरस्कृत गरिएको छ ।

५ किमि दौड प्रतियोगिताः पुरुषमा कार्की र महिलामा चौधरीलाई उपाधि

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतवार लुम्बिनी प्रदेश खेलकुद परिषदले देउखुरी दौड–२०८० (५किमि) प्रतियोगिता सम्पन्न गरेको छ । प्रदेश राजधानी देउखुरीमा आयोजित ५ किलोमिटर दौड प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरेका थिए ।

पहिलो पटक आयोजित दौड प्रतियोगिताको पुरुषतर्फको उपाधि आर्मीका टंक कार्कीले र महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले हात पारेका छन् ।

प्रतियोगितामा ३ सयभन्दा वढी राष्ट्रिय तथा स्थानीय धावकहरु सहभागी भएका थिए । प्रतियोगिता प्रदेशसभा भवनबाट सुरु भएको थियो । प्रतियोगिताका पुरुषतर्फका विजेता कार्कीले १५.२७.०६ सेकेन्डमा दौड पूरा गरेका हुन् भने नागेश्वर अहिरले १५.२९.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भएका छन् ।

यसैगरी मिलन कार्कीले १५.३३.०९ सेकेन्डमा दौड पूरा गरी तेस्रो, सन्जय सिंह १५.४६.०३ सेकेन्डमा दूरी पार गर्दै चौथो, सन्तोष अहिर १५.५७.०७ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे । प्रतियोगितामा मोहनदेव जोशी, प्रेम बस्नेत, सुमन बुढा, अजय पाण्डे, बिकास बिक, विवश बुढा क्रमशः दशौ स्थानमा रहेका थिए ।

यसैगरी महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले हात पारिन् । उनले सो दुरी १९.३९.०४ सेकेन्डमा पूरा गरिन् । नेपाल पुलिसकी सुमित्रा चौधरीले २०.०१.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् भने कमला ओलीले २०.२८.०६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन् ।

मोतिकला डाँगीले २१.१२.०७ सेकेन्डमा दुरी पार गर्दै चौथो तथा निर्मला चौधरीले २१.१७.०९ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे । यसैगरी प्रतियोगितामा क्रमशः अरुणिका चौधरी, अनिशा चौधरी, आयुषा गिरी, प्रियङ्का साउद, उमा चौधरी दशौ स्थानसम्म हासिल गरिन् ।

विजेताहरुलाई लुम्बिनी प्रदेश परिसारमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पुरुष र महिला दुवै विधामा प्रथम हुने खेलाडीले नगद २१ हजार, दोस्रोले नगद १७ हजार, तेस्रोले नगद १३ हजार, चौथोले नगद ९ हजार, पाँचौ ५ हजार, छैठौ स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो ।

विजेता, उपविजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गृहमन्त्री सन्तोष पाण्डेय, प्रदेश सरकारका सचिव राधिका आर्याल तथा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर