नक्कली टिकट प्रकरण : उद्योग वाणिज्य सङ्घका महासचिवसहित चार जना प्रहरी नियन्त्रणमा – Nepal Press

नक्कली टिकट प्रकरण : उद्योग वाणिज्य सङ्घका महासचिवसहित चार जना प्रहरी नियन्त्रणमा

कैलाली । अत्तरिया उद्योग वाणिज्य सङ्घका महासचिव शङ्कर खड्का सहित चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको नक्कली टिकट बिक्री प्रकरणमा उनीहरूलाई थुनामा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि हिजो उनीहरु प्रहरी समक्ष निवेदन सहित उपस्थित भएका थिए ।

नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य सङ्घका महासचिव शङ्कर खड्का, सचिव दिलीपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महरा अहिले प्रहरी थुनामा छन् । खड्का र बोगटीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । अन्य दुई जनाको विषयमा भोली अदालतबाट म्याद थप हुने छ ।

अध्यक्षसहितका १२ जना पदाधिकारीले सुरुमा साउँद र महराकाविरुद्ध किटानी जाहेरी दिएका थिए ।तर सङ्घका अध्यक्ष कल्याणसिंह बोहराले भोलिपल्ट महासचिव खड्का र बोगटीकाविरुद्ध पनि किटानी जाहेरी दिएका थिए ।

यो प्रकरणमा जोडिएका सङ्घका सचिव दिलीपकुमार साउँद गोदावरी नगरपालिकाका मेयरका स्वकीय सचिवसमेत हुन् तर घटनामा मुछिएपछि भने मेयरको सचिवालयले उनलाई हटाएको छ । सङ्घले साउँदलाई टिकट व्यवस्थापनको जिम्मा दिएको थियो भने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराले बिक्री गर्ने गरेका थिए ।

२६ पुसदेखि सुरु भएको प्रादेशिक महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरी आर्थिक अनियमितता गरेको भन्दै सङ्घले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

आपराधिक विश्वास घातमा चारै जना विरुद्ध अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुददीप चन्दले जानकारी दिए । ‘सबै प्रहरी नियन्त्रणमा हुनुहुन्छ । २ जनाको म्याद थप भयो अन्यको भोली हुन्छ ’ उनले भने ‘हामी यस विषयमा अनुसन्धान गरिरहेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *