अर्घाखाँची पुगेर रविले भने- ठूला पार्टीले मदन र वीपीको नाम बेच्दैछन्, हामीले समृद्धिको एजेण्डा मात्रै बोकेका छौं – Nepal Press

अर्घाखाँची पुगेर रविले भने- ठूला पार्टीले मदन र वीपीको नाम बेच्दैछन्, हामीले समृद्धिको एजेण्डा मात्रै बोकेका छौं

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले ठूला दलहरुसँग कुनै एजेण्डा नभएकाले पुष्पलाल, वीपी, मदनको नाम बेचेको तर आफूहरुले सुृशासन र समृद्धिको एजेण्डालाई मात्र बोकेर हिँडेको बताएका छन् ।

शनिबार अर्घाखाँचीको सन्धिखर्कमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले पुराना पार्टीहरुले गर्न नसकेका कारण मुलुकलाई विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको बताएका छन् ।

उनले पार्टी स्थापना भएको छोटो समयमै संसदमा २१ जनाले प्रतिनिधित्व गरेपनि त्यो संख्या परिवर्तन देखाउने गरीकाम गर्न कम भएको भन्दै त्यसका लागि बहुमत चाहिने बताए ।

‘जिल्ला–जिल्लाबाट सक्षम नेतृत्व आउनुपर्छ । सक्षम नेतृत्व अर्घाखाँचीले पनि जन्माएको छ, कसैको आशिर्वादले हुँदैन्, परिवर्तन गर्न २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथिलाई अन्त्य गर्नसक्ने अवस्था हामीले ल्याउँछौं’ लामिछानेले भने ।

काँग्रेस र एमालेप्रति टिप्पणी गर्दै लामिछानेले ठूला भनिएका दलहरूले मदन र वीपीको नाम बेच्ने गरेको भन्दै आफूहरूसँग सुशासनको एजेण्डा मात्र भएको बताए ।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

वर्तमान सरकारको कार्य सञ्चालनप्रति टिप्पणी गर्दै उनले सुरूसुरूमा काम गरेजस्तो गर्ने तर, काण्डको टुंगो नलाग्दै कसैको दबाबमा काण्डको ढाकछोप गरेको उनले बताए ।

त्यस्तै रास्वपाका सांसद सुमना श्रेष्ठले देशमा गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताइन् । सरकारको नेतृत्व गरेका दलहरूबाट नै भ्रष्टाचारको वेथिति बढेकाले यसको अन्त्यका लागि नयाँ शक्तिको उदय भएको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर