च्याम्पियन बन्न आर्मीले कुरेको २१ वर्ष – Nepal Press

च्याम्पियन बन्न आर्मीले कुरेको २१ वर्ष

पोखरा । त्रिभुवन आर्मी क्लब २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालामा शनिवार भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै आर्मी पहिलो पटक आहा रारा पोखरा गोल्ड कपको च्याम्पियन बनेको हो ।

आर्मीको जितमा जिलेस्पी जङ्ग कार्की, फत्तेमान घले र वसन्त जिम्वाले एक–एक गोल गरे । जिलेस्पीले खेलको ३८औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको आर्मी दोस्रो हाफको अन्त्यतिर थप दुई गोल गरेको थियो । आर्मीका फत्तेमान घलेले खेलको ८३औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा वसन्त जिम्वाले तेस्रो गोल गरेका थिए ।

आर्मीलाई आहा रारा गोल्ड कपको यो पहिलो उपाधि हो । २१ वर्षअघि नै सहभागिता जनाएको आर्मीले अन्ततः पहिलो पटक उपाधि जितेको हो । यसअघि आर्मीले उपाधि जित्न सकेको थिएन । आर्मीले आहा रारामा पहिलो पटक २०६० सालमा सहभागिता जनाएको थियो ।

उक्त संस्करणमा पहिलो खेलमा तरुण एसोसिएसनलाई १–० ले पराजित पराजित गरेको आर्मी दोस्रो खेलमा पुलिससँग ३–० ले स्तब्ध भएको थियो । २०६१ मा सहभागिता नजनाएको आर्मी २०६२ मा भने पहिलो खेलमै नाइट चेस क्लबसँग पछारिएको थियो । आर्मीले २०६३ मा प्रतियोगितामा सहभागी भएन । २०६४ मा फ्रेन्ड्ससँग ट्राइब्रेकरमा पराजित भएको आर्मी २०६५ र २०६६ मा भने लगातार फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा पुलिससँग ५–० र १–० ले पराजित हुँदा उपाधि चुम्ने आर्मीको चाहनामा तुसारापात लागेको थियो ।

२०६७ सालमा पहिलो खेल मै मनाङसँग १–० ले पराजित भएको आर्मी २०६८ मा भने सहभागिता जनाएन । २०६९ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको आर्मी आयोजक सहारासँग पराजित हुन पुग्यो । २०७० मा धरान र २०७१ मा मनाङसँग २–१ ले पराजित हुँदै बाहिरिएको आर्मी २०७२ मा फाइनलसम्मको यात्रा तय गरेको थियो ।

तर, फाइनलमा मनाङसँग १–० ले पराजित हुँदा पुनः आर्मीको उपाधि चुम्ने सपना चकनाचुर भएको थियो । २०७३ मा आयोजक सहारासँग सेमिफाइनलमा पराजित भएको आर्मीले २०७४ मा सहभागिता जनाएन । २०७५ मा फाइनलसम्मको यात्रा तय गरेको आर्मी थ्री स्टारसँग टाई ब्रेकरमा ५–४ ले पराजित हुँदा च्याम्पियन बन्ने चाहना चौथो पटक चकनाचुर भयो । त्यसपछि ४ वर्ष आर्मी फाइनल पुग्न सकेन । २३औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपमा आर्मी फाइनल मात्र पुगेन ।

थ्री स्टारलाई ३–० ले पराजित गर्दै उपाधिका लागि २१ वर्षदेखिको पर्खाइलाइ मेटाउन सफल भयो । २०६० सालदेखि सहभागिता जनाउन सुरु गरेको आर्मीले २०८० मा आएर पहिलो पटक आहा रारा पोखरा गोल्ड कपको च्याम्पियन बनेको छ । थ्री स्टारसँग २०७५ सालको बदला लिँदै आर्मी च्याम्पियन बनेको हो । थ्री स्टारले २०७५ मा आर्मीलाई हराउँदै च्याम्पियन बनेको थियो ।

आर्मीसँग पराजित भएको थ्री स्टार पाचौं पटक आहा रारा च्याम्पियन बन्नबाट वञ्चित भएको छ । च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पा¥यो । फाइनलमा पराजित थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझाउनु प¥यो ।

२१ वर्षमा पहिलो पटक च्याम्पियन बनेपछि आर्मीका क्याप्टेन भरत खवासले खुसी व्यक्त गरे । ‘विदेशी खेलाडी नहुँदा केही एड्भान्टेज आर्मीलाई पक्कै नै छ । फिजिकल्ली, मेन्टल्ली अलिकति असर पर्छ । तर, हाम्रा खेलाडीले धेरै नै मिहेनत गरेका थिए । धेरै सङ्घर्ष गरेका थिए ट्रफिका लागि । सायद भगवान्को अथवा हामीलाई सर्पोट गर्ने सम्पूर्णको आशाविद् हामीलाई लाग्यो । त्यस कारण गर्दा हामी ट्रफि जित्न सफल भयौँ,’ कप्तान खवासले भने ।

आर्मीका प्रशिक्षक मेघराज केसी खेलाडीकै मिहेनतले आर्मीले २१ वर्षपछि उपाधि जित्न सफल भएको बताउँछन् । ‘खेलमा जित हासिल गर्न खेलाडीकै हात हुन्छ । उसले कति मिहेनत गर्छ । कसरी मिहेनत गर्छ भन्ने कुराले नतिजामा भर पर्छ । प्रशिक्षकको काम बाटो देखाइदिने हो,’ उनले भने, ‘खेलाडीको मिहिनेतले नै आर्मीले ट्रफि जित्न सफल भयो ।’

उपाधिमा प्रशिक्षक केसीको ह्याट्रिक

आर्मीले पहिलो पटक उपाधि जित्दा आर्मीका प्रशिक्षक मेघराज केसीको यो तेस्रो उपाधि हो । यसअघि उनको प्रशिक्षणमा रहेको थ्री स्टार क्लबले दुई पटक आहा राराको उपाधि जितेको थियो । २०७१ र २०७५ मा थ्री स्टारले मेघराज केसी कै प्रशिक्षणमा आहा रारा गोल्ड कपको जितेको थियो ।

देशकै उत्कृष्ट प्रतियोगितामा ह्याट्रिक गर्न पाउनु गर्वको कुरा भएको प्रशिक्षक केसी बताउँछन् । ‘मेरो व्यक्तिगत कुरा गर्ने हो भने चाहिँ मैले आहा रारामा ५ पटक फाइनल खेले । २ पटक उपविजेता भए । ३ पटक च्याम्पियन भइयो । नेपालमा मोफसलमा आहा रारा जतिको सभ्य, भव्य कसैले पनि मेन्टेन गर्न सक्दैन,’ उनले भने, ‘यो टुर्नामेन्टमा ह्याट्रिक गर्न पाउनु भनेको यो इतिहास पनि हो । मलाई यसमा गर्व महसुस पनि छ ।’

कोच, प्लेयरको धर्म जुन टिममा हुन्छौँ त्यो टिमलाई जिताउने रहेको प्रशिक्षक केसी सुनाउँछन् । ‘हामी कोच, प्लेयरको धर्म के हो भने जुन टिममा हामी हुन्छौँ । त्यो टिमलाई जिताउने हो । म अहिले आर्मीसँग छु । आर्मीलाई जिताउनुपर्छ,’ उनले भने, ‘९० मिनेट त मैले धर्म गर्नुपर्छ । नेपाल फुटबललाई विकास गर्नका लागि हामी फुटबलर एउटै परिवार हो नि । त्यसले गर्दा कहिले कताबाट जितिन्छ कहिले कताबाट जितिन्छ ।’

तस्बिर: सुदर्शन रन्जित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *