छुट्याइएको फोहोर संकलन गर्न रंग संकेतसहितको गाडी, २७ नम्बर वडाबाट सुरुवात – Nepal Press

छुट्याइएको फोहोर संकलन गर्न रंग संकेतसहितको गाडी, २७ नम्बर वडाबाट सुरुवात

काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो ।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको विचबाट २ खण्ड बनाइएको छ । हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बिचमा गरी २ वटा ढोका छन् । यसमध्ये बिचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ ।

बाहिरबाट हेर्दा गाडी २ रङ्गको देखिन्छ । कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ्ग राखिएको छ । श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब १ हजार ५ सय किलो फोहोर संकलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुन सक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ ।

वडा नं. २७ बाट फोहोर वर्गीकरण नमूना कार्यक्रम चलाइने

फोहोर वर्गीकरणको नमूना कार्यक्रम वडा नं. २७ बाट कार्यान्वयन गर्ने तयारी थालिएको छ ।

यस क्रममा आज सचेतनामूलक र्‍याली निकालियो । वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका सदस्य तथा पदाधिकारी, कर्मचारी, स्थानीय क्लव तथा टोल सुधार समितिका पदाधिकारीसहितको र्‍यालीले कमलाछी, असन, तँलाछि, ज्याथा, ठमेल, जमल, ग्वसिँफलगायतका स्थानमा पुगेर घरदैलो कार्यक्रम गरिएको थियो ।

यस क्रममा भेटिएका स्थानीयले महानगरपालिकाको कार्यक्रमको प्रशंसा गर्दै आफूहरुले छुट््याएर मात्र फोहोर बाहिर निकाल्ने दायित्व पूरा गर्ने बताए ।

यो वडाको जनसंख्या ५ हजार हो । यहाँ १ हजार ४ सय घरधुरी छन् । आवासीय र व्यापारिक क्षेत्र भएकोले कुहिने र नकुहिने दुवै प्रकारको फोहोर उत्पादन हुन्छ ।

फोहोर वर्गीकरणका विषयमा वडाध्यक्ष योगेश खड्गी भन्नुहुन्छ, ‘घरघरमा पुगेर फोहोर छुट््याउने विधि सिकाउँछौँ । फोहोर संकलन गर्न जाने कर्मचारीलाई छुट्टिएको फोहोर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । वडाबासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । सहभागिताका लागि उहाँहरु इच्छुक हुनुहुन्छ । यी सबैकारणले कार्यक्रम सफल हुन्छ ।’

आउँदो एक हप्ता वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छुट््याइएको फोहोरको नमूना संकलन गर्ने अभ्यास गरिनेछ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइनेछ ।

यो वडाको कार्यक्रम सफल बनाएर वडा नं. १२, ५, ६ लगायत वडामा विस्तार गर्दै लगिने विभागले योजना बनाएको छ ।

के हो, फोहोर वर्गीकरण

भान्छामा कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाडाँमा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।

तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् ।

यस्तै प्लाष्टिक, शिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हुन् ।

यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।

विभागले हरेक घर दैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरणको प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्याङ्कनको योजना बनाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर