२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा, दुईमहिनाभित्र सञ्चालन गर्ने लक्ष्य – Nepal Press

२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा, दुईमहिनाभित्र सञ्चालन गर्ने लक्ष्य

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०र१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणको अन्तिम चरणका कामहरू धमाधम भइरहेका छन् ।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीए र १३२र११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस)प्रविधिमा आधारित सब स्टेसनका उपकरणहरू जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेका छन् ।

उपकरणहरूको जडान धमाधम भइरहेको छ । २२०र१३२ केभी सब स्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ ।

मध्य भोटेकोसीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सब स्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सब स्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।

आयोजनाले बाह्रबिसे नगरपालिका– ३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्य भोटेकोसी जलविद्युत आयोजनाका संरचनाहरूको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नु पर्ने दबाबमा प्राधिकरण छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार सब स्टेसन निर्माण स्थलको अनुगमन गरी बाँकी कामहरू तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो । साथै, टोलीले मध्य भोटेकोशी जलविद्युत आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरूको जानकारी लिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले उपकरणहरू सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सब स्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिए । ‘सब स्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ, नयाँ खिम्ती–बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी ९काठमाडौँ० प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ,’ घिसिङले भने ।

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेकट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारीलगायतका कारण सब स्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०र१३२ केभी बाह्रबिसे सब स्टेसनको निर्माण अनिवार्य छ ।

२२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सब स्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।

कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनुपर्ने छ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरू आपूर्ति भइसकेका छन् । ८ वटा टावरमध्ये ५ वटाको जग हालिसकिएको छ ।

तामाकोशी तथा सुनकोसी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सब स्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सब स्टेसनको निर्माण भइरहेका छन् ।

तामाकोशी–काठमाडौँ २२०र४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सब स्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरूमध्ये ८ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये ७ वटा टावर सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नु पर्ने छ ।

१ वटा टावर नयाँ खिम्ती सब स्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको ३० किलोमिटर तार तानिएको छ । यो खण्ड निर्माणको जिम्मा पाएको ठेकेदारले समस्या समाधान भएमा तीन महिनाभित्रमा काम सक्ने बताएको छ ।

त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सी फेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *