सांसदलाई ओलीको निर्देशन : संसदमा गलत बोल्नेको विरोध गर्नुस् तर रेकर्डबाट हटाऊँ भन्नुपर्दैन (भिडिओ) – Nepal Press

सांसदलाई ओलीको निर्देशन : संसदमा गलत बोल्नेको विरोध गर्नुस् तर रेकर्डबाट हटाऊँ भन्नुपर्दैन (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने बताउँदै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरुलाई सचेत गराए । आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराए ।

गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो । अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भएपनि अरुले उसको गल्ती सच्याईदिने काम गरिरहन नपर्ने बताए ।

सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसदको रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था छ । ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने पनि स्पष्ट पारे ।

यस्तो छ ओलीको भनाइः

कहिले, कहिले हामीलाई कस्तो लाग्छ भने म जत्तिको मानिसलाई किन प्रशिक्षण चाहिन्छ ? मैले नबुझेको के छ र ? भन्ने लाग्नसक्छ । म आफैं पार्लियामेण्टमा यत्रो वर्षदेखि छु, यति कार्यकालदेखि छु भन्ने पनि लाग्न सक्छ ।

म आफैँले काम सञ्चालन गरिराखेको छु भन्ने पनि लाग्नसक्छ । तर कतिपय प्राविधिक विषयहरु, कतिपय वैचारिक विषयहरु, वैचारिक विषयहरुमा पनि स्पष्टता झन बढी झन स्पष्टताको आवश्यक्ता पर्दछ ।

तसर्थ, अझ प्राविधिक विषयहरु, के, कस्ता प्रस्ताव कसरी राख्ने हो, नियमापत्ति कसरी गर्नुपर्ने हो, कस्ता विषयमा गर्नुपर्ने हो ? एउटा हामीहरुको अक्सर चलन छ–त्यो रेकर्डबाट त्यो शब्द हटाईयोस् भन्ने ।

मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरु हटाउन लगाउनु जरुरी छैन । त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ । विरोध गर्नुपर्छ त्यसको । तर रेकर्डबाट हटाइयोस् भन्न चाहिँ पर्दैन ।

रेकर्डबाट हटाइयोस् भन्ने उसले माग गर्नुपर्ने हुन्छ नि मलाई भन्नुहुन्छ भने । हामीले गलत बोल्यो, रेकर्डबाट हटाइपाउँ भनेर त्यो रेकर्डबाट हटाएर राम्रो, राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने । अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ र ? त्यसकारण गलत कुराको सख्त आलोचना गर्नुपर्छ, विरोध गर्नुपर्छ । हामीले विरोध गरेपछि पुगिहाल्यो नि ।

हामीले अस्वीकार गर्यौ, विरोध गर्यौं त्यसको । पुग्यो । तर रेकर्डबाट हटाइयोस् भनेर माग्ने चलन छ नि । त्यो चाहिँ मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाइ पाउँ भनेर निजले भन्दाखेरी एउटा कुरा हो । अर्काले उसको गल्ती किन सच्याइदिने ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर