दुबईमा बेचिएकी चेलीलाई दुर्गा प्रसाईंले १० दिनमा उद्धार गरेर नेपाल फर्काए – Nepal Press

दुबईमा बेचिएकी चेलीलाई दुर्गा प्रसाईंले १० दिनमा उद्धार गरेर नेपाल फर्काए

काठमाडौं । व्यवसायी/अभियन्ता दुर्गा प्रसाईंलाई सम्वोधन गर्दै एक युवतीले यूएईको शारजाहबाट उद्धारको याचना गरिन् ।

‘दाइ मलाई जसरी भए पनि बचाउनु, अब मेरो मोबाइल पनि खोस्छ होला । यिनीहरुलाई थाहा हुन्छ होला अब …। अफिसको मान्छेले भन्दिन्छन् होला अब …। दाइ मलाई हेल्प गर्नु न’, उनले रुँदै भिडिओ रेकर्ड गरेर चिनेको व्यक्तिलाई पठाएकी थिइन् ।

युवतीको यो भिडिओ १० दिनअघि प्रसाईंको ह्वाट्सएपमा खस्यो । यही आधारमा युवतीको सकुशल उद्धार गरेर स्वदेश फर्काउन प्रसाईं सफल भएका छन् ।

नेपाल प्रेससित कुरा गर्दै प्रसाईंले दुबईमा रहेको आफ्नो कार्यालयमार्फत आफ्नै खर्चमा युवतीको उद्धार गरेको बताए ।

‘उनको पासपोर्ट-भिसालगायत केही पनि डकुमेन्ट थिएन । तत्कालै मैले उनलाई हाम्रो क्याम्पमा ल्याएर राख्न लगाएँ । सरकारले तोकेको जरिवानासमेत तिरेपछि नेपाल ल्याउन सम्भव भयो’, उनले भने ।

दुबईस्थित नेपाली दूतावासले भने कुनै सदासयता नदेखाएको प्रसाईंको गुनासो छ ।

उनले भने, ‘आफैं पहल गरेर उद्धार गर्नु त परको कुरा, उनीहरुले इमिग्रेसन प्रक्रियाका लागि २०० दिराम पनि छुट गर्न आग्रह गर्दा पनि गरेनन् ।’

युवतीलाई नेपाल फिर्ता गर्न आफूले करिब ६ लाख रुपैयाँ खर्च गरेको प्रसाईंले बताए । उनी आफैं युवतीलाई लिन त्रिभुवन विमानस्थल पुगेका थिए । युवती बेसहारा भएकाले आफ्नो अस्पतालमा काम लगाइदिन लागेको पनि उनले जानकारी दिए ।

दुबईमा प्रसाईंको कार्यालय छ, जसलाई उनी आफ्नो ‘दूतावास’ भन्छन् । त्यहाँ उनले दुई कर्मचारी राखेका छन् । दुबईमा अप्ठेरो अवस्थामा रहेका नेपालीहरुको सहयोग र उद्धारकै लागि उनले यो कार्यालय सञ्चालन गरेका हुन् ।

‘त्यहाँ मैले फ्ल्याट नै लिएर दूतावास चलाइरहेको छु । तकरिबन ३० लाख रुपैयाँ मासिक खर्च हुन्छ’, उनले सुनाए । अहिलेसम्म आफूले विभिन्न कारणले जेल बसेका तथा अलपत्र परेका ५०० भन्दा बढीलाई उद्धार गरिसकेको र यसमा ४ करोडभन्दा बढी व्यक्तिगत खर्च भएको प्रसाईंको दावी छ ।

‘इराकमा बेचिएकी एक चेलीलाई अर्को हप्ता नेपाल फर्काउँदैछु’, उनले भने ।

के भन्छिन् युवती ?

सर्लाही फुलजोर घर भएकी युवतीको परिवार लथालिंग र आर्थिक अवस्था नाजुक थियो । कमाउन भारत गएका बुवा ७ वर्षदेखि सम्पर्कविहीन छन् । उनी मरे-बाँचेको समेत ठेगान छैन । आमाले अर्को विवाह गरेर नेपालगञ्जमा बस्दै आएकी छन् । युवतीका भाइ र बहिनी आमासितै बस्छन् । युवती भने कहिले आमा र कहिले हजुरआमासित बस्दै आएकी थिइन् ।

आमाको गाउँकी यादव थरकी एक महिलाले आफूलाई भेटेरै यसरी यत्तिकै बसेर हुँदैन, दुबईमा राम्रो काम छ भन्ने अफर गरेको उनले सुनाइन् ।

‘हामी पनि पहिल्यै गएर आएको हो । घरभित्रको सजिलो काम हुन्छ, पैसा पनि राम्रो हुन्छ भनेर फकाइन्’, युवतीले भनिन् ।

युवतीका अनुसार उनीसँग एजेन्टले पैसा भने मागेका थिएनन् । २५ हजार जति ऋण लिएर व्यक्तिगत किनमेल गरेको उनले बताइन् । उनीसँगै एजेन्टकी बहिनी पनि दुबई गएकी थिइन् ।

त्यहाँ गएपछि उनलाई एउटा घरमा काममा लगाइयो । घरभित्रको सबै काम गर्नुपर्थ्यो । तर, यातना र दुर्व्यवहार पनि खेप्नुपर्‍यो । तर, पैसा भने पाइनन् । ६ महिनासम्म काम गर्दा पनि एक पैसा नपाएको उनले बताइन् ।

‘मैले काम गरेको ज्याला माग्दा तिमीलाई हामीले पहिल्यै पैसा हालेर किनेका हौं, अब केको पैसा भनेर झपार्थे’, उनले भनिन् ।

पैसाविना काम र यातना पनि खेप्नु परेपछि युवतीले उद्धारका लागि याचना गरेकी थिइन् । उनले बाथरुममा बसेर लुकेर भिडियो बनाइन् । त्यही भिडियो उनलाई नेपाल फर्किन सहयोगी बन्यो । उनी दुर्गा प्रसाईंप्रति अनुग्रहित बनेकी छन् ।


प्रतिक्रिया

One thought on “दुबईमा बेचिएकी चेलीलाई दुर्गा प्रसाईंले १० दिनमा उद्धार गरेर नेपाल फर्काए

  1. नेपाल सरकार खाली रेमित्येन्स मात्र बुज्न बसेको हो…? विदेशमा काम गर्न गएका नेपाली प्रति नेपाल सरकारको कुनै उत्तर दायित्व छैन। थुक्क नेपाल सरकार….

Leave a Reply

Your email address will not be published. Required fields are marked *